पोखरा । प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार–२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ ।
पूर्णप्रसाद बराल तथा माया देवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो ।
युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।
समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल थिए ।
पुरस्कार राशि २५ हजार ५२५ रुपैयाँ र सम्मानपत्र छ । सो पुरस्कार एक कार्यक्रमबीच वितरण गरिनेछ । तीन लाख रुपैयाँ अक्षयकोषबाट प्रत्येक दुई वर्षमा युुनियनले गण्डकी प्रदेशमा रहेर कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ ।