Play

कास्कीमा सत्तारुढ गठबन्धन दलका उमेदवार पनि चुनावी दौडमा तिव्रता दिंदै

गुरुकुल खबर


पोखरा, आसन्न निर्वाचनका लागि कास्की जिल्लाका ३ वटा निर्वाचन क्षेत्र सहित देश भर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उमेदवारी दिनेहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन ।

कास्कीका ३ क्षेत्र र ६ प्रदेश गरि ९ सिट मध्ये कांग्रेस र माओबादी दुवै पार्टीले बराबर अर्थात ४ / ४ सिट लिएको र एक सिट अर्थात कास्की -२ मा नेकपा नेकपा एकीकृत समाजवादीले लिएकोप छ ।

यसरी सत्ता गठबन्धनका उमेदवार हरुपनि यतिबेला चुनावी दौडमा सक्रियता पुर्वक लागेका छन्

चुनावपछि भूमिहिन र अव्यवस्थित बसोबासीलाई रातोपूर्जा- उम्मेदबार बराल

आसन्न प्रनितिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बरालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छिट्टै अन्त्य गरिने बताएका छन् । चुनावी घरदैलो तथा अभियानका क्रममा आज पोखरा महानगरपालिका–१ मा भएको सम्पर्क कार्यालय उद्घाटन तथा कोणसभामा उनले वडाका कसेरी, सिमपानी लगायतका स्थानमा बसोबास गरिरहेका वास्तविक भूमिहिन र अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्रदान गरिने बताए ।

भूमि सम्बन्धी समस्या समाधानका लागि वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेर सो आयोगले अव्यवस्थित बसोबासी , भूमिहीन र भूमिहीन दलितको लगत सङ्कलन गरेर निस्सा प्रदान गरेकाले वास्तविक भूमिहिनले रातोपूर्जा प्राप्त गर्ने बताए ।
उम्मेदवार बरालले भने,“संविधानको भावना अनुसार पनि अब यो देशमा कोही पनि भूमिहिन हुनु पर्दैन । सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको छ । चुनावपछि यो समस्या सदाका लागि अन्त्य गर्ने गरी काम हुन्छ ।”

सिमपानी र कसेरी बासीले सेती नदीको हालको ५० मिटर मापदण्डका कारण आफूहरु मर्कामा परेको गुनासो गर्दै मापदण्डलाई केही खुकुलो पार्न आग्रह गरेका थिए । उम्मेदवार बरालले त्यसका बारेमा अध्ययन गरेर जनतालाई सहज बनाउने प्रतिवद्धता जनाउँदै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका बरालले कसेरी खेल मैदान र टुँडिखेल खेल मैदानलाई स्तरोन्नति गरी क्षेत्रीयस्तरको खेल मैदानका रुपमा विकास गर्नका लागि पहल गर्ने बताए । उनले भने,“अहिले पनि प्रदेश सरकारबाट बाटो, खानेपानी, विद्यालय लगायतमा बजेट विनियोजन गरी आवश्यकता पूरा गर्ने प्रयास गरेका छौँ। यस क्षेत्रका समस्याप्रति जानकार रहेकाले आगामी दिनमा तिनलाई पूरा गर्न लाग्नेछौँ ।”

कास्की निर्वाचन क्षेत्र नं ३(१)का गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीले जनताका आवश्यकता पूरा गर्नु स्थानीय, प्रदेश र संघीय सरकारको दायित्व रहेको बताए । सो क्षेत्रमा विकासका बाँकी काम पूरा गर्ने जिम्मेवारी आफूले लिने उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ एवं संविधानसभा सदस्य शारदा पौडेलले गठबन्धनका दलका नेता कार्यकर्ताले इमानदारी पूर्वक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने बताइन् ।

उनले भनिन्,“गठबन्धनका उम्मेदबार कुनै एक दलका मात्र होइनन्, पाँच दलका साझा उम्मेदवार हुन् । उनीहरुलाई विजयी गराउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्नु आवश्यक छ ।”

कार्यक्रममानेपाली काँगेसका वडा सभापति अमृतलाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का रुद्र लुईटेल, नेकपा(एकीकृत समाजवादी)का ऋषि पौडेल, नेपाली काँग्रेसका निर्वतमान वडा सभापति टंकनाथ पौडेल लगायतले वडामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि नियमित प्रचार प्रसार गरिने बताएका थिए ।

