Play

तत्काल पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न र पृथ्वी राजमार्गको स्तरोन्नती तीव्र पार्न माग

गुरुकुल खबर


पोखरा, पोखराका पर्यटन व्यवसायीले यहाँ निर्माण भएको नयाँ विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान थालनी गर्न र पृथ्वीराजमार्गको स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न माग गरेका छन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारण सभाका अवसरमा उनीहरुले त्यस्तो माग गरेका हुन् । कार्यक्रममा आफ्नो भनाई राख्दै रेवान पोखराका सल्लाहकार एवं संरक्षक गणेशबहादुर भट्टराईले सिधा उडान संभव नभए कनेक्टिङ फ्लाइट जोडेर समेत विमानस्थलको सही संचालन गरिनुपर्ने माग गरे । यसैगरी पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्डको काम तीव्र पारी समयमै सक्न पनि उनले माग गरे । सरकारी कर्मचारीको कामलाई चुस्त पारिनुपर्ने र नेपाल पर्यटन बोर्डको वजेट सही बाँडफाँड गरिनुपर्ने सुझाव पनि उनको थियो ।

सो अवसरमा प्रमुख अतिथि एवं  पोखरा ६ का वडा अध्यक्ष विष्णुवहादुर भट्टराईले भारतीय पाँच सय दरको नोट नेपालमा नचल्दा र सो विषयको जानकारी सिमानामा भारतीय पर्यटकलाई समयमै नदिंइँदा उनीहरुले दुःख पाएको बताए । यस्तो विषयमा राज्य पक्षले समयमै ध्यान पुर्याउनुपर्ने भनाई उनले राखे । पोखराका अग्ला घरहरु अभिलेखिकरण गर्ने नाममा तीन सय प्रतिशत सम्म जरिवान लिइनु नाजयज भएको उनले बताए ।

अहिले समस्या परेको वेला पचास प्रतिशत सम्म कर छुट दिइनुपर्नेमा विभिन्न वहानामा उल्टो कर बढाइएको पनि उनले बताए । पर्यटन क्षेत्र जोगाउन लेकसाइडका घरवेटीहरुले आफ्ना सटरको भाडामा छुट दिनुपर्ने सुझाव पनि उनले राखे ।कर्मचारी र मन्त्रीले आफ्नो तलव खान प्रदेश संरचना कायम राख्न खोज्नु राम्रो नभएको बताउँदै उनले प्रदेश संरचना खारेज गर्न माग गरे ।

रेवान पोखराका अध्यक्ष नरेवहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारी, रेवान पोखराका प्रथम उपाध्यक्ष विश्वराज पौडेल, रेवान केन्द्रका अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, रेवान पोखराका महासचिव विकास भट्टराई लगायतले आफ्नो भनाई राखेका थिए ।

८ भाद्र २०८०, शुक्रबार १३:४२ मा प्रकाशित
Nabintech