Play

गण्डकीमा प्रदेशमा यस वर्ष ४६ हजारले एसइई दिँदै

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १ सय ९१ विद्यार्थी सहभागी हुने भएका छन् । शुक्रबार सुरु हुने परीक्षाका लागि प्रदेशका ११ वटै जिल्लाका १ हजार ३ सय ४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १ सय ५५, प्राविधिक धारतर्फ ८ सय १५ र ग्रेड वृद्धितर्फ २ सय २१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए ।

परीक्षाका लागि मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २ सय २३ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लाका २ सय ९१ विद्यालयका १० हजार ६ सय २१ विद्यार्थी सहभागी बन्नेछन् । जिल्लाका १ सय १७ सामुदायिक, १ सय ५९ निजी र १५ गुरुकूल तथा गुठी विद्यालयबाट एसइई परीक्षामा परीक्षार्थी सहभागी हुन लागेको जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख नारायण सुवेदीले बताए ।

सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङका ४ विद्यालयबाट ४३ परीक्षार्थी सहभागी बन्न लागेको निर्देशनालयले जनाएको छ । परीक्षा सञ्चालनका लागि २ सय २३ केन्द्राध्यक्ष, ३ सय १२ सहायक केन्द्रध्यक्ष, २ हजार ३ सय ११ निरीक्षक, ४ सय ५८ परीक्षा सहायक, ९ सय २५ कार्यालय सहयोगी र करिब ३ हजार ३ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा २०७८ माघ २४ मा पहिलो संशोधन भई हालसम्म परीक्षा नियन्त्रण कार्यालयबाट हुँदै आएको परीक्षार्थीको मार्क इन्ट्री र नतिजा तयारीको काम अबदेखि प्रदेश शिक्षा विकास निर्देशनालयबाट हुने व्यवस्था गरिएको छ । यसका लागि प्रदेश शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ ।

९ बैशाख २०७९, शुक्रबार ११:३० मा प्रकाशित
Nabintech