Play

पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ पार्किङ निषेध क्षेत्र

गुरुकुल खबर


पोखरा, पोखराको अति व्यस्त पृथ्वीचोक देखि चाइनापुलसम्मको क्षेत्रमा सडकको दायाँबायाँ पार्किङ निषेध गरिएको छ । जिल्ला सुरक्षा समिति कास्कीको बैठकको निर्णय अनुसार यस्तो व्यवस्था कार्यान्वयन आएको हो ।

बसपार्क, व्यापारिक मल, तरकारीको होलसेल बजारसमेत रहेको यो क्षत्र निकै साँघुरो महसुस हुन्छ । यहाँ बारम्बार ट्राफिक जाम भइरहन्छ । पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत चाइनापुलमा डबल लेनका २ पुल बनाउन टेन्डर आह्वान भइसकेको खबर सार्वजनिक भएको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्यले पृथ्वीचोकदेखि चाइना पुलभित्रको सडकमा आइतबारदेखि कुनै खालका गाडी पनि पार्किङ गर्न नदिइने यसअघि नै बताएका थिए । उनले ड्राइभरबिनाका कुनै गाडी सडकमा पार्किङ गर्न नदिइने उल्लेख गर्दै बाटोलाई नै बसपार्क बनाउन नपाइने बताए ।

महानगरले यस विषयमा जानकारी दिन शुक्रबार र शनिबार माइकिङ गरी सडकको दुवैतर्फ रहेका राखिएका गाडी हटाउन, मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन अनुरोध गरेको थियो । पोखरा आउने र पोखरा बाहिर जाने लामो दूरीका बसलाई बसपार्कभित्रै लगिने भएको छ । यसअघि लामो दूरीका गाडीले पनि सडकमै यात्रु पर्खिने, चढाउने र ओराल्ने गर्दै आएका थिए । पोखरा महानगरले पोखरा बसपार्क र बागलुङ बसपार्कलाई अस्थायी रुपमा व्यवस्थापन गर्न यो वर्ष १ करोड बजेट विनियोजन गरेको छ ।

ट्राफिक कार्यालय कास्की प्रमुख कृष्णबहादुर चन्दले आइतबारबाटै पार्किङ व्यवस्थापन सुरु गरिएको र केही कठिनाइ आए त्यसको समाधान खोजिने बताए । नागरिक अभियन्ता रामबहादुर पौडेलले वसपार्क क्षेत्रमा मात्र नभईस समग्र पोखरामा यस्तो व्यवस्था लागू गर्न माग गरेका छन् ।

तस्वीर : सुदर्शन रञ्जित

७ श्रावण २०८०, आईतवार १५:२१ मा प्रकाशित
Nabintech