Play

सहकारीमा लागेर अर्बपति बनेका मात्र हैन सडकमा समेत पुगेका सहकारीकर्मीहरु

गुरुकुल खबर


काठमाडौं । कुनै बेला नेपाली सहकारी क्षेत्रमा एकछत्र राज गरेका व्यक्ति हुन् राजेन्द्र शाक्य । तत्कालीन किष्ट बैंकको सञ्चालक समिति अध्यक्ष बनेका उनी चर्चित घरजग्गा व्यवसायी पनि थिए । दर्जन बढी कम्पनी सम्हालेका उनले गुण कोअपरेटिभ चलाउँथे । घरजग्गाबाट रातारात राम्रो आम्दानी हुन थालेपछि उनले लगानीको दायरा विस्तार गर्दै लगे । गुण एयरलाइन्स पनि खोले । बिचमा बन्द भएको यो एयरलाइन्स अहिले पुनः संकटमा छ ।

तर, २०६६ मा नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा कडाइको नीति ल्यायो । त्यसपछि घरजग्गामा मन्दी आयो । सहकारीको पैसा घरजग्गामा लगानी गरेका उनले घरजग्गामा मन्दी आएपछि बचतकर्ताको ५ अर्ब बढी पैसा तिर्न सकेनन् । उनी फरार भए । सरकारले उनको सहकारीलाई संकटग्रस्त सहकारीका रुपमा घोषणा गर्यो । पछि विस्तारै उनले पैसा तिर्दै, समस्याको समाधान गर्दै अगाडि बढे ।

सोही समयमा घरजग्गा व्यवसायी भनेर कहलिएका अर्का सहकारीकर्मी हुन् सुधिर बस्नेत । उनी ओरेन्टल कोअपरेटिभका अध्यक्ष थिए । विभिन्न स्थानमा जग्गा किनेर हाउजिङ बनाउने तथा जग्गा नै प्लटिङ गरेर बिक्री गर्ने कार्यमा बस्नेत संलग्न थिए । राष्ट्र बैंकको सर्कुलरपछि उनको बिजनेस पनि डाउन भयो । सहकारीका बचतकर्ताको पैसा तिर्न सकेनन् । उनी पनि भागे । अर्बौंको सम्पत्ति बेवारिसे बन्यो । ओरेन्टल सहकारीमा पैसा राख्ने धेरैको पैसा फस्यो । बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा उनी जेलमा पनि परे । उनी पनि अहिले बचतकर्ताको पैसा फिर्ता गरिरहेका छन् । तर, उनको व्यवसायिक जीवन भने खलबलिएको छ । बैंक तथा वित्तीय संस्थाले उनलाई नपत्याउने अवस्था सिर्जना भएको छ ।

शाक्य र शर्मा जस्तै सहकारीमा एकलौटी हाबी हुँदा समस्यामा परेका अर्का व्यवसायी हुन् इच्छाराज तामाङ । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको पैसा हिनामिना गरेको, पैसा समयमै फिर्ता नगरेको लगायतका आरोपमा अहिले उनको जेल बास छ ।

तामाङ पनि घरजग्गा व्यवसायबाटै उदय भएका व्यवसायी हुन् । तर, उनको पनि घरजग्गा व्यवसाय नफापेपछि सहकारीको पैसा घरजग्गामा डुब्यो । तामाङको पनि सहकारीमा एकलौटी राज थियो । उनको निर्णय नै सहकारीको निर्णय हुन्थ्यो । उनी सहकारीमा आफै साहु र आफै ऋणी बने । सिभिल सहकारीका बचतकर्ताको ५ अर्ब बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । अहिले उनको व्यवसाय तहसनहस बनेको छ । उनीसँगै उनको श्रीमती सृजना शाक्य पनि जेलमै छिन् ।

यस्तै, गत साउनमा कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी पनि ठूलो संकटमा पर्यो । बचतकर्ताको रकम फिर्ता गर्न नसकेकै कारण संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत अन्य सञ्चालक फरार भए । संस्थाको ५ अर्ब बढी रकम जोखिममा पर्यो । सो सहकारीमा पनि रामबहादुर र उनकी श्रीमती निर्मला खत्री गौतमको एकलौटी निर्णय चल्थ्यो ।

