Play

मनोनयन दर्तापछि पोउवासंघको चुनावी अभियानमा झनै उत्साह थपिएको उमेदवारहरुको भनाई

गुरुकुल खबर


पोखरा,  पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि पवनकुमार प्रजापति समूहले र अर्जुन पोखरेल समूहले मनोनयन दर्ता गरेको छन्।  उम्मेद्वारी औपचारिक रुपमा दर्ता गरेपछि अभियानमा झनै उत्साह थपिएको प्यानलका उम्मेद्वारहरु बताउँछन् ।

विभिन्न १७ बुंदे घोषणापत्रसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको पवनकुमार प्रजापति समूह  मनोनयन दर्ताका लागि पोखरा उद्योग वाणिज्य संघमा पुगेको बेला समूहलाई ठुलो संख्यामा मतदाता उद्योगी व्यवसायीहरुले स्वागत गरेका थिए । साथै मनोनयन दर्ताको क्रममा पोखरा उद्योग वाणिज्य संघ परिसरमा पुगेका उद्योगी व्यवसायीहरुले पवन प्रजापति समूहलाई जितको अग्रिम शुभकामना समेत दिएका थिए ।

यसै गरि अर्जुन पोखरेल नेतृत्वको प्यानलले पनि मनोनयन दर्ता गराएको छ । ‘पहिले सहायक पदका लागि उम्मेद्वारी दिएर चुनावमा होमिएको थिएँ । अहिले नेतृत्वका लागि तयारी गरेको छु,’ अध्यक्षका उम्मेद्वार पोखरेलले भने, ‘टीम लिएर मनोनयन दर्ता गरेपछि उत्साह बढेको छ । चुनाव जित्ने विश्वास थपिएको छ ।’ गण्डकी क्षेत्रकै जेठो सामाजिक संस्थाको नेतृत्वमा दावी गर्दा उर्जा मिलेको उनले सुनाए ।

मनोनयन दर्तापश्चात प्रजापति समूह घरदैलोका लागि हेमजातर्फ लागेको थियो । हेमजाको मिलनचोक, सुईखेत लगाएतका स्थानका उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष भेट गरि आफ्नो पक्षमा मत मागेको टोली त्यसपछि लेकसाईडका व्यवसायीहरुको घरदैलोमा पुगेको थियो । शुक्रबार विहान पृथ्वीचोक क्षेत्रमा घरदैलो गरेको पोखरेल नेतृत्वको टोलीले  पनि साँझ लेकसाइडमा घरदैलो गरेको हो

‘घरदैलोको क्रममा मेरो टिमप्रति उद्योगी व्यवसायीहरुको जुन विश्वास देखिएको छ, त्यसलाई आधार मानेर हेर्दा मैले प्रशस्तै मत पाउने कुरामा दुईमत छैन ।’ प्रजापतिले भने -‘तर म निर्वाचित भएर काम गर्नलाई उहाँहरुले मलाई मनैदेखि सहयोग पनि गर्नुपर्छ भन्ने म चाहन्छु । त्यसैले मैले हरेक व्यवसायीलाई आफूले मतसँगै मनदेखिको सहयोग पनि मागेको छु ।’ प्रजापतिले आफू र आफ्नो टिम निस्वार्थ रुपमा संघको जीवन्तता र उद्योगी व्यवसायीको लागि अभियन्ता बनेर काम गर्नका लागि चुनावी मैदानमा होमिएको बताए ।

उम्मेद्वारी दर्तापछि पोखरेल प्यानलका उम्मेद्वार पनि पुनः घरदैलोमै मतदाता भेट्न पुगेका छन् , अध्यक्षका उम्मेद्वार पोखरेलले भने ‘मतदाता भेट्छु, उर्जा मिल्छ । २०११ सालदेखि अग्रजहरुले जोगाएको विरासत कायम गर्दै आफ्नो तर्फबाट अझ नयाँ काम गर्ने अठोट लिएको छु,’ उनले अघि भने, ‘पोखरा उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पु¥याउने विश्वास लिएको छु । विगतका चुनाव भन्दा मेरा लागि विल्कुल फरक अनुभव भैरहेको छ ।’

पोखरेल नेतृत्वको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) ले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गराए ।

अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

। चुनावको मिति नजिकिएकोले मतदातालाई भेटेरै गुनासो सुन्ने र मत माग्ने काममा ब्यस्त भएको पोखरेल नेतृत्वको  बरिष्ठ उपाध्यक्ष उम्मेद्वार सापकोटाले बताए । ‘अब केही दिन छ । सकेसम्म धेरै मतादाता भेटेर आफ्ना एजेण्डा सुनाउनुपर्ने छ,’ उनले भने, ‘प्रत्यक्ष रुपमै भेटेर मत माग्दा उनीहरुको समस्या पनि सुन्न पाइन्छ । भोली संघमा पुगेपछि उद्योगी व्यवसायीकै समस्या समाधान गर्न लाग्नुपर्छ ।’

उद्योग तर्फका उपाध्यक्ष उम्मेद्वार देवेन्द्र केसीले पोखरेली उद्योगी व्यावसायी कै हक हित र समस्यामा आफ्नो समूह नजिक भएर काम गर्ने बताए । ‘अहिले प्रतिश्पर्धाको मोर्चामा छौं । जितेपछि काम गर्ने उद्योगी व्यवसायीकै लागि हो,’ उनी भन्छन्, ‘सामाजिक संस्थामा समाजसेवाको काम नै गर्न आउने हो । चुनावमा गरिएका प्रतिबद्धता पूरा गर्न लागि पर्छौं ।’

वाणिज्य तर्फकी उपाध्यक्ष कुमारी मुना बास्तोलाले पदाधिकारी तहमा महिला नेतृत्वको खाँचो रहेकोले आफुले उम्मेद्वारी दिएको बताइन् । ‘अधिकांश चुनावमा महिला पदाधिकारी हुँदैनन् । मैले यो हिम्मत गरेको छु,’ उनले भनिन्, ‘म महिला मात्रै भएर होइन, पोखरेली उद्योगी व्यवसायीका साझा उम्मेद्वार भएर प्रतिश्पर्धामा छु ।’ विशेषगरी महिला उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धीको लागि आफुले बढी पैरवी गर्ने उनको भनाई छ ।

महासचिवका उम्मेद्वार केशवबहादुर खत्रीले पहिलेको मनोनयन दर्ताभन्दा यो पटक बढी उत्साहपूर्ण रहेको प्रतिक्रिया दिए । ‘सबै केही गर्न सक्छु भनेर आएका साथीहरु छौं । युवाहरुको जोश छ, अनुभवीलाई पनि समेटेका छौं,’ उनले भने, ‘समावेशी हिसावले पनि हाम्रो टीम राम्रो देखिएको छ । बजारले उत्साह दिएको छ ।’ आफ्नो प्यानलले संघको गरिमा उचो राख्ने गरी संघमा काम गर्ने बताए । कोषाध्यक्ष तर्फका उम्मेद्वार हरिराज पन्त संघलाई सबैको साझा संस्था बनाउने बताउँछन् । ‘सानो लागानीबाट व्यवसाय सुरु गर्नेदेखि ठुलो लगानी गर्