Play

नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस, उधोगी व्यवसायीको बारेमा बोल्न र कांग्रेसलाई मार्गदर्शन गर्ने संस्थाको रुपमा बिकास गर्नुपर्नेमा जोड

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर पोखरामा एक कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले उधोगी व्यवसायीको एजेण्डाबारेमा बोल्न र कांग्रेसलाई समेत सही मार्गदर्शन गर्न सक्ने संस्थाको रुपमा यस संस्थालाई बिकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले प्रजातन्त्रवादी व्यवसायीलाई संगठित गर्दै व्यवसायी र राजनीतिबीच सहसम्बन्ध कायम गर्ने उद्देश्यका साथ संस्थाको गठन भएको बताए । संस्था स्थापनाको एक वर्ष अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उनले व्यवसायी र राजनीतिलाई एक अर्काका अभाव पूरा गर्ने गरी अघि बढाइएको बताए ।

व्यवसायका क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा उनले जोड दिए । उद्योग व्यवसाय र राजनीति दुबैलाई सफल बनाउने गरी सहकार्य गर्दै अघि बढ्नु जरुरी रहेको बताउँदै सभापति शर्माले हामीसँग रहेका साधनस्रोतको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा पनि जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले अवसरवादीहरुका कारण राजनीतिक र व्यवसायिक क्षेत्र प्रभावित भएको भन्दै विद्यमान आर्थिक समस्या बारे सम्बद्ध पक्षबीच बहस हुनु जरुरी रहेको बताए ।

नेपालमा देखिएको आर्थिक समस्या समाधानका लागि उत्पादनमा जोड दिदै रोजगारी सिर्जनातर्फ लाग्नुपर्ने आवश्यकता उनले औंल्याएका थिए ।

नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले चर्को व्याजदर लगायतका समस्याले व्यवसायीहरू गम्भीर समस्यामा रहेको बताउँदै यसले आत्मदाहजन्य घटनाहरू बढ्नु चुनौतीका रुपमा देखिएको बताए ।

प्रजातन्त्रवादी व्यवासायीलाई संगठित गर्दै व्यवसायिक क्षेत्रका समस्यामा हातेमालो गर्नका लागि संघको गठन भएको कर्माचार्यले स्पष्ट पारे । गण्डकीमा १० वटा जिल्लामा संघका समितिहरू गठन भएको उनले जानकारी दिए ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसलाई अर्थतन्त्र संग जोड्न सस्थाको भुमिका महत्वपूर्ण रहने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अमृत भट्टचन, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका महासचिव इश्वरप्रसाद कर्माचार्य लगायतले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने बताए ।

वक्ताहरुले संस्थाको गण्डकी प्रदेश समिति गठन भएपनि अन्य प्रदेश र राष्ट्रिय समिति गठन हुन नसकेको र गण्डकी प्रदेशका ११ जिल्लामा पनि संस्थाको समितिहरुले पुर्णता नपाईसकेकोले यस तर्फ ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य समेत रहेका शुभेच्छुक संस्था समन्वय समितिका प्रमुख गंगाधर पराजुली सहित कास्की कांग्रेसका सहसचिव हरु शंकर ढुंगाना र नविन सिग्देल, कोषाध्यक्ष माईकल कर्माचार्य र संघको कास्की शाखा अध्यक्ष पुरुषोत्तम श्रेष्ठ सहित उधोगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

१८ फाल्गुन २०७९, बिहीबार २१:५५ मा प्रकाशित
Nabintech