Play

प्रदेश खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई सम्मान गर्ने

गुरुकुल खबर


पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

यहि मंसिर १८ गते पोखरा रंगशालामा एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागिएको हो । प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलका अनुसार खेलाडी संगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत नगद सहित सम्मान गरिने छ ।

गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ काश्य पदक हासिल गरेको थियो । ३९ वर्ष पछि गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गर्दै सातै प्रदेश मध्ये प्रथम तथा समग्र नतिजामा चौथोस्थान प्राप्त गरेको थियो ।

परिषदले मंसिर १८ गते ११ बजे पोखरा रंगशालामा एक कार्यक्रम गरी खेलाडी संगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई सम्मान गर्ने जनाएको छ । गण्डकीले १२ खेलमा ३२ स्वर्ण प्राप्त गर्ने ७२ जना खेलाडी, १४ खेलका ३१ रजत प्राप्त गर्ने ९२ जना र २५ खेलबाट ५८ रजत पदक प्राप्त गर्ने १६१ जना गरी कुल ३२५ खेलाडी सम्मानित हुनेछन् ।

त्यसै गरी पदक विजेता प्रशिक्षक ४६ र व्यवस्थापक ३५ जना गरी ८१ जना संगै २८ खेलसंघहरु समेत सम्मानित गर्न लागिएको परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले जनाए ।

नवौं राष्ट्रिय खेलकुदमा गरी गण्डकी प्रदेशबाट रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई सम्मान गरिने छ । जागृतले आफ्नै नाममा रहेको कम्पाउण्डतर्फको इभेन्टमा सातौं राष्ट्रिय खेलकुदको राष्ट्रिय रेकर्ड व्रेक गरेका थिए । सातौंमा उनले ६८९ अंक प्राप्त गरी रेकर्ड राखेका थिए भने नवौंमा उक्त रेकर्ड तोड्दै ६९८ अंक हासिल गरे । यस संगै उनले सिंगल्स र टिमतर्फ स्वर्ण र मिक्सतर्फ रजत पदक जितेका थिए ।

परिषदले आर्थिक वर्ष २०७९÷०८०का लागि विनियोजित बजेट ४० लाखले खेलाडीहरुलाई सम्मान गर्न लागिएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिए ।

१३ मंसिर २०७९, मंगलवार २१:०२ मा प्रकाशित
Nabintech