Play

ट्रेड युनियन काँग्रेसको ७७ औं स्थापना दिवस, श्रमिकका समस्या समाधान हुनुपर्नेमा जोड

गुरुकुल खबर


पोखरा, नेपाल ट्रेड युनियन काँग्रेसको ७७ औं स्थापना दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले पोखरामा शुभकामना आदान-प्रदान एवं प्रवचन कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बोल्ने बक्ताहरुले श्रमिक वर्गले भोग्दै आएका समस्याको दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिएका थिए ।

नेपालका सबैखाले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा श्रमिक वर्गले अतुलनीय योगदान गरे पनि उनीहरूका समस्या समाधानलाई प्राथमिकतामा नराखिएको बताउँदै वक्ताहरूले उनीहरूका सामाजिक सुरक्षाका विषयलाई निष्कर्षमा पुर्याउनुपर्नेमा समेत जोड़ दिए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संघर्ष स्वरुप प्राप्त परिवर्तनलाई व्यवस्थापन गर्न समय समयमा चुक्दा समस्या आउने गरेको बताए । हामीसँग पर्याप्त प्राकृतिक सम्पदा रहेपनि उपयोग हुन नसकेको वास्तविकतामा क्षमतालाई भरपुर उपयोग हुने वातावरण सिर्जना हुनुपर्नेमा शर्माले जोड दिए ।

श्रमिक क्षेत्रका समस्याको समाधानका लागि काँग्रेस प्रतिवद्ध भएको बताउँदै उनले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव राजेश पालिखेले श्रमिक वर्गले भोग्दै आएका सामाजिक सुरक्षा लगायत समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत व्यवस्थासँगै कानुनहरूको कार्यान्वयन हुनुपर्ने बताए ।

नेपाली काँग्रेस कास्की जिल्ला कार्य समितिका सदस्य एवं पार्टीको शुभेच्छुक संस्था समन्वय शाखाका संयोजक गंगाधर पराजुलीले नेपालका सबै किसिमका आन्दोलनमा दलहरूले मजदुर बर्गलाई प्रयोग गर्दै आए पनि उनीहरूका समस्या समाधान गर्ने विषयलाई प्राथमिकतामा नराखेको बताए ।

मज़दूर वर्गको सवालमा आन्दोलन भएपनि केही सिमित व्यक्तिका कारण आन्दोलन टुंगिने तर मजदुरको समस्या यथावत रहने गरेको यथार्थताको चर्चा गर्दै पराजुलीले मज़दूर बर्ग नेताको ईशारा र निर्देशनमा चल्नु भन्दा ट्रेड युनियन आन्दोलन बुझेको व्यक्तिलाई पार्टी र सरकारको नीति निर्माण तहमा पुर्याउन, आवश्यकता अनुसारको नीति र कानुन बनाउन अनि त्यसको प्रभाबकारी कार्यान्वयन गर्न सक्रिय हुनुपर्नेमा जोड़ दिए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, युनियनका जिल्ला अध्यक्ष विजयराज भण्डारी ,नेपाली कांग्रेस पोखरा महानगर संभापति सुरेन्द्र बिजुक्छे, ट्रेड युनियन कांग्रेस कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी बराल, उपाध्यक्ष कमलबहादुर सापकोटा, सचिव रुद्र तिमल्सिना लगायतले मजदुरका समस्यालाई दीर्घकालीन समाधान गर्ने तर्फ लाग्नु जरुरी रहेको बताएका थिए ।

२१ फाल्गुन २०७९, आईतवार २२:२१ मा प्रकाशित
Nabintech