Play

अस्ताए कास्की कांग्रेसका सदस्य र मर्दी हिमाल पदयात्राका संस्थापक पर्यटन व्यवसायी गौतम (फोटो फिचर)

गुरुकुल खबर


पोखरा, पोखराका युवा पर्यटन व्यवसायी  एवं नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिका सदस्य सुदिप गौतमको भीरबाट खसेर निधन भएको छ । माछापुच्छ्रे गाउं पालिका वडा नं ९ स्थित भीरबाट ख़स्दा उनको निधन भएको हो ।

मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रबार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर गौतमको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौतमले हाइक्याम्पमा होटल सञ्चालन गर्दै आएका थिए । गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको माछापुच्छ गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।
होटल व्यवसायी अर्को एक जना साथीसँग गौतम पानी मर्मत गर्न गएका थिए । गौतमको टाउकोमा चोट लागेको थियो । घटना लगत्तै स्थानीयले उद्धार गरेर ल्याए पनि उनको बाटोमा नै मृत्यु भएको अध्यक्ष क्षेत्रीले बताए ।
उनले पाईप मर्मत गर्न लागेको स्थान वा घटनास्थललाई हेर्दा खतरनक भिर जस्तो नदेखिए पनि गौतम त्यही भिरबाट खस्न गई गम्भीर घाईते बनेको र सम्भवतः घटनास्थलमा नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । माछापुच्छ्रे गाउपालिकाका अध्यक्ष मिन बहादुर गुरुडंका अनुसार घटनास्थलमा घांसे जंगल रहेको र गौतम खस्दा होसमा रहेको भए घांसमा समाएर समेत रोकिन सक्ने जस्तो ठाउं छ तर गौतम त्यहाबाट अझै तल खसेर ढुंगामा बजारिन पुगेको र उनको टाउको र अनुहारमा गम्भिर चोट लागि रक्तस्राव समेत भएकोले घटनास्थलमा नै मृत्यु भएको अनुमान गरिएको हो ।
शुक्रबार सांझ करिव ६ बजे तिर उक्त घटना भएपनि घटनास्थलमा पुग्न घण्टौ लाग्ने भएपछि सोहि दिन बेलुका त्यहा बाहिरबाट मानिसहरु पुग्न सकेनन । गोतमको त्यहा रहेको होटल ट्रैकर्स ईनमा रहेका कामदार सहित अन्यले घाईते अवस्थाका गौतमलाई भिरबाट उद्वार गरि बाटोमा ल्याएको र नजिक स्वास्थ्य केन्द्रमा उपचारकालागि लैजाने प्रयास गर्दा गर्दै उनको निधन भएको आशंका सबैले गरेपछि होटल परिसरमा नै गौतमको शव राखिएको थियो ।
त्यसपछि शनिबार विहान मात्र हेलिकोप्टरमा प्रहरी , गाउपालिका अध्यक्ष मिन बहादुर गुरुडं,  उपाध्यक्ष सिता अधिकारी र केही पर्यटन व्यवसायी सहितको टोली मर्दी हाई क्याम्प पुगेर उनको शव पोखरा ल्याएको थियो । गौतमको शबको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरेपछि केही समय नेपाली कांग्रेस कास्कीको प्रांगणमा अन्तिम श्रदान्जलीको लागि राख्ने योजना जिल्ला समितिका केही पदाधिकारी र सदस्यहरुले गरेपनि गौतमको शव रामघाट स्थित अस्पतालबाट सिधा हेम्जा स्थित उनका काकाको घरमा लगेर अन्तिम श्रद्दान्जली अर्पण गरिएको थियो । कतिपय कांग्रेस कार्यकर्ता भने चिप्लेढुंगा स्थित पार्टी कार्यालयमा फ़ुल समेत लिएर प्रतिक्षा गरिरहेको थिए ।
हेम्जा स्थित गौतम परिवारको घरमा नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री यज्ञ बहादुर थापा सहित कास्की कांग्रेसका पदाधिकारी हरु भानु ढकाल, शंकर ढुंगाना र नविन सिग्देलका साथै नेता गंगाधर पराजुली समेतले चारतारे झण्डा ओढाएका थिए ।
एक दशक अगाडी नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका गौतम पार्टीको १४ औं महाधिवेशन बाट नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको सदस्य निर्वाचित भएका थिए । उनको निधनले कांग्रेसले एक प्रतिभावान र सक्रिय राजनीतकर्मी गुमाउनुपरेको नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले बताए ।
त्यसपछि गौतमको शव मर्दी र सेतीको दोभानमा लगेर अन्त्येष्टि गरिएको थियो । त्यहा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुडं सहित नेपाली कांग्रेस नेकपा एमाले , नेकपा माओबादी केन्द्र सहितका दलका कार्यकर्ता एवं पर्यटन व्यवसायीहरु समेत ठुलो संख्यामा पुगेका थिए ।
