Play

ताङतिङ्ग मितेरी संघ नेपालद्वारा निशुल्क औषधी वितरण

गुरुकुल खबर


पोखरा । कास्कीको मादी गाउँपालिका वडा न २ रोहिगाउँ र सेतीखोलाका दिर्घरोगी बिरामीलाई शनिबार औषधी वितरण गरिएको छ ।

ताङतिङ्ग मितेरी संघ नेपालको आयोजनामा आर्थिक अवस्था कमजोर भएका सो क्षेत्रका १० जना बिरामीलाई औषधि वितरण गरिएको हो ।

ताङतिङ्ग मितेरी संघ बेलायतका ट्रस्टी लक्ष बहादुर गुरुङले बिरामीहरुलाई घर घरमै गई औषधि वितरण गरेका थिए । सामाजिक व्यक्तित्व गुरुङ ताङतिङ्ग समाज यूकेका निवर्तमान अध्यक्ष, लन्डन बोरो अफ बार्नेटका निवर्तमान उपमेयर, वर्तमान काउन्सिलर समेत हुन् ।

काउन्सिलर गुरुङले गोपाल विक र कुमारी गुरुङ, रोही गाँउका सोमती सापकोटा, पदमकुमारी क्षेत्री, मंगले परियार, सुबने विक, सेतीखोलाका विजय गुरुङ र हस्तबहादुर क्षेत्रीलाई औषधी वितरण गरेका थिए ।

औषधी वितरण कार्यक्रम औषधी वितरण समितिका सयोजक तथा समाजसेवी क्या. मन्त्रीजङ्ग गुरुङको संयोजकत्व र औषधी वितरण समितिका सदस्य तथा युवा व्यवसायी सुरेन्द्रजङ्ग क्षेत्रीको समन्वयमा सम्पन्न भएको थियो ।

सो अवसरमा ताङतिङ्ग मितेरी संघ नेपालका सचिव विन गुरुङ, मादि गापा वडा न २ का वडा अध्यक्ष भोजबहादुर गुरुङ, समाजसेवी चन्द्रमाया गुरुङले विशेष सहभागिता जनाएका थिए।

ताङतिङ्ग मितेरी संघ बेलायतको समन्वयमा ताङतिङ्ग मितेरी संघ नेपालले विगत ३ बर्ष देखि हरेक तीन- तीन महिनामा एक मुस्ट औषधी बितरण गर्दै आई रहेको छ ।

दम, मुटु रोग, व्लड प्रेसर, मानसिक स्वास्थ्य, नशा सम्बन्धि समस्याका ती बिरामीहरुका लागि वितरण गरिने औषधी खर्च करिब ४५ हजार रुपैयाँ लाग्ने औषधी वितरण समितिका सयोजक तथा समाजसेवी क्या. मन्त्रीजङ्ग गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।


उक्त सामाजिक कार्यकालागि नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति तथा ताङतिङ्ग समाज यूकेका अध्यक्ष एवम् समाजसेवी तर्कजङ्ग गुरुङले विशेष संयोजन गर्दै आईरहेका छन् ।

यसैबीच ताङतिङ्ग मितेरी संघ बेलायतका ट्रस्टी एवम् काउन्सिलर लक्षबहादुर गुरुङको विशेष उपस्थितिमा संघको बैठक बस्यो ।

बैठकमा ट्रस्टी गुरुङले मितेरी संघ स्थापनाको उद्देश्य र आवश्यकता बारे स्पष्ट पार्दै संघको भावी योजनाको बारेमा प्रकाश पारेका थिए । ताङतिङ्ग गाँउमा मितेरी संघले करिब १० वर्ष अगाडि किनेको ‘सुजी घर’लाई होटेलमा परिणत गर्ने, सो होटललाई ताङतिङ्गबासीले नै संचालन गर्ने र त्यसबाट आउने मुनाफा गाउकै विकासमा प्रयोग गरिने मितेरी संघ बेलायतको उद्देश्य रहेको पनि ट्रस्टी गुरुङले बैठकमा जानकारी दिए ।

यसैबीच मितेरी संघ बेलायतले आउदो अक्टोबर ७ तारिखमा यु.के.मा आयोजना गर्ने च्यारिटी डिनरमा ताङतिङ्ग मितेरी संघ नेपालका अध्यक्ष र ताङतिङ्ग होम स्टे संघका अध्यक्षलाई पनि निमन्त्रणा गरिने गुरुङले जानकारी दिए ।

२१ श्रावण २०८०, आईतवार २१:४५ मा प्रकाशित
Nabintech