Play

नक्कली भुटानी शरणार्थी काण्डमा गृह मन्त्रालयबाट ‘पटके निर्णय’, निर्णय अवधिका गृहसचिव र गृहमन्त्री सबै अनुसन्धानको दायरामा तानिने आधार

गुरुकुल खबर


काठमाडौं । काँग्रेसका शक्तिशाली नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नक्कली शरणार्थी बनाएर ठगी गरेको बिषयमा प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरिसकेको छ ।

बुटवलमा रहेका खाण २०८० वैशाख २६ गते मंगलबार मात्रै काठमाडौं आएका थिए । खाणलाई पक्राउको सुईंकोसम्म नदिई प्रहरी खाणको मैजुबहालस्थित घरमा पुगेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा मोटो रकम असुल गरी नीतिगत निर्णय गराउन खाणले सहयोग गरेको भन्दै पक्राउ परेका अन्य आरोपीले पोलेपछि खाण समातिएका हुन् ।

खाणसँगै उनकी पत्नी मञ्जुलाई समेत घुस काण्डमा पीडितले पोलेका छन् र उनी हाल भूमिगत रहेकाे बताइन्छ । पीडितको जाहेरीका आधारमा मञ्जु समेत पक्राउ पर्ने संभावना बढेको छ । खाणका अति निकट मित्र रहेका गृह सचिव टेकनारायण पाण्डे यस अघि नै पक्राउ परिसकेका छन् ।

खाण दम्पत्ति र गृह सचिव पाण्डेमाथि आर्थिक लाभ लिएर विचौलिया र दलाल गिरोहलाई सहयोग गरेको गंभीर लाञ्छना लागेकाे छ । स्रोतका अनुसार, पक्राउ परेका ललितपुरका सानु भण्डारीले दुबैजनालाई घुसमा मुछेका छन् । खाण पक्राउ गरेलगत्तै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । अनुसन्धान र बयानमा गृह सचिव पाण्डे नउम्किने अवस्था आएमा खाण दम्पत्ति समेत फन्दामा पर्ने अबस्था घटनाक्रमबाट देखिएको छ ।

कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधानमन्त्री छँदा दुलाल निजी सहायक नै थिए । दुलालको काँग्रेसका कोइराला परिवारभित्रका नेतासँगै खाणसँग पनि राम्रो चिनापर्ची रहेको बताइन्छ । अर्का आरोपित सागर थुलुङ पनि २०७४ सालको स्थानीय तह चुनावमा मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० को वडाध्यक्षमा कांग्रेसबाटै निर्वाचित भएका व्यक्ति हुन् । थुलुङको समेत काँग्रेसको माथिल्लो तहसम्म उठवश रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पु¥याउने योजनामा मुछिएका हाइ प्रोफाइल पात्र हुन्-पूर्व गृह सचिव टेकनारायण पाण्डे । गृह प्रशासनको कुनै क्षमता र अनुभव नभएका पाण्डे बालकृष्ण खाण गृहमन्त्री रहेका बेला सचिवमा ल्याइएका थिए । पाण्डे २०५१ सालमा विद्यालय निरीक्षकबाट सरकारी सेवामा छिरेका थिए । उनले जागिरको लामो समय शिक्षा सेवामै बिताएका थिए ।

पछिल्लो समय उपराष्ट्रपति कार्यालयमा सचिव रहेका पाण्डेलाई शरणार्थी काण्डमा २०८० वैशाख २० गते पक्राउ गर्दै प्रहरी हिरासतमा राखिएको छ । सचिव पाण्डे पक्राउपछि उनैले नक्कली शरणार्थी गिरोहका बिचौलिया समूहसँग मन्त्री खाणको भेट गराइदिएको चर्चा छ ।

सरकार परिवर्तन भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजीत राईको भूमिका सचिव पाण्डेले निर्वाह गरेको आरोप छ । राई तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए । संसद पुनःस्थापनासँगै सरकार ढलेपछि राई पनि बाहिरिएका थिए । २०७४ फागुन १४ देखि २०७८ असार २८ गतेसम्म रामबहादुर थापा गृहमन्त्री बनेका थिए ।

त्यसपछि खाणले २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म गृह मन्त्रालय सम्हालेका थिए । त्यसपछि पाण्डेले विचौलिया र दलालसँग खाणलाई भेट गराइदिने गरेको स्रोतको दावी छ । यद्यपि छानविनबाट पुष्टि भने भइसकेको छैन ।

