Play

सानालाई स्नेह र अग्रजलाई सम्मानको संस्कार आवश्यक छ – सहमहामन्त्री आङ्देम्बे

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले समृद्व मुलुक र रुपान्तरित समाज निर्माणकालागि नेपाली काँग्रेसले सधै नेतृत्वदायी भूमिका खेल्दै आईरहेको बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नं १ प्रदेश सभा ‘क’ बागलुङद्वारा आयोजित प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक उपलब्धि हात पार्ने कुरामा काँग्रेस एकजुट हुनु पर्ने आवश्यकता औल्याए ।

काँग्रेसभित्र देखिएको आन्तरिक विचलनप्रति इङ्गित गर्दै सहमहामन्त्री आङ्देम्बेले पार्टीभित्र विचार अनियन्त्रित र असन्तुलित भएपनि संगठनकालागि सकारात्मक प्रतिष्पर्घा हुनु पर्ने बताए । ‘हरेक दलभित्र सामान्य असन्तुष्टि हुन्छ यो राजनीतिक प्रक्रिया नै हो’ उनले भने । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र र व्यक्ति स्वतन्त्रता बलियो हुने दावी गर्दै उनले स्वतन्त्रताको नाममा अनावश्यक छाडातन्त्र पनि पार्टीका लागि हानीकारक हुने बता्ए ।

सहमहामन्त्री आङ्देम्बेले वडा, गाँउपालिका, नगर र क्षेत्र सशक्त भए पार्टी आफै बलियो हुने र राजनीतिक उपलब्धिले स्थायित्व पाउने विश्वास व्यक्त गर्दै निर्वाचित जनप्रतिनिधि एवम् कार्यकर्तालाई समन्वय र सहकार्यमा कार्य गर्न आग्रह गरे ।

यसैबीच नेपाली काँग्रेस म्याग्दी र पर्वतका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सहमहामन्त्री आङ्देम्बेले नेपाली कांग्रेसका हरेक कार्यकर्ताले देशमा भएका उपलब्धिको प्रचारप्रसार गरी कांग्रेसप्रतिको आकर्षण बढाउनुपर्नेमा जोड दिए।

‘एकाध व्यक्तिसंग असन्तुष्टि भएपनि पार्टीले गरेका राम्रा कामको प्रशंसा गर्न सक्नुपर्छ’ उनले भने ‘सानालाई स्नेह र अग्रजलाई सम्मान गर्दै स्वतन्त्र रुपमा कार्यगरिरहेका सामाजिक व्यक्तित्वहरुमाझ पार्टीप्रतिको आकर्षण बढाउनु पर्दछ ।’ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेन शाह जस्ता युवाहरुलाई्र काँग्रेसमा आबद्ध गराउने अभियान संचालन गर्नुपर्ने उनको ठहर थियो । ‘काँग्रेसले गरेका विकास निर्माणका कार्यहरुलाई प्रचारप्रसार गर्न सक्नुपर्छ, सामाजिक संजालको प्रभुत्व रहेको अहिलेको यो समयमा कार्यकर्ताहरुले पार्टीको सकारात्मक सन्देश दिने सामाग्रीको प्रचार गर्नुपर्छ’ उनले भने ।

साथै उनले नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा के के भए त्यसलाई पर छाडी अहिलेको अवस्थामा काँग्रेस सबैभन्दा ठुलो राजनीतिक पार्टीभएकोप्रति गर्व गर्नुपर्नेमा जोड दिए । ‘१४ औं महाधिवेशनको कुरामात्र गर्दै कार्यकर्ताले पार्टी सभापतिलाई औला ठड्याएर १५ औ महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न सक्दैनन्’ सहमहामन्त्री आङ्देम्बेले भने ‘आफु पनि सच्चिनु पर्छ र सच्चिन दिन पनि सक्नुपर्छ।’