घरदैलोमा नेकपा(माओवादी केन्द्र)बाट समानुपाति उम्मेदवार सोमति गुरुङ, साशा आले, बखानसिँह गुरुङ लगायत गठबन्धनका दलका प्रदेश, जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्ता सहभागी थिए । उम्मेदवार सहितको प्रचार प्रसार टोलीले वडाका बागबजार, नयाँगल्ली, हरिचोक,सिमपानी, टुँडिखेल, कसेरी लगायतका क्षेत्रमा घरदैलो सहित संविधानका रक्षाका लागि साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।

आफ्ना प्रतिवद्धता पूरा गरेरै छाड्छु – उम्मेदवार बराल

नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धताहरु पाँच वर्षमा पूरा गरेरै छाड्ने स्पष्ट पारेका छन् ।

संयुक्त गठवन्धन निर्वाचन परिचालन समिति पोखरा महानगरपालिका वडा नं. ५ मा आयोजित संयुक्त चुनावी भेलालाई संवोधन गर्दै उम्मेद्वार बरालले यस्तो प्रतिवद्धता जनाएका हुन् । साथै उनले आफ्नो ध्यान सुशासनसहितको विकासमा केन्द्रित हुने भन्दै पोखरा–५ लाई कृषि पर्यटनसंग जोड्का लागि आफूले प्रयास गर्ने स्पष्ट पारे ।

पोखरा–५ कृषिका लागि उर्वर भूमि भएकाले कृषि पकेट क्षेत्र बनाउन पनि आफ्नो चाहना रहेको उनले बताए ।

पोखरा महानगरभित्रै केही सडक अझै पनि धुलाम्मे अवस्थामै रहेको उल्लेख गर्दै उनले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे । पोखरा फेवातालकै कारण पोखरा भएको उल्लेख गर्दै उनले फेवातालले सबैलाई फाइदा दिएकोले यसको संरक्षण अपरिहार्य भएको बताए ।

उनले भने, ‘सबै पोखरेलीलाई एकतावद्ध बनाएर फेवातालको समस्या समाधान गर्नुपर्छ । परिवर्तन र विकासमा सबैले साथ दिनुपर्छ ।’प्रदेशको प्रभावकारिताका विषयमाथि प्रश्नचिन्ह खडा भएको भन्दै उम्मेदवार बरालले आगामी दिनमा जनतामा आशा जगाउनेगरि काम गर्ने स्पष्ट पारे ।

आफूले सरकारी जिम्मेवारीमा रहँदा पनि जनताको सेवा गरेको भन्दै उनले अहिले पनि जनताकै पिर, मर्का र भावना बुझेर काम गर्नकै लागि चुनावी मैदानमा होमिएको बताए । उनले भने, ‘जनताको मतको अपमान कहिल्यै पनि गर्दिन, इमान्दार भएर काम गर्नेछु, मत खेर जान दिन्न र आफ्नो प्रतिवद्धता पूरा अवश्य गर्नेछु ।’

कार्यक्रममा कास्की–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रामजी प्रसाद बराल जीवनले जनताका प्रत्येक दुःख सुखमा साथ दिने बताए । कास्की क्षेत्र नं. ३ संयुक्त गठवन्धन निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गठवन्धन देशको आवश्यकता भएकाले गठवन्धनका उम्मेद्वारलाई जसरी भए पनि जिताउन आवश्यक रहेको स्पष्ट पारे ।

एकीकृत समाजवादी पार्टीका नेता पुष्पराज बरालले उम्मेद्वारहरुले जनताका समस्यामा ध्यान दिन आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका वडा सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रकाश कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता पोषनाथ शर्मा, नेकपा एसका गण्डकी संयोजक प्रेम पौडेल, माओवादी केन्द्रका सचिव नवराज कोइराला लगायतले बोलेका थिए ।

हिजो नीति बनाईयो, अब पालो विकास र समृद्धिको- उम्मेदवार थापा

कास्की जिल्ला क्षेत्र नं २(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले विगतको पाँच वर्ष गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन नीति बनाएको र अब पालो विकास र समृद्धिको भएको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं. ९ का मतदातासँग भेटघाट गर्दै उनले प्रदेश सरकारले बनाएको नीतिमा टेकेर विकासका अवधारणाहरुलाई सहज तरिकाले पुरा गर्ने जिम्मेबारीका साथ आफु चुनावी मैदानमा होमिएको उल्लेख गरे । ‘हिजो नीति बनाऔं अब पालो विकास र समृद्धिको हो । गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन आवश्यक नीति बनिसकेको छ । जसले अब सरकारलाई अगाडि बढ्न सहजता हुनेछ ’, उनले भने ।

