Play

जिल्ला समन्वय समिति कास्कीद्वारा कार्य विवरणसहित योजना सार्वजनिक

गुरुकुल खबर


पोखरा, जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७९/८० मा सम्पादन भएका कामहरूको विवरणसहित आर्थिक बर्ष २०८०÷८१ का लागि नयाँ कार्ययोजना सार्बजनिक गरेको छ । समितिले शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उक्त विवरण सार्बजनिक गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आफुहरू निर्बाचित भएर कार्यभार सम्हाले पछि बर्तमान प्रदेश तथा संघ सरकारले हालसम्म निर्माण गरेका कानून र ऐन नियम भित्र रहेर उत्कृष्ट समन्वयकारी भुमिका निर्बाह गर्ने प्रयत्न रहेको उल्लेख गरे । समन्वय र अनुगमनका लागि पर्याप्त कानुन अभाव भएको र त्यस्ता कानुनहरू निर्माण गर्न आफूहरू निरन्तर प्रदेश र संघ सरकारलाई विभिन्न तवरले लबिङ् गरिरहेको भन्दै संबैधानिक ब्यवस्था अनुसार तीन तहका सरकार बिच बिकास र अन्य जन चासोका बिषयमा समेत समन्वय गरिरहेको उनले बताए ।

उनले निर्बाचित भएको एक बर्षमा चौध वटा बैठक बसेको, नेपालमा नै पहिलोपटक विभिन्न बिषयगत कार्यालयको अर्ध बार्षिक समिक्षा गरिएको, जिसस कास्की सहित स्थानीय तहका पदाधिकारी र सबै वडा अध्यक्षहरूलाइ क्षमता अभिवृद्धि तालिम संचालन गरिएको, मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरेको, गैरसरकारी संस्थाहरूको नियमनका लागि अनुगमन सहित समन्वयात्मक बैठक सम्पन्न गरेको जानकारी दिए ।

त्यसैगरि अनुभव आदानप्रदान गर्न असल सिकाइ अभ्यास कार्यक्रम, नदी तथा खानिजन्य पदार्थ उत्खनन बिक्री बितरण र क्रशर संचालन कार्यबिधी तथा समन्वय कार्यबिधी निर्माण गरी छैटौं जिल्ला सभाबाट पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी पनि उनले दिए ।

पहिलो पटक स्थानिय तह स्वमुल्यांकन र वित्तीय सुशासन जोखिम मुल्यांकनको नतिजा औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको जानकारी पनि उनले दिए । प्रमुख पौडेलले जिल्ला सभाबाट पारित ३२ बाुदे निर्णय कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै कास्कीमा संघीय, प्रादेशिक र स्थानीय तहका विकास आयोजनाको अनुगमनका क्रममा देखिएका समस्याको समन्वय र समाधानमा नियमित भएका कार्यहरूको जानकारी दिए । पौडेलले अनुगमन र समन्वयको कार्यलाई प्रभावकारी बनाउन आर्थिक बर्ष २०८०÷८१ को ब्यबस्थित कार्यतालिका निर्माण गरेको विषय पनि अवगत गराए ।

५ श्रावण २०८०, शुक्रबार १३:३७ मा प्रकाशित
Nabintech