Play

चिउँडी साँघु अर्थात जुम्ला जिल्लाको राजारानी पुल

गुरुकुल खबर


सुनिल उलक
सबै पुलहरु बिशेषता बोकेका हुदैनन् । तर कुनै कुनै पुल भने विश्वमा नै बिशेष रुपले चिनिने हुन्छन् । देशले गणतन्त्र पाए पछि कतिपय राजारानीका सालिक नवगणतन्त्रवादीको निशानामा परे पनि एउटा दुर्गम गाउँमा भने एउटा काठे पुलमा राजारानीको सालिक ठिङ्ग उभिएको छ । यो पुलमा राजारानीको काठको सालिक मात्र होइन राजारानीलाई सुरक्षा दिने सुरक्षाकर्मीको पनि सालिक बनाइएको छ । शायद यिनै सुरक्षाकर्मीको सुरक्षाले होला गणतन्त्रको आगमनले देशका बिभिन्न क्षेत्रका राजारानीका सालिक ध्वस्त भएपनि यि सालिक भने ध्वस्त हुन पाएनन् ।
जुम्ला जिल्लाको पश्चिममा रहेको हिमा गाउँपालिकामा रहेको तिला नदीमा रहेको पुलमा राजारानीको मुर्ती कुँडिएको छ । हिमा गाउँपालिका गठन पूर्व यो ठाँउ महावैपाथरखोला गाविसमा रहेको थियो । हुन त जुम्लाका पुलहरुमा काष्ठकलाका नमुनाहरु प्राय भेटिन्छ । यहाँ पुलहरुमा मात्र होइन घरका लिस्नोहरुमा पनि काठका कला देख्न सकिन्छ । जुम्लाको बिशेषता नै काष्ठकलामा देख्न सक्छौ । प्राचिन मुर्तिहरु पनि काष्ठकलाका नमुनाको रुपमा देख्न पाइन्छ ।
जुम्लाको तिला नदीमा रहेको यो काठेसाँघु चिउँडी साँघुको रुपमा प्रख्यात थियो । महाबैपाथरखोला गाउँबाट रारालिही गाउँ जोड्ने सडकमा रहेको यो साँघु चिउँडीमा रहेको हुँदा चिउडी साँघु भनिन्थ्यो । २०५७ सालको फागुनमा गाउँलेको भेलाले यस साँघुमा केही बिशेषता झल्काउने उद्धेश्य स्वरुपमा राजारानीको काठको मुर्ति बनाउने निर्णय भएको थियो ।
फागुनमा निर्णय भए पछि स्थानिय कालीबहादुर तिरुवाले मुर्ति बनाउने जिम्मा पाए । एकातर्फ काँचो काठमा मुर्ति कुड्नु निकै कठिन कार्य थियो भने अर्को तर्फ माओवादी आन्दोलनको उत्कर्षमा राजारानीको मुर्ति बनाउने आँट गर्नु मुर्ख्याइ पनि थियो । चार महिना लाग्यो सगोल मुर्ति तैयार बनाउन । राजारानी तथा सुरक्षाकर्मी सहितको मुर्ति तैयार हुँदा २०५९ सालको जेठ महिना भयो । पुलमा सालिक ठड्याउने निर्णय भएपछि सबै तैयारी तर्फ लागे । यहिँ समय माओवादीको २०-२५ जनाको समुह तिरुवाको घर आइपुग्यो ।
आरन चलाउने कामी, काली तिरुवाले गाउँमा आबश्यक सबै मुर्ति बनाउथेँ । भुन्यादेउता, लाटीबजु, मर्काट्टा सबै बनाउँथे । यहाँ राजारानीको मुर्ति पनि सबैका चाहनाले बनाएका थिए । माओवादीको समुहले काली तिरुवालाई समाएर लग्यो । उनलाई कमाण्डर सामु लगेर निकै सोधपुछ गरियो । जनकारवाही गरिने भन्दै लगिए पनि अन्तमा हाम्रो सत्ता आए पछि हाम्रो काम पनि गरिदिनुपर्छ भन्दै छोडिदिए । उनलाई कुनै कारवाही गरिएन ।
यता राजारानी तथा सुरक्षाकर्मीको मुर्ती पुलमा राख्ने तैयारी हुदै थियो । उता राजधानीमा राजपरिवारको हत्या भयो । राजारानीको हत्या भए पनि गाउँलेले राजारानीको सालिक राख्ने नै निधो गरे । तिरुवाको कला ठडियो । राजधानीमा ढलेका राजारानी चिउडी साघुँमा ठडिए । राजारानी प्रतिको आस्था चिउडीका गाउँलेमा अझ बढि भयो । वास्तविक राजारानीले संसार छोडेर गए तर चिउडीका राजारानी सधैका लागी ठडिए ।
यहाँ राखिएको तस्विरमा पुल पुरानै भए पनि यसमा राखिएको काठको मुर्तिहरु मात्र नयाँ हुन् । यि मुर्तिहरु २०५८ सालमा राखिएका हुन्।

६ श्रावण २०७८, बुधबार ०६:५५ मा प्रकाशित
Nabintech