Play

एनआरएनएको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारी घोषणा

गुरुकुल खबर


काठमाडौं, गैरआवासीय नेपाल संघ (एनआरएनए) को आगामी कार्यकालका लागि रविना थापाले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी छन् ।

काठमाडौंको  -याडिसन होटेलमा बिहीबार पत्रकार सम्मेलन गरी संस्थाको कार्यकारी अध्यक्ष रहेकी थापाले २०२३–०२५ का लागि पुन: अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् । सबैलाई समेटेर लाने क्षमता भएकी रविनाको जन्म भने म्याग्दी जिल्लामा भएको हो । उनले पोखराका नारायण थापासँग विवाह गरिन् र केही वर्ष जापानमा रहेपछि पछिल्लो समय अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका छन् । थापा – सरल , मृदुभाषाी र ईमानदार भनेर चिनिन्छिन् । उनको जापान, कोरिया र मध्य पुर्वका देशका नेपाली हरुबिच राम्रो प्रभाव रहेको बुझिन्छ । अमेरिकाबाट पनि ५० प्रतिशत बढ़ी मत आफुले पाउने विश्वास उनको छ । यसैगरी नारायण थापा – नेपाली कांग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति जापान र अमेरिकाको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका व्यक्ति हुन् ।

१०औं महाधिवेशनमा निर्वाचन हुन नसकेपछि उनी लगायतका अध्यक्ष पदका तीनैजना उम्मेदवारले अध्यक्षको रुपमा काम गर्ने समझदारी बनेको थियो । कार्यक्रममा उनले आफ्ना २५ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरिन् । सो अवसरमा उनले भनिन्, ‘म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गर्न पहल गर्नेछु,’ थापाले थपिन्, ‘जुन नेपाल र नेपालीको समृद्धि को लागि सारथी मात्र होइन, संकट पर्दाको संजीवनी समेत हुनेछ ।’ त्यस्तो कोष गैरआवासीय नेपालीको सबैभन्दा ठूलो कोष हुने उनले सुनाइन् ।

संस्थामा आफूले छ महिना कार्यकारी अध्यक्षको रुपमा समेत काम गरेको स्मरण गराउँदै उनले थापाले अध्यक्षको जिम्मेवारी पाए आफूले संस्थालाई जिवन्त र गतिशील ढंगले अघि बढाउने बताइन् । विदेशमा बस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण आफूले तयार गर्ने वाचा समेत उनले सो अवसरमा गरिन् ।

उनले आफनो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको, गैरआवासीय नेपाली नागरिकताका लागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको स्मरण गराउँदै आफ्नो कार्यकालमा संघको काठमाण्डौंस्थित कार्यालयको पूर्वाधार विकास, पोखरामा स्मार्ट शौचालय निर्माण शुरु गरिएको र यो चाँडै हस्तान्तरण हुने क्रममा रहेको, बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस सेवा शुरु गरिएको जानकारी पनि दिइन् । विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने हटलाइन सेवा शुरु गरिएको स्मरण गराइन् ।

कार्यक्रममा उनले गैरआवासीय नेपाली संघको अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने विषयमा जोड दिइन् । एनआरएनए विदेशमा रहेका नेपालीहरुको हक हित र समस्या मा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने तर राजनीतिक संस्था नभएको विषय उनले जोडदार रुपमा राखिन् । त्यसैले उनी विधान विपरित प्यानल बनाउने कार्यको विरोधी भएको बताइन् । राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठी सक्षम, सबल गतिशील र संयोजनकारी नेतृत्व चयन गर्न एनआरएनएका महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरिन् ।

उनको २५ बुँदे वाचा पत्रमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, संचार, कृषि उर्जा लगायतका विभिन्न क्षेत्रमा उनको योजना र अवधारणा समावेश छन् । पत्रकार सम्मेलनमा थापाले विदेशमा रहेका नेपालीहरुलाई बंशजकै नागरिकताको निरन्तरता देखि श्रम स्वीकृति लिएर गएका श्रमिक जी टु जीबाट जाने नेपाली र विद्यार्थी भिसामा गएका विद्यार्थीहरुलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गरिरहनुपर्ने विषयमा जोड दिइन् ।

१२ आश्विन २०८०, शुक्रबार १५:२० मा प्रकाशित
Nabintech