Play

एड्भान्स कुकिङ तालिमका सहभागिलाई प्रमाणपत्र वितरण

गुरुकुल खबर


पोखरा। होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ ।

युएनडीपी अन्तर्गतको सस्टेन्एबल टुरिजम फर लाइभ्लीहुड रिकभरी प्रोजेक्टको सहयोगमा सम्पन्न तालिममा होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी लगायतका अतिथिले तालिमका ४० जना सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

तालिमको समापन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको सन्दर्भमा आयोजित तालिमले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

यसै अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालिन फौजको झल्कोदिने गरी पर्यड आरम्भ गरिने जानकारी पनि उनले दिए । यस्तो पर्यड साँझ अघि हरेक दिन संचालन हुने र यसले पर्यटकलाई भुलाउने वातावरण तयार हुने उनले सुनाए ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटनलाई अगाडि बढाउन सीप, दक्षता र सकारात्मक सोचको आबश्यकता पर्ने भन्दै यसका लागि तालिमले सघाउ पुगेको बताए । तालिम गण्डकीका ११ वटै जिल्लामा संचालन गर्ने योजना रहेको जानकारी दिए । तालिम सम्पन्न गरेका सहभागीलाई आबश्यक परे रोजगारी प्रदान गर्न संघले पहल गर्ने विश्वास पनि उनले दिलाए ।

तालिमले रोजगारीमा समेत टेवा दिई विदेश जान खोज्ने जनशक्तिलाई स्वदेशमा नै रोक्न सहयोग पुग्ने विचार पनि उनले राखे । पोखराको पर्यटनका लागि १५ हजार जनशक्ति आबश्यक पर्नेमा १० हजार श्रमशक्ति कोभिड लगायत विविध कारणले पलायन हुँदा समस्या परेको तथ्यांक पनि उनले दिए ।

होटल संघ नेपाल गोरखाका अध्यक्ष एवं गण्डकीका सचिव मानप्रसाद धितालले रैथाने खानालाई पनि मिठो गरी पकाउन र आन्तरिक पर्यटनलाई जिल्लामा आकर्षित गर्न तालिमले सघाउ पुग्ने विश्वास व्यक्त गरे । होटल संघ नेपाल गण्डकीका सदस्य एवं तनहुँका अध्यक्ष जीवन साहीले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।

तालिमको प्रमुख प्रशिक्षकमा श्याम तामाङ र अर्का प्रशिक्षक एवं आलिदेखि थालीसम्म अभियानका अभियन्ता लक्ष्मण भण्डारी रहेका थिए । सहभागीहरुका तर्फबाट राजु गुरुङ र शर्मिला गुरुङले आफ्ना अनुभव सुनाएका थिए । तालिमकी सहभागी शर्मिला वाग्ले आचार्यले कार्यक्रम संचालन गरेकि थिइन् ।

१६ मंसिर २०७९, शुक्रबार २०:१६ मा प्रकाशित
Nabintech