Play

अघिल्लो पटक प्रदेशमा खुम्चिएका कांग्रेसका पौडेल यसपटक काठमाडौं- ५ मा उदाए

गुरुकुल खबर


काठमाडौं, मङ्सिर ६ गते । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक सांसद पदमा निर्वाचित भएको छन् ।

काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल  १५ हजार २३७ मत ल्याएर विजयी भएकोहुन ।  निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ मत पाए ।

वि.स. २०३१ सालमा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका (हालको) वडा नं ८ मा जन्मिएका प्रदीप पौडेललाई सानैदेखि राजनीति मोह थियो । सिद्धार्थ बनस्थली इन्स्च्यिूडमा अध्ययनका क्रममा १५ बर्षको कलिलो उमेरमै (२०४६ सालको) पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सक्रिय थिए ।

ठमेलस्थित अस्कल क्याम्पसमा आइएसी र बिएसीको अध्ययन गरेका पौडेलले २०५९–०६२ मा संयुक्त बिद्यार्थी आन्दोलनको संयोजक हुँदा राजद्रोहको मुद्दा खेपेका थिए । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनले (अनेरास्ववियू) एकछत्र राज गर्दै आएको अस्कल क्याम्पसमा स्ववियु सभापति बनेर २०५३ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको बिजयको झण्डा गाडेपछि पौडेलको राजनीतिले थप उचाइ लिएको थियो ।

विद्यार्थी तहको विभिन्न नेतृत्व लिंदै राजनीतिमा उदाएका पौडेलले स्ववियू सभापति जितेको १० बर्षमै नेबिसंघको अध्यक्ष जस्तो गरिमामय पदमा चयन भए । यसबीचमा उनले नेपाल विद्यार्थी संघको केन्द्रीय समितिका विभिन्न तहमा बसेर काम गरिसकेका थिए ।

विद्यार्थी राजनीतिमा सक्रिय रहेका पौडेलले विद्यार्थीका विभिन्न मुद्दामा आवाज उठाए । एक विधालय–एक पुस्तकालय अभियान, “सार्बजनिक बिधालय सुधार” अभियान, “हरेक बिधालय इन्टरनेट सेवा एवं ई–लाईबेरी” अभियान, शैक्षिक गुणस्तर बृद्धीको निम्ति दर्जनौ कार्यशाला र गोष्ठी संचालनमा हालसम्म पनि उनको सक्रियता उस्तै छ ।

हजारौँ गरीब जेहेन्दार विधार्थीका लागि निःशुल्क छात्रवृत्ति र शैक्षिक सामग्री प्रबन्धको व्यवस्था मात्र नभई हाल विद्यार्थीले सार्बजनिक गाडीमा पाउँदै आएको ४५ प्रतिशत छुटको व्यवस्था गराउन समेत पौडेल सफल रहे ।

गत २०७४ सालको प्रदेश सभा निर्वाचनमा ५ मतले पराजीत हुँदै गण्डकी प्रदेश सभामा प्रवेश नपाएका पौडेलले यसपटक काठमाडौं–५ मा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलाई फराकिलो मतान्तरले हराउँदै प्रतिनिधि सभाको यात्रा पक्का गरेका छन् ।

५ मतको पराजयले पौडेलको सांसद पद मात्र रोकिएन् बाम गठबन्धनको फुटले मुख्यमन्त्री बन्ने सुनौलो अवसर समेत गुमाए । प्रदेश सभा निर्वाचमा बिजयी भएको खण्डमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पौडेलले बाजी मार्न सक्ने कांग्रेसी नेताहरुको अनुमान थियो । पौडेलले २०६७ देखि हालसम्म तीन कार्यकालसम्म नेपाली कांग्रेसको केन्द्रीय सदस्यको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

त्यती मात्र नभई नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका पौडेलले पराजय भोग्नु पर्‍यो । आफ्नै गुटभित्रको असहयोग र युवालाई पार्टीमा प्रवेश नदिने पुराना पुस्ताको चलखेलका कारण पराजय भोगेका पौडेललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरे । आफ्नै सहकर्मी दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा बिजयी बन्दा आफु पराजीत भएका पौडेलले पार्टीमा युवाको हस्तक्षेप हुनुपर्ने मत समेत राख्दै आएका छन् ।

बर्तमान संविधान निर्माणमा भएको ढिलासुस्ती बिरुद्ध दवाव दिन मेची–काली अभियानको नेतृत्व गरेका उनले प्रबिधि मैत्री कांग्रेस निर्माणको निम्ति नेपाली कांग्रेस डिजिटल एपको निर्माण पनि गरे ।

यस्तै, २०७२ मा विनासकारी भुकम्प प्रभावित क्षेत्र र जिल्लामा १७०० भन्दा बढी अस्थायी घर एवं पक्की बिधालय भवन निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै तत्काल राहत र उद्धारमा युवा परिचालन गरेका थिए । यस्तै, कोरोना भाइरसको चपेटामा परेका कोभिड संक्रमितलाई रगतको सहजताको लागि प्लाज्मा एपको निर्माण र बिरामीका लागि ३०० बेड भन्दा बढी क्षमताको आइसोलेसन कक्षको स्थापना गरेर जनताको साथमा रहे ।

तनहुँ-२ आफ्नो जन्मथलोको बिकासमा समेत सक्रिय रहेका पौडेल त्यहींबाट चुनाव लड्न चाहेका थिए । तर, तनहुँ २ मा पार्टीले टिकट नदिंदा अघिल्लो पटक प्रदेशमा खुम्चिएका पौडेलले यसपटक काठमाडौं ५ मै निर्वाचन लड्ने आँट गरे र बिजयको झण्डा पनि गाड्न सफल भए ।

७ मंसिर २०७९, बुधबार ०९:२१ मा प्रकाशित
Nabintech