थापाले अब आफु निर्वाचित भएपछि सरकारबाट प्राप्त गर्ने तलब भत्ता बापतको सेवासुविधा नलिने घोषणा गरेका छन् । ‘मैले २०७४ सालको निर्वाचनमा पनि तलब भत्ता नलिने घोषणा गरेको थिए । जसलाई पाँच वर्षे कार्यकाल भरि नै इमानदारिता पूर्वक कार्यान्वयन गरे । अब पनि म कुनै तलब भत्ता सुविधा आफ्नो र परिवारको लागि खर्च गर्ने छैन । सबै सामाजिक सेवामा नै खर्च हुनेछ ।’ उनले भने ।

सुशासन, पारदर्शिता र भ्रष्टचारमा शुन्य सहनशिलता आफ्नो प्रमुख नारा रहेको अभिव्यक्ति उनको छ । प्रदेशलाई विकासको बाटो तर्फ अग्रसरता दिलाउने गरी आफ्ना योजनाहरु रहेको भनाई उनको छ । शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशिलता, कृषि, पर्यटन लगायतका क्षेत्रलाई आत्मसाथ गर्दै भुगोल सुहाउँदो विकासमा लाग्ने प्रतिबद्धता उनको छ ।

उनले आफु सपना बाड्ने उद्देश्य स्वरुप राजनीतिमा नआएको बताएका छन् । प्रदेशको आर्थिक स्तरलाई उकास्ने योजना स्वरुप आफ्ना कदमहरु अगाडि बढेको भनाई उनको छ ।

उद्यमीलाई हौस्याउँदै उम्मेदवार कोइराला

पोखरा, चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर माओवादी केन्द्रका नेता दीपक कोइरालाको मत भत्भति पोल्छ । युवालाई आफ्नै भूमिमा अड्याउँने उपाय उनीसँग छ । तर त्यसका लागि संघ, प्रदेश र स्थानीय तहले उद्यमशिलता प्रवद्र्धन गर्ने नीति बनाउन जरुरी छ । नीति निर्माणको महत्त्वपूर्ण तहमा पुगेर युवा शक्तिलाई आफ्नै परिवारसँग बस्ने वातावरण बनाउने उनको सपना छ ।

गण्डकी प्रदेशसभामा पुगेर उद्यमशिलता र युवा स्वरोजगारलाई प्रवद्र्धन गर्ने नीति बनाउन उनी कास्की निर्वाचन क्षेत्र १(१) मा उम्मेदवार बनेका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट उनी प्रदेशसभा सदस्यको उम्मेदवार हुन् ।

आफ्नो क्षेत्रमा चुनावी प्रचारप्रसारका क्रममा उनले मत मात्रै मागेका छैनन्, युवा उद्यमीलाई हौस्याएका पनि छ । सानादेखि मध्यस्तरका उद्यमि, कृषकलाई उनीहरुकै घरसम्म पुगेर प्रशंसा गर्छन् । उद्यमलाई विस्तार गर्दै थप रोजगारी सिर्जना गर्न हौस्याउँछन् ।

बुधबार पोखरा–२६ मा घरदैलोको क्रममा उनले उद्यमी, कृषक, स्वरोजगार व्यवसायीसँगको भेटलाई प्राथमिकता दिए । ‘सरकारले उद्यमी उत्पादन गर्न नीति मात्रै बनाएर पुग्दैन, व्यवहारिक रुपमै सहयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘उद्यम सुरु गरिसकेपछि त्यसलाई जोगाउने उपायको पनि खोजी हुनुपर्छ ।’

उनी युवादेखि वृद्धवृद्धासम्मलाई भेटेर आफूलाई जिताउन आह्वान गरिरहेका छन् । बुधबार उनले वडा नम्बर २६ का भवानीचोक, जलधारे, सक्नेरी, मिजार समाज, उज्ज्वल आमा समूह, वृद्ध आमा समूह, खरानेचोक, शान्तिप्रिय आमा समूह, गुँदेताल चोक पुगेर मतदातासँग भेटघाट गरे ।

