Play

कवि रीता अधिकारी ‘ऋतु’ को ‘सेल्फ पोट्रेट’ विमोचन

गुरुकुल खबर


पोखरा । कवि रीता अधिकारी ‘ऋतु’ को कवितासङ्ग्रह ‘सेल्फ पोट्रेट’ शनिबार पोखरामा विमोचन गरिएको छ । साहित्यकारद्वय सरुभक्त श्रेष्ठ र तीर्थ श्रेष्ठले संयुक्तरुपमा ‘सेल्फ पोट्रेट’ को विमोचन गरेका हुन् ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा रीतालाई सुनेको स्मरण गरे ।

कवि रीता समकालीन पोखरेली कविताका एक उदयीमान र प्रतिभासम्पन्न कवि भएको भन्दै गहन काव्यचेत, कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबी भएको बताए ।

कवि तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनुपर्नेमा जोड दिए ।

‘सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो । तथापि सहजकर्म भने हुँदै होइन । कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन’, उनले भने ।

उनले साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कविका रुपमा कवि ऋतुलाई तुलना गरे ।

कवि रमेश श्रेष्ठले रीतालाई आँफैले आँफैलाई कोर्न सक्ने कलाकारका रुपमा देखेको बताए ।

गायिका हरिदेवी कोइरालाले कवि ऋतु सरल,सबै कुरा बुझ्ने आमा जस्तै लागेको बताइन् ।

कवि रीता अधिकारी ‘ऋतु’ ले तीन दशक लगाएर कविताहरुको कृति ‘सेल्फ पोट्रेट’ तयार गरेकी हुन् । कवि ऋतुले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेका अनुभूतिलाई फेरी फेरी पनि कविता कर्ममा उतार्ने बताइन् ।

साहित्यकार जीवनसागर भण्डारीले स्रष्टा चिनारी राख्दै ऋतुलाई समकालीन साहित्य सिर्जनाकर्ममा निरन्तर लागीरहने र अग्रजहरुको सम्मान गर्ने अध्ययनशील प्रतिभा भएको जिकिर गरे ।

कृति समीक्षा गर्दै कवि आख्यानकार सरस्वती प्रतीक्षाले ऋतुलाई समसामयिक विषय चेतमा कलम चलाउन र समय व्यवस्थापन गर्न जान्ने स्रष्टाका रुपमा पाएको बताइन् ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, साहित्यकार दीपक समीप, रीता अधिकारी ऋतु, शिव त्रिपाठी, उपेन्द्र पौडेल लगायतले बोलेका थिए ।

११ बैशाख २०७९, आईतवार १६:२९ मा प्रकाशित
Nabintech