Play

रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियारको अग्रसरता

गुरुकुल खबर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए ।

आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा नेपाली राहदानी लिएको पाइएको छ ।

एउटा देशको नागरिकता खारेज नहुँदै अर्को देशको नागरिकता लिन र राहदानी लिन पाइँदैन । लामिछानेले भने सन् २०१४ मा अमेरिकी राहदानी लिएर सन् २०१५ मै नेपाली राहदानी पनि लिएको देखिन्छ । विदेशी राहदानी नै खारेज नभई उनले कसरी नेपाली राहदानी लिए भन्ने विषयमा गृह र परराष्ट्रले अब छानबिन प्रक्रिया अगाडि बढाउनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानी विवाद’bout नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

लामिछानेले पहिलोपटक २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता निकालेका थिए । अमेरिका गएपछि उनले त्यतैको नागरिकता लिएपछि ‘नेपाली नागरिकता’ खारेजी भयो । नेपाली नागरिकता खारेजीपछि उनले पुनः नागरिकता लिन चाहेमा पुरानो नम्बरमा नयाँ नागरिकता पाउँछन् ।

तर, उनले अझै पनि २०५० सालमा जारी नागरिकताले नै काम चलाइरहेका छन् । अहिले उनको सोही नागरिकताको वैधतामाथि प्रश्न उठेको हो । लामिछानेले नागरिकता विषयमा ‘आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोग लगाउँदा अदालतले टुंगो लगाइसकेको’ जनाए पनि फैसलामा भने ‘नागरिकता विषयमा कुनै कुरा उल्लेख गरेको’ पाइँदैन ।

फैसलामा आत्महत्या दुरुत्साहन विषयमा मात्रै विवेचना गरिएको छ । लामिछानेको नागरिकता विवाद उठ्दा पहिलो कुरा उनले ‘अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता त्यागेका थिए कि थिएनन् ?’ भन्ने प्रश्न उठ्छ । अमेरिकी नागरिकता लिइसकेपछि नेपाली नागरिकता स्वतः खारेज हुनेछ । किनकि, दोहोरो नागरिकता लिन पाइने व्यवस्था छैन ।

लामिछानेले नेपाली नागरिकता त्यागेको जानकारी नदिएर अमेरिकी नागरिकता लिएको भए उनको इमानदारितामाथि प्रश्न उठाउन सकिन्छ । दोस्रो उनले बारम्बार ‘आफूले अमेरिकाको नागरिकता त्यागेको’ बताउँदै आएका छन् । तर, अमेरिकी कानुनअनुसार उनले ‘नागरिकता त्याग प्रक्रिया पूरा गरेर प्रमाणपत्र प्राप्त गरेका छन् कि छैनन ?

भन्ने प्रश्न उठ्छ । रवि लामिछानेले भने ‘अमेरिकी नागरिकता त्याग गरेको’ बारम्बार दाबी गर्दै आएका छन् । त्यसअनुसार उनले प्रक्रिया सुरु गर्न आवश्यक दस्तुर २ हजार ३ सय ५० अमेरिकी डलर सन् २०१८ मा तिरेको रसिद सार्वजनिक भएको छ । तर, ‘अमेरिकी नागरिकता त्याग प्रक्रिया पूरा भयो कि भएन ?’

त्यसको प्रमाण सार्वजनिक गरिएको छैन । अमेरिकी कानुनअनुसार ‘संयुक्त राज्य अमेरिकाको नागरिकता परित्याग गर्न चाहेको व्यक्तिले इमिग्रेसन एन्ड नेसन्यालिटी एक्टको सेक्सन ३४९ (ए)(५) तथा ७ फरेन अफियर्स म्यानुअल १२६०’ प्रक्रिया पूरा गरेको हुनुपर्छ । रविले पुनः नेपाली नागरिकता प्राप्त गर्न नेपालको कानुनअनुसार ‘प्रक्रिया पूरा गरेका छैनन् ।

नागरिकतासम्बन्धी कानुनमा पुरानै नम्बर मात्रै ब्युतने हो । नागरिकता पुनः नयाँ जारी हुने हो । नेपालमा नागरिकतासम्बन्धी कानुनमा ‘नेपाली नागरिकता पाएका नागरिकले अन्य कुनै देशको नागरिकता लिए नेपाली नागरिकता स्वतः खारेज हुने’ प्रावधान छ । नागरिकता ऐन २०६३ को दफा १० मा नेपाली नागरिकता कायम नरहने प्रावधानमा ‘नेपालको कुनै नागरिकले आफू खुसी कुनै विदेशी मूलको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने’ उल्लेख छ ।

सोही दफाको उपदफा (२) मा ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकेबमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गरेको मितिदेखि नागरिकता कायम नरहने’ उल्लेख छ । नेपाल नागरिकता नियमावली–२०६३ को नियम ११ मा ‘त्यागेको नागरिकता कसरी प्राप्त गर्ने ?’ भन्ने उल्लेख छ ।

सो प्रावधानअनुसार ‘नागरिकता ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशी नागरिकता त्यागेको निस्सासहित निजलाई पहिला प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनुसूची ११ को ढाँचामा निवेदन दिनुपर्ने’ उल्लेख छ । सो सूची भनेको पहिलोपटक नेपाली नागरिकता लिँदा बुझाउनुपर्ने फारम हो । तर, उनले प्रतिलिपि नागरिकताका लागि फारम नबुझाई पुरानै नागरिकता चलाइरहेका छन् ।

१९ मंसिर २०७९, सोमबार ०७:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा