Play

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा खेल संघ र पत्रकारहरु संग अन्तरक्रिया

गुरुकुल खबर


पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रम गरी विभिन्न खेलकुद संघ र पत्रकारहरु संग अन्तक्रिया गरेको छ । परिषदले अन्तक्रिया कार्यक्रम गरी चालु आर्थिक वर्षका योजना, गत आर्थिक वर्षका प्रगती विवरण, निर्माण हुन लागेका दुई कार्यविधि प्रदेश खेलकुद पदक र खेलाडी कल्याण कोषको लागि सुझाव संकलन गरेको हो ।

सो अवसरमा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले सबै खेल संघहरुलाई एकतावद्ध भएर दशौं राष्ट्रिय खेलकुदका लागि अघि बढ्नु पर्ने बताए । प्रदेश खेलकुद विकासका लागि निर्माणको चरणमा रहेका दुई कार्यविधिले प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण रहेको बताउँदै अन्तक्रिया कार्यक्रमबाट आएका सुझावले नियमावली निर्माणमा दिशानिर्देश गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा परिषदका सदस्य सचिव श्रीधर शर्माले निर्माण हुन लागेका दुई कार्यविधिले समग्र खेलकुद क्षेत्रको प्रतिनिधित्व होस भन्नका लागि अन्तक्रिया कार्यक्रम आयोजना गरिएको बताए । उनले भने–“मेरो नियुक्तिको पनि १ सय दिन पुगेको छ । हामी दुई महत्वपूर्ण कार्यविधि समेत निर्माण प्रक्रियालाई अघि बढाएका छौं । सबैको सुझावले कार्यविधि निर्माणमा सहयोग पुग्ने छ ।”

जिल्ला खेलकुद समिति र जिल्ला खेलकुद संघहरु खेलकुद विकासका लागि मेरुदण्डको रुपमा रहेको बताउँदै सदस्य सचिव शर्माले खेलकुद पूर्वाधारहरु खेलाडीहरुको पहिलो अधिकारको रुपमा रहेको बताए । उनले खेलकुदका पूर्वाधार अझै पनि राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहनुले खेलकुद विकासमा केही अवरोधहरु झेल्नु परेको उल्लेख गर्दै उनले कानुनको परिधि भित्र रहेर प्रदेशमा रहेका खेल पूर्वाधारहरु प्रदेश खेलकुद परिषद रहनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद विकास ऐनमा रहेका जटिलताहरु हटाउन सवैको ध्यान जानुपर्ने बताए । धेरै चुनौतीका बावजुद नवौं राष्ट्रिय खेलकुदमा प्राप्त भएको सफलता सबै खेल संघहरुको उत्तिकै मेहनत र योगदानकै कारणले रहेको चर्चा गर्दै उनले खेल संघहरुले योजना बनाउँदा नवौंको ‘लिगेसी’ प्राप्त हुने गरि निर्माण गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल लगायतले आफ्ना भनाई राखेका थिए ।

७ भाद्र २०८०, बिहीबार १२:४३ मा प्रकाशित
Nabintech