Play

आफ्नै अभिव्यक्तिका कारण विवादमा हर्क साम्पाङ

गुरुकुल खबर


सुनसरी — धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र २० जना वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीचको विवाद चरम उत्कर्षमा पुगेको छ ।

प्रमुख साम्पाङले स्वेच्छाचारी नीति अपनाएर ‘तोकादेशको आधारमा नगर चलाउँछु’ भनेपछि वडाध्यक्षहरूले गत बिहीबार राजीनामा माग गरे । वडाध्यक्षहरूले राजीनामा मागेको भोलिपल्ट प्रमुख साम्पाङले पत्रकार सम्मेलन गर्दै वडाध्यक्षहरु नसच्चिने हो भने राजीनामा गरेर मार्ग प्रसस्त गर्नुपर्ने भन्दै दबाब दिए । वडाध्यक्षहरूले प्रमुख साम्पाङले स्वेच्छाचारी भएर गैरकानुनी र गैरजिम्मेवार अभिव्यक्ति दिँदै बसेको भन्दै कडा आलोचना गर्दै आएका छन् भने प्रमुख साम्पाङले पनि वडाध्यक्षहरू स्वेच्छाचारी, गैरजिम्मेवार भएको आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।

वडाध्यक्षहरू र प्रमुख साम्पाङबीचको विवाद दुई महिना अघिदेखि चर्किएको हो । गत असोज १३ बसेको कार्यपालिका बैठकमा प्रमुख साम्पाङले धरान १७ को सप्तरंगी पार्कलाई बहुसांस्कृतिक संग्रहालय बनाउने प्रस्ताव राखेका थिए । तर कार्यपालिका सदस्य अनुप देवानले सप्तरंगी पार्कको पहिलैदेखि डीपीआर तयार भइसकेको र त्यसको नाम परिवर्तन नगरी सप्तरंगी पार्क नै राखेर पूर्वकार्ययोजना अनुसार बजेट विनियोजन गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने, बहुसांस्कृतिक जातीय संग्रहालय धरान–१४ मै निर्माण भइरहेको आग्रह गरेपछि प्रमुख साम्पाङले ‘तपाईँको बोल्ने पालो सकियो, अब बस्नुस्’ भनेका थिए । तर आफ्नो कुरो नसकिएकाले नबस्ने र बोल्न दिनुपर्ने अडान लिएका देवानलाई तत्कालै साम्पाङले ‘नबस्ने हो भने निस्केर जानुस्’ भनेपछि विवाद सुरु भएको थियो ।

देवानको समर्थन गर्दै २० जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरूले प्रमुख साम्पाङले जनप्रतिनिधिहरूमाथि निरंकुशता, स्वेच्छाचारिता र अराजकता लाद्न खोजेको आरोप लगाउँदै माफी माग्न आग्रह गरेका थिए । तर साम्पाङले आफूले कुनै गल्ती नगरेकाले माफी नमाग्ने अडान लिएपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बैठक नै बहिस्कार गरे । विवादका कारण कार्यपालिका बैठक बस्न नसकेपछि यसबीच दुई पटक कार्यपालिका बैठक बोलाइएको भए पनि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले प्रमुख साम्पाङ सच्चिएर माफी नमागेसम्म बैठक बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए । पछिल्लो समयमा गत मंसिर २९ मा कार्यपालिका बैठक बसे पनि दुवै पक्षले पुरानै अडान लिएपछि प्रमुख साम्पाङ र वडाअध्यक्ष र कार्यपालिका सदस्यहरूबीचको विवाद मत्थर हुनुको सट्टा झनझन बढ्दै गएको छ ।

साम्पाङलाई कानुनी कारबाही गर्न दलित आयोगको माग

आफ्नै अभिव्यक्ति र गतिविधिका कारण अनेक विवादमा तानिएका धरान नगर प्रमुख हर्कराज साम्पाङलाई राष्ट्रिय दलित आयोगले कानुनी कारबाही गर्न सरकारलाई सिफारिससमेत गरेको छ । आयोगले साम्पाङलाई कानुनी कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरिसकेको हो ।

दलित समुदायलाई अपमान हुने गरी सामाजिक संजालमा ‘चमारे बुद्धि’ भन्ने शब्द राखेर स्टाटस लेखेको प्रसंगमा साम्पाङले दलित समुदायको अपमान हुने गरी अभिव्यक्ति दिएको र आत्मालोचना पनि नगरेको भन्दै कानुनी कारबाही गर्न दलित आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको हो । आयोगले साम्पाङलाई कानुनी कारबाही गर्न सिफारिस गरेलगत्तै उनले सामाजिक संजालमा दलित आयोगविरुद्ध फेरि आक्रोश पोख्दै कारबाही गर्न चुनौती मात्र दिएका छैनन्, आयोग विरुद्ध शनिबार नै लेखेका छन्, ‘कुनै झ्यासझुस आयोग सायोगले मलाई जिताएको होइन । सार्वभौम धराने जनताको म्याण्डेट पाएर आएको नगरप्रमुख हुँ । उसको कारबाहीको माग त उस्स् ।’

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रमुख साम्पाङको अभिव्यक्तिप्रति चासो राख्दै जनप्रतिनिधिको सम्मान स्वरुप अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न प्रेस विज्ञप्तिमार्फत् आग्रह गर्दा उल्टै दलित समुदायलाई अर्ती उपदेश दिने र संविधान, कानुनभन्दा आफूलाई माथि ठान्ने आशयको अभिव्यक्ति फेरि दिएपछि कारबाहीको लागि सिफारिस गरिएको बताए ।

२ पुष २०७९, शनिबार २३:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा