Play

एभरेस्ट एफएमको दोश्रो वार्षिकोत्सव, मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने

गुरुकुल खबर


पोखरा ,  पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले मानव सेवा आश्रम पोखरा–२५ हेमजाका लागि एउटा कोठा निर्माण गरिदिने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने घोषणा गरिएको हो ।

आश्रम प्राङ्गणमै आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा पाँच लाख रकम मध्ये पहिलो किस्ता स्वरुप १ लाख रुपैयाँ शनिबार हस्तान्तरण गरेको छ । कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रमका पोखरा प्रमुख होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गरेकी हुन् ।

यसअघि एफएम सञ्चालन शुभारम्भको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले गत वर्ष खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।

यसैबीच, एफएमले दोश्रो वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमपनि गरेको छ । कार्यक्रममा एफएमका प्राविधिक प्रमुख पञ्चसुबा गुरुङ (दीलु) बेष्ट स्टाफ अफ दी ईयर घोषित भए । उनलाई नगद रकम १५ हजार ६ सय ७५ रुपैयाँसहित दोषल्ला, माला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

अध्यक्ष कर्मकुमारी गुरुङ, प्रमोटर दीपक कार्की, प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठ, टेक्निकल डाइरेक्टर रविभुषण पराजुली, समाचार प्रमुख सन्देश श्रेष्ठ, जुना थापा लगायतले नगद रु १५ हजार ६ सय ७५ सहित दोसल्ला, ताम्रपत्र र दोषल्लाओढाएर सम्मान गरेका थिए ।

यसैबीच, एफएमका प्रमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंकका प्रोप्राइटर दीपक कार्कीले रेडियोको परोपकारी कामबाट प्रभावित भई मानव सेवा आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गरिदिने घोषणा गरेका छन् । उनले त्यसका लागि ५ लाख ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त रकम केहि दिन भित्रै हस्तान्तरण गर्ने उनले बताए ।

पोखरा २५ हेम्जा बाबियातरामा संचालित आश्रमको अहिले भवन निर्माणाधिन अवस्थामा छ । आश्रमको भवन निर्माण सम्पन्न गर्न अक्षयकोष श्रीबृद्धिको लागि “मानवताको लागि संगीतिक यात्रा” भन्ने नाराका साथ पोखरामा यहि पुष १२ गते नेपथ्य लाईभ कन्सर्ट हुँदैछ । कन्सर्ट पोखराको नयाँबजार स्थित प्रदशनी केन्द्रमा हुने आश्रमका प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

१३ मंसिर २०७९, मंगलवार २२:०५ मा प्रकाशित
Nabintech