रामबहादुरको पनि घरजग्गामा पैसा डुबेपछि बचतकर्ताको पैसा फिर्ता गर्न सकेनन् । केही समय फरार रहेका उनी माहोल केही साम्य भएपछि नेपाल फर्किए र बचतकर्तालाई पैसा फिर्ता गर्ने प्रतिवद्धता गरे । अहिले उनी बचत फिर्ता गर्न संघर्ष गरिरहेका छन् । तर, उनको व्यवसायिक जीवनमा भने कहिल्यै नमेटिने र कसैले नबिर्सिने धब्बा लागिसकेको छ ।

यस्तै, शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुशिल बानियाँ, लालिगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत महर्जनमाथि पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । उनीहरुले नेतृत्व गरेका सहकारीहरु पनि समस्यामा परेको बुझिएको छ । शिवशिखर सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेर देशका विभिन्न सेवा केन्द्रहरु नै बन्द गर्नु परेको छ भने एकताका बैंक नै खोल्न तम्सेका भण्डारीको लालिगुराँस सहकारीले पनि अहिले बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेको छैन ।

भरत महर्जन महर्जनले नेतृत्व गरेको सुमेरु बचत तथा ऋण सहकारी पनि अहिले समस्यामा छ । सहकारीबाट उठेकाे सुमेरू ग्रुपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गरेकाे थियाे । अहिले सुमेरू ग्रुपद्वारा प्रवर्द्धित सबै कम्पनीहरू संकटमा रहेका छन् । कम्पनीहरू संकटमा परेपछि भरत महर्जन विदेशिएका छन् । सुमेरू ग्रुपका महासचिव हेमराज दाहाल सहकारीकाे अध्यक्ष भएका छन् ।

यी सबै एकताका सहकारी क्षेत्रका चर्चित पात्रहरु हुन् । अहिले बचकर्ताको स–सानो पैसा दिन नसकेर तनावमा छन् । कतिपयको जेलवास छ भने अधिकांशहरु सहकारी नै बन्द गरेर फरार छन्

माथि उल्लेख गरेका सबै सहकारीमा नेतृत्व हावी हुँदा समस्या सिर्जना भएको हो भन्दा फरक नपर्ला । यो विषयको स्वीकार सहकारीहरुको नियामक सहकारी विभाग पनि गर्छ । यसअघि सहकारी विभागको रजिष्ट्रारका रुपमा नेतृत्व सम्हालेका रुद्रप्रसाद पण्डितले पटक-पटक र विभिन्न सार्वजनिक कार्यक्रममा भन्ने वाक्य हो, ‘सञ्चालकहरुको बदमासीको कारणले सहकारीमा समस्या आयो, त्यसमा पनि सञ्चाल समितिको नेतृत्व गर्ने अध्यक्ष सहकारीमा हावी हुँदा सहकारीमा यो किसिमको संकट उत्पन्न भएको हो ।’ अधिकांश सहकारीले बचतको रकम घरजग्गामा लगानी गर्दा र त्यसमा नेतृत्वको नै संलग्नता हुँदा समस्या सिर्जना भएको उनको भनाइ थियो ।

विभागका सूचना अधिकारी तथा उपरजिष्ट्रार टोलराज उपाध्याय पनि सहकारी संस्थाहरुमा सञ्चालक र व्यवस्थापक नै हावी हुँदा पनि धेरै समस्या सिर्जना भएको बताउँछन् । ‘अर्थतन्त्रमा समस्या आउँदा पनि सहकारीमा त्यसको असर परेको हो, सहकारीमा समस्या आउनुका विभिन्न कारणहरु छन् ती कारणहरुमध्ये सहकारीमा सञ्चालक र व्यवस्थापक हावी भएर मनलाग्दी निर्णय गरेर लगानी गर्ने प्रवृतिले पनि अहिले अधिकांश सहकारी समस्यामा देखिएका हुन्, सहकारीमा सञ्चालक र व्यवस्थापक हावी नभएर र सही नीति नियम अनुसार सञ्चालन भएका सहकारीमा समस्या छैन,’ उनले भने ।

उनले अहिले पनि धेरै सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको आएको बताउँदै अधिकांश सहकारीहरु सञ्चालक र व्यवस्थापककै कमजोरी भएको बताए । उनका अनुसार अझै पनि लागिगुँरास, तुल्सी, कान्तिपुर, गौतमश्री र शिवशिखर लगायतका सहकारीहरुको विषयमा गुनासो आइरहेको छ । उनले अब सहकारीका समस्याहरु पहिचान गरेर ती समस्या समाधानका लागि कार्यदल नै गठन गरेर अगाडि बढ्ने तयारी भइरहेको बताए ।