उनले आफू निर्वाचित भएपछि स्थानीय कृषक, उद्यमी, व्यवसायीको हीत हुने गरी कानुन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । विकास निर्माणका योजना समेत कुनै पक्षपात नगरी आवश्यकताका आधारमा बाँडफाँट गर्ने प्रतिवद्धता उनले दोहो¥याए ।
चुनावी भेटघाटमा कांग्रेसकी प्रदेश सहमहामन्त्री कोपिला रानाभाटले यसपल्ट दीपक कोइरालाले लोकप्रिय मतका साथ चुनाव जित्ने बताइन् ।

‘स्थानीय चुनावमा पनि हामीले गठबन्धन ग¥यौं,’ उनले भनिन्, ‘त्यसबाट पाठ सिक्दै अबको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनु हामी सबैको दायित्त्व हो ।’ घरदैलेमा माओवादी केन्द्रबाट प्रदेशसभाको समानुपातिक सूचीमा रहेका नेता झलकपाणि तिवारी, माओवादी केन्द्रका अनुसन्धान आयोगका सदस्य कोमलनाथ बराल, कांग्रेसका वडा सभापति शिवबहादुर रानाभाट, माओवादी केन्द्रका वडाध्यक्ष मेघराज भण्डारी लगायतले एकतावद्ध भएर गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरे ।

पोखरा ३३ बाट बाइपास रोड निर्माण गर्ने योजना छ- लामिछाने
कास्की निर्वाचन क्षेत्र नं २ ‘क’ का गठबन्धन तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने पोखरा ३३ बाट बाइपास रोड बनाउने योजना रहेको बताएका छन् ।  पोखरा ३३ कालिकास्थानमा ५ दलिय गठबन्धनको प्रदेश सभा र प्रतिनिधी सभाको सम्पर्क कार्यालयको उद्दघाटन गदै उनले बाइपास रोडको योजना सुनाएको हुन ।
आफु पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष हुँदा उक्त क्षेत्रमा रिङ रोडको योजना सहित बाइपास रोडको अध्यन गरेको सुनाए । कोत्रोबाट पोखरा ३३ मा जोडेर बागमारा लगायतका क्षेत्र हुँदै बिरैटा हुँदै स्याङ्जा जाने बसको लागि रोडको परिकल्पना गरेको बताएका छन् । आफु प्रदेश सभाको उम्मेदवार रहेको सुनाउदै उक्त योजना आफपुले पुरा गर्ने सुनाएका छन् ।
लामिछाने  उपत्यका विकास समितिको अध्यक्ष भएर काम गर्दा नै चक्रपथ र बाइपास रोडको योजना रहेको उनले सुनाए ।
उनी ४० वर्ष अघि देखी पोखराका विभिन्न संस्थामा बसेर सामाजिक काम गर्दै आएका छन् । उनी पोखरा नगर विकास समितिको अध्यक्ष, अंमरसिंह मावीको अध्यक्ष, सेति नदी संरक्षण समितिको संयोजक, औद्योगिक समिति, कवि लेखनाथ पौडेलेको संग्रालय निर्माण समितिको विभिन्न पदमा बसेर काम गरेका छन् ।
गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले पोखरा ३३ हुँदै स्याङ्जा जाने बाइपास रोडको योजना अघि बढ्न तयार रहेको सुनाएका छन् ।  उनले बागमारमा कृषिको पकड क्षेत्र रहेको जानकारी दिदै कृषिका सामान उत्पादन विक्रि वितरण, प्याकेजिङ्, ग्रेडिङ लगायतको काम आफुले गर्ने सक्ने योजना रहेको सुनाए।
साथै केही समयमा अघि  पर्यटन विद्यालय निर्माणको लागि पोखरा ३३ बागमारामा ध्यfन गर्न आएको जानकारी दिदै उक्त विद्यालय निर्माणको लागि आफुले पहल गर्ने सुनाए ।
उक्त कार्याक्रममा नेपाल काँग्रेस क्षेत्र नं २ का सभापती केशव प्रसाद निर्दोशीले गठबन्धनको उम्मेदवार इमान्दर र स्वच्छ रहेको जानकारी दिए । अहिलेको व्यवस्था जोगानको लागि पनि गठबन्धनलाई भोट दिनुपर्ने बताए ।  माओवादी केन्द्रको तर्फबाट सामानुपातिक उम्मेदवार जुविधा खातुन पोखरा ३३ को विकासको लागि पनि गठबन्धनको उम्मेदवारलाई भोट दिनुपर्ने बताइन ।

१७ कार्तिक २०७९, बिहीबार २१:३२ मा प्रकाशित
Nabintech