३५ बर्षिय पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको प्रचार प्रसार र प्रवद्र्धनमा ठूलो भूमिका खेलेका थिए । गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुन् ।
सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व हाइक्याम्पमा मात्र नभई मर्दी पदयात्रा मार्गका फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन्् । पदयात्रा मार्गमा डेढदशक अघि सम्म केवल भैँसीगोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेललगायतका पूर्वाधारले अन्त्य गरिदिएका छन्
तत्कालीन समयमा उपहासको पात्र बने पनि त्यसको पर्वाह नगरी निरन्तर यस क्षेत्रको प्रवद्र्धनमा लागेका गौतमकै पदचाप पछ्याउँदै पछिल्लो समयमा मर्दीमा ठूलो सङ्ख्यामा सुविधा सम्पन्न होटेल बनिसकेका छन् । पोखराबाट नजिकैको पदयात्रा मार्गका रूपमा मर्दीले आफ्नो पहिचान स्थापित गरिसकेको छ
मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत रहेका गौतमको पर्वतीय पर्यटनमा विशिष्ट योगदान रहेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए । “गौतम नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सचिवको जिम्मेवारीमा समेत थिए  “पर्वतीय पर्यटनमा मर्दी हिमाल मात्र नभएर अन्य स्थलको प्रवद्र्धन र विकास गर्नुपर्छ भन्ने उनको सोच थियो ।” माछापुच्छ्रेकै तीन शिरको प्रवद्र्धनका लागि केही महिनाअघि भएको कार्यक्रममा पनि  गौतमको नेतृत्वदायी भूमिका रहेको बताईन्छ
पोखरा–बागलुङ राजमार्गअन्तर्गतको काँडे हुँदै मर्दी हिमालको पदयात्रा गर्ने पर्यटकले पहिलो रात फरेस्ट क्याम्पमा बिताउँछन् । फरेष्ट क्याम्प दुई हजार छ सय मिटरको उचाइमा छ । त्यहाँ रात बिताएका पर्यटक भोलिपल्ट लगभग छ÷सात घण्टाको पदयात्रापछि तीन हजार पाँच सय ५० मिटर उचाइको मर्दी हाइक्याम्प पुग्दछन् ।
हाइक्याम्पबाट बिहान झिसमिसेमा उठेर पदयात्री चार हजार दुई मिटरको भ्यू प्वाइन्ट पुग्छन् र त्यहाँबाट मर्दी हिमाल आधार शिविरसम्म पुगेर फर्कने गर्दछन् । मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार दुई मिटर उचाइको ‘भ्यु प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ ।
कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्गमा अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म बनेका पूर्वाधार तथा थपिँदै गएका सेवा सुविधामा कुनै न कुनै रूपमा गौतमको योगदान रहेको यहाँका व्यवसायी स्मरण गर्दछन् ।
पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गको हाइक्याम्पमा १३ वटा, फोरेष्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा नौवटा, बादल डाँडामा छवटा र डुँडखर्कमा तीनवटा होटेल सञ्चालनमा आइसकेका छन् ।
सन् १९९० देखि २००७ सम्म पदयात्रा मार्गका विभिन्न स्थानमा भैँसीपालन गर्दै आएका व्यवसायीले क्याम्पिङ गरी बस्ने पर्यटकलाई सेवा प्रवाह गरिरहेकोमा त्यसयता भने भने ठूलै सङ्ख्यामा खुलेका होटेलले पर्यटकको चाहनाअनुसार सेवा प्रवाह गरिरहेको छन्  ।
गौतमको निधनले पदयात्रा पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताए । उक्त पदयात्रा मार्ग मात्र नभई गौतमले पर्वतीय पर्यटनसँगै पदयात्रा पर्यटन र वातारणीय संरक्षणमा अतुलनीय योगदान गरेका थिए
गौतमकै पहलमा गत वर्ष मर्दी हिमाल आधार शिविरमा दिगो हिमालयन कोष नामक संस्थाको आयोजनामा पहिलो पटक स्की महोत्सव भएको थियो । मर्दी हिमालमा नै पर्यटन र पर्वतारोहणको प्रयोगात्मक शिक्षा दिनेस्थलका रूपमा विकास गर्ने लगायतका विभिन्न्न योजनासमेत गौतमले अघि सारेका थिए ।

गौतमको परिवारमा बुबा, आमा, श्रीमति, एक छोरी र एक छोरा छन् ।

१७ आश्विन २०७९, सोमबार ००:३६ मा प्रकाशित
Nabintech