यस्तै, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल पनि सञ्चालकहरुको बदमासीले पनि सहकारीहरुमा समस्या सिर्जना भएको हुन सक्ने बताउँछन् । उनका अनुसार अहिले धेरै सहकारीहरुमा समस्या नभएको भएपनि समस्या आएको धेरै सहकारीमा सञ्चालकहरुकै कमजोरीका कारणले यो स्थिति बनेको हो ।

‘केही सहकारीहरुमा समस्या सिर्जना हुँदा सहकारी क्षेत्रमाथि नै प्रश्न उठेको, समस्या आएको धेरै सहकारीहरुले घरजग्गामा लगानी गरेको हाम्रो पनि बुझाइ छ, त्यसमा पनि एकलौटी निर्णय गर्दा, सञ्चालक तथा व्यवस्थापकहरु नै हावी हुँदा समस्या आएको हुन सक्छ, एकाध सहकारीमा समस्या आयो भनेर सहकारी क्षेत्रलाई नै बदनामी बनाउनु हुँदैन, केही सहकारीले राम्रो काम पनि गरेका छन्,’ उनले भने ।

समस्या सुन्दै सुत्छ विभाग

अहिले सहकारीमा आफै सञ्चालक र आफै ऋणी बन्दा समस्या सिर्जना भएको धेरैको बुझाइ छ । सञ्चालकले सहकारीमा मनपरी गरिरहँदा पनि त्यसको पत्तो पाउने संयन्त्र विकास हुन सकेको छैन । सहकारी क्षेत्रको नियामक सहकारी विभाग समस्या सुनेर सुत्ने निकाय जस्तो बनेको छ । सहकारीका सञ्चालकले मनलाग्दी सहकारीबाट आफ्नो नाममा ऋण लिने, जग्गा प्लटिङ गरेर बिक्री गर्ने काम गरेको विषय नौलो होइन । यस विषयमा विभाग राम्रोसँग जानकार छ । तर, समस्या नसुनेझैं गर्ने बानी विभागको पुरानै बानी हो ।

हुन त केही महिनाको फरकमै विभागका रजिष्ट्रारहरु बदलिन्छन् । तर, विभागको नेतृत्व फेरिए पनि तिनीहरुको नियत फेरिदैन । ‘जति जोगी आएपनि कानै चिरेका’ भने जस्तै विभागमा आउने प्रत्येक रजिष्ट्रारहरुले सुरुमा ‘यो गर्ने त्यो गर्ने’ भनेर गफ लगाए पनि अन्ततः सहकारीका अभियान्ताहरुले सुम्पेको झोला भिरेर विभाग छोड्नुको विकल्प उनीहरुसँग हुँदैन ।

सरकारले वि.सं. २०७० सालमा समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । सो समितिले बचकर्ताको बचत फिर्ता गरी सर्वसाधारणको आर्थिक जीवनको सुरक्षा गर्ने उपाय र यस्ता समस्या दोहरिन नदिन आवश्यक नीतिगत सुझाव पेश गरेको थियो ।

उक्त समितिले सञ्चालक र उनीहरूका आफन्तलाई बिना धितो र कमसल धितोमा कर्जा प्रवाह रोक्नुपर्ने सुझाव पनि दिएको थियो । तर, त्यो समितिले दिएका सुझावहरु सुझावमै सीमित बने । समितिले औंल्याएका समस्याहरुमा विभाग न सिरियस बन्न सक्यो नत सहकारीकर्मीहरु, परिणामस्वरुप त्यस्ता समस्याहरु पुनः दोहोरिए । अहिले पुनः विभागले कार्यदल गठनका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।

अहिले घरजग्गामा एक किसिमको मन्दी आएकै कारण सहकारीहरु समस्यामा परेका हुन् । घरजग्गमा परेको प्रभावको प्रत्यक्ष असर सहकारीमा परेको हो । किनकी सहकारीको ९० प्रतिशतसम्म रकम सञ्चालकहरुले घरजग्गामा लगानी गरेका छन् । तर, ती सहकारीलाई उचित कारवाही गर्ने मामिलामा विभाग मौन छ ।

बिकास न्युजबाट

१७ चैत्र २०७९, शुक्रबार १२:३४ मा प्रकाशित
Nabintech