कार्यकर्तालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले पार्टीले वार्षिक क्यालेण्डर तयार गरी तल्लो तहमा पुग्नकालागि समितिले काम थालनी गरीसकेको प्रष्ट पारे। पार्टी या व्यक्तिभित्र असन्तुष्टि र विमेल होलान् तर हरेक ठाँउमा नकारात्मक कुरा मात्र गर्नु गलत हुने उनको भनाई थियो ।

यसैबीच सहमहामन्त्री आङ्देम्बेले पार्टीमा पुस्तान्तरण र रूपान्तरणका अजेन्डामा तन्नेरी र बाबु पुस्ताबीच लडाइँ अझै जारी रहेको बताए । पार्टीमा एउटा पुस्ता गुमनाम रहेको र आफू त्यही पुस्ताको नेता भएको धारणा राख्दै सहमहामन्त्री आङ्देम्बेले भने, ‘अहिले बाबु पुस्ताले नेतृत्व गरिरहेको छ। अर्को पुस्ता ५५ वर्ष उमेरभन्दा मुनिको छ, जसले आफूलाई युवा भन्छ । तन्नेरी र बाबु पुस्ताबीच घरीघरी भइरहने लडाइँमा फ्युजन गरेर कांग्रेसमा नयाँ रक्तसञ्चार आफुहरुको उमेर समुहका पुस्ताले मात्र गर्नसक्ने दाबी उनले थियो ।

सहमहामन्त्री आङ्देम्बेले काँग्रेस केन्द्रिय समितिको बैठक बारे जानकारी दिदै पार्टीको आन्तरिक संचरना र जारी विवादका अतिरिक्त नीति अधिवेशन, विभाग गठन, अनुशासन समिति लगायतका विविध प्रस्ताव एवम् प्रतिवेदन प्रस्ताव बारे छलफल गरिने बताए ।

यसैबीच नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्की क्षेत्र नं १ को क्षेत्रीय समिति पदस्थापन कार्यक्रममा बोल्दै सहमहामन्त्री आङ्देम्बेले कांग्रेसले नेपालमा पहिचानको मुद्दा सात दशक पहिला नै उठाएको बताए । समावेशिता, समतामुलक समाज निर्माणमा कांग्रेसभन्दा क्रान्तिकारी पार्टी अरु कुनै हुन नसक्ने उल्लेख गर्दै नेपालको विविधतालाई यथावत राखी हरेक जातिको पहिचानकालागि आफु गम्भीर रहेको स्पष्ट पारे ।

प्रभावको राजनीतिको गलत संस्कार र गलत अभ्यासको मारमा आदिबासी जनजातिहरु परिरहेको स्वीकार्दै सहमहामन्त्री आङ्देम्बेले यस्ता गलत संस्कारलाई चिर्न सशक्त हुनुपर्ने आवश्यकता औल्याए ।


क्षेत्र नं १ का क्षेत्रीय सभापति शरण प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, क्षेत्रीय सभापति राजेन्द्रमणी लामिछाने, नेपाल लोकतन्त्रवादी आदिबाुसी जनजाति महासंघ कास्कीका सभापति आशबहादुर गुरुङ, सचिव रीता गुरुङ र सहसचिव भिमकुमारी गुरुङले राष्ट्रिय राजनीतिमा आदिबासी जनजातिको योगदान र भूमिकाका बारेमा आ आफ्नो भनाई राखेका थिए ।

सहमहामन्त्री आङ्देम्बेले गण्डकी प्रदेशका बागलुुङ, म्याग्दी, पवर्त जिल्लाका साथै कास्कीमा सर्वोच्च नेता गणेशमान सिंहको २६औं स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशन कास्कीद्वारा आयोजित प्रवचन कार्यक्रमका साथै नेपाली काँग्रेस कास्कीद्वारा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनितहरुका लागि आयोजित बधाई कार्यक्रम लगायत विविध कार्यक्रमहरुलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा सहमहामन्त्रीका स्वकिय सचिव यम ढुंगाना र नेपाल तरुण दलका केन्द्रिय सदस्य योगेश श्रेष्ठ पनि सहभागि थिए ।

६ आश्विन २०८०, शनिबार १४:०३ मा प्रकाशित
Nabintech