Play

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिष्द विस्तार गर्दै, दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी

गुरुकुल खबर


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिष्द विस्तार गर्दैछन् । उनको नेतृत्वको सरकारमा सहभागी मन्त्रीको नामावली दिनका लागि दलहरुलाई दिउँसो १ बजेसम्मको समय दिएका छन् ।

१ बजेसम्म दलहरूबाट नाम लिएर दिउँसो ३ बजेका लागि शपथग्रहण गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनका दलहरूबीच कुन दलले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति भएपनि मन्त्रालयको नेतृत्व कसले लिने भन्नेबारेमा अझै टुंगो लागेको छैन।

यसअघि भएको सहमति अनुसार नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी २/२ मन्त्रालय पाउनेछन्। त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेपाल समाजवादी पार्टीले १/१ वटा मन्त्रालय पाउनेछन्।

त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दैछन् ।

यी हुन नयाँ मन्त्रीहरु

सत्ता साझेदार दलमध्ये प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालयसहित सरकारमा सहभागिता जनाउँदै छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

उपप्रधान एवमं रक्षा मन्त्रालय लिदैँ खड्काले नेतृत्वमा अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री रमेश रिजाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री धनराज गुरुङ र शहरी विकासमन्त्रीका रुपमा एनपी साउँदलाई पठाउने निर्णय भएको काँग्रेस स्रोतले जनाएको छ ।

यस्तैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री सीता गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्रीमा डिगबहादुर लिम्बू र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत बन्ने भएका हुन् ।

त्यस्तै, सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेका छन् । प्रधानमन्त्रीसहित गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय माओवादीले नेतृत्व गर्ने भएको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । भौतिकबाट उनलाई गृह मन्त्रालयको जिम्मोवारी दिने विषयमा पार्टीले यसअघि नै निर्णय गरिसकेको छ ।

माओवादीबाट अहिले सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती छन् ।

माओवादीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने कांग्रेसले लिने भएको छ । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई अर्को कुनै मन्त्रालय दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।

त्यस्तै, एकीकृत समाजवादीले शिक्षा र भौतिक पूर्वाधार मन्त्रालय लिने भएको छ । शिक्षामन्त्रीमा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले शरतसिंह भण्डारीलाई श्रम, राजेगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने निर्णय गरिसकेको छ ।
जसपाले लिने २ वटा मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।

१७ चैत्र २०७९, शुक्रबार १२:३९ मा प्रकाशित
Nabintech