Play

रवि लामिछानेको ड्राइभर शम्भु थापाको घटना प्रकरणबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक, हत्या गर्ने योजनाका साथ मदिरा पार्टीको आयोजना गरेर सुनियोजित तरिकाले खसालिएको निष्कर्ष

गुरुकुल खबर


काठमाण्डौ । नेपाल समाजवादी मोर्चा, ईन्टरनेशनल ईन्टेलिजेन्स ब्यूरो (आईआईबी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको ड्राइभर शम्भु थापाको घटना प्रकरणबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत वैशाख ४ गते भरतपुर महानगरपालिका ११ मा रहेको लामिछानेको तीन तले घरबाट खसेर गम्भीर घाइते भएका थापाको घटना प्रकरणबारे छानबिन गरेर आईआईबीले प्रतिवेदन सार्वजनिक गरेको हो । थापालाई हत्या गर्ने योजनाका साथ मदिरा पार्टीको आयोजना गरेर सुनियोजित तरिकाले खसालिएको प्रतिवेदनको निष्कर्ष छ ।

घटनाको भोलिपल्ट चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेलाई चुनावी कार्यक्रममा लैजाने तालिका हुँदाहुँदै राति २ बजेसम्म मदिरा सेवन गर्नुले प्रश्न उब्जाएको प्रतिवेदनमा उल्लेख छ । भनिएको छ, ‘भोलिपल्ट उम्मेदवार रवि लामिछानेको चुनावी कार्यक्रमको सेड्युल रहेको र सो कार्यक्रममा चालक शम्भु थापाले नै लामिछानेलाई गाडीमा लैजाने भएको हुँदा राति २ बजेसम्म मदिरापानसहितको पार्टी गर्ने अनुमति लामिछानेको स्वीकृति बेगर कसरी प्राप्त भयो ?’

त्यस्तै, आईआईबीले रास्वपाका महामन्त्री मुकुल ढकालको ड्राइभर र सभापति लामिछानेको ड्राइभरको शरीरमा रहेको मदिराको मात्राको रिपोर्ट सार्वजनिक गर्न माग गरेको छ । थापालाई धेरै मदिरा पिउन लगाउनु भन्दै लामिछानेले ढकालको ड्राइभरलाई भनेको सुन्नमा आएको हुनाले यस विषयमा पनि छानबिन हुनुपर्नेमा जोड दिइएको छ ।

अनुसन्धानको क्रममा सभापति लामिछाने आफैंले छतमा लगेर धकेलेको शंका पनि पैदा भएको हुँदा त्यसको वास्तविकता पत्ता लगाउनुपर्ने लिखित माग राखिएको छ । लामिछानेले बैंकमा रकम जम्मा गर्न थापालाई अह्राउने गरेको उल्लेख गर्दै हालसम्म थापाको नामबाट डिपोजिट गरिएको रकमको विवरण सार्वजनिक गर्न पनि भनिएको छ ।

लामिछानेका ससुरा उद्धवप्रसाद पौडेलको नामको खातामा समेत थापाले नै रकम जम्मा गर्ने गरेको जानकारी गराउँदै आईआईबीले उनको खातालाई छानबिनको दायरामा ल्याउन भनेको छ । ‘कतिपय चेकहरु रवि लामिछानेको ससुरा उद्धवप्रसाद पौडेलको नामको खातामा सवारी चालक शम्भु थापाले आफैं गएर जम्मा गर्ने गरेका थिए । पौडेल व्यापारिक घरानीयाको भएको कारण निजको खातामा भएको कारोबारमा कसैले कुनै शंका, उपशंका नहुने एवं नगर्ने कारण लामिछानेले ससुराको खाता रोजेको देखिन्छ’, प्रतिवेदनमा लेखिएको छ ।

‘निर्वाचनको मुखमा सवारी चालक मर्यो र विपक्षीहरुले मेरो चालकको हत्या गर्यो’ भनि सहानुभूति बटुल्न र चुनाव जित्न यो घटना घटाइएको आईआईबीको आरोप छ ।

साथै, कोर टिमको गतिविधि लुकाउन पनि यो हर्कत गरिएको हुनसक्ने आईआईबीको आशंका छ । कोर टिममा भएका सदस्यहरुको मोबाइल कल डिटेल्स र अन्य सञ्जालमा गरिएको कुराकानीको अध्ययन गर्न पनि माग गरिएको छ ।

युवराज सफल संयोजक रहेको मोर्चाद्वारा गठित आईआईबीले प्रतिवेदनको उद्देश्य कसैलाई आरोप लगाउन नभई सरकारलाई अनुसन्धानमा सहयोगका निम्ति तयार पारेको बताएको छ ।

६ बैशाख २०८०, बुधबार २२:२२ मा प्रकाशित
Nabintech