पाण्डेको वाट्सएप अनुसन्धानबाट पाण्डेले खाणको नाम पनि मुछिएको स्रोतको दाबी छ । यसबाट पाण्डेले गृहमन्त्रीको इच्छा अनुसार काम गरेको आशंका छ ।

पाँच बर्षदेखि नै गृह प्रशासनको मिलेमतोमा नक्कली शरणार्थी बनाउने गिरोह सक्रिय देखिन्छ । गृह मन्त्री हुँदा खाणका प्रिय पात्र रहेका उनै पाण्डे पनि यो गिरोहको केन्द्र भागमा देखिएका छन् । खाण गृहमन्त्री बनेको एक महिनामै विवादस्पद सचिव पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवबाट गृह मन्त्रालयमा ल्याइएको थियो । गिरोहको नाइके भनिएका केशव दुलाल र कांग्रेस नेताहरूको उठवश पुरानै रहेका कारण पनि खाणमाथि शंकाको नजरले हेरिएको थियाे ।

कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधानमन्त्री छँदा दुलाल निजी सहायक नै थिए । दुलालको काँग्रेसका कोइराला परिवारभित्रका नेतासँगै खाणसँग पनि राम्रो चिनापर्ची रहेको बताइन्छ । अर्का आरोपित सागर थुलुङ पनि २०७४ सालको स्थानीय तह चुनावमा मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० को वडाध्यक्षमा कांग्रेसबाटै निर्वाचित भएका व्यक्ति हुन् । थुलुङको समेत काँग्रेसको माथिल्लो तहसम्म उठवश रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

हालसम्म आठ सय ७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको तथ्य फेला परेको छ । गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थी(हाल अवकास)को नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो । कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्ने भन्दै ययार्थ विवरण उठाएको थियो ।

सोही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करीको योजना बुनेको तथ्य बाहिरिएपछि भागाभागको अवस्था आएको हो । गिरोहले अमेरिका पु¥याइदिने भनेर युवा-युवतीबाट मोटो रकम उठाएको थियो । तर गिरोहले अमेरिका पठाउन नसकेपछि पीडितले प्रहरी कहाँ जाहेरी दिन पुगेका थिए । प्रति व्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको दावी प्रहरीमा परेको जाहेरीमा गरिएको छ । पैसा संकलनबाट केशव दुलालमार्फत खाणलाई १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको बयानमा पक्राउ परेका गिरोहका सदस्यले पाेलेकाे स्रोत बताउछ ।

जाहेरी अनुसार केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको दावी छ । यी मध्ये खाणसँग राम्रो हिमचिम रहेका दुलाल समेत मुख्य योजनाकार रहेका कारण शंकालाई बल पु¥याएको हो । प्रारम्भिक छानविनमा बिचौलियासम्म सरकारी कागजात पु¥याउन गृह सचिव पोडेको भूमिका देखिएको छ ।

स्रोत भन्छ, शरणार्थीमा छुटेको भन्ने नाममा नक्कली घुसाउन पाण्डेकै पहलमा गृह मन्त्रालयबाट ‘पटके निर्णय’ भएको देखिन्छ । पटके निर्णयमा खाणको पनि प्रत्यक्ष संलग्नता देखिएपछि पक्राउ परेका हुन् । निर्णय अवधिमा गृहसचिव र गृहमन्त्री बनेका सबै अनुसन्धानको दायरामा तानिने आधार खडा भएको छ।

यसैबिच नक्कली शरणार्थी प्रकरणमा आफ्नो पनि नाम जोडिएर समाचार आउन थालेपछि कांग्रेस नेता एवम् पूर्व गृह मन्त्री बालकृष्ण खाँणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए। खाणले २०८० वैशाख २३ गते शनिबार मात्रै एक प्रेस विज्ञप्ति जारी गरेर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा आफ्नो नाम जोड्दै चरित्रहत्या गरिएको दावी गरेका थिए । सचिव पाण्डे पक्राउपछि आफ्नो पनि नाम पनि मुछिन थालेपछि खाणले पूर्व सावधानी अपनाउँदै चलाखीपूर्वक विज्ञप्ति जारी गरेको उनी गिरफ्तार भएपछि पुष्टि भएकाे छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपसहित मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव रहेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए ।

शरणार्थी ठगी काण्डमा मुछिएका नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले जारी गरेकाे चर्चा छ ।

२९ बैशाख २०८०, शुक्रबार ११:२२ मा प्रकाशित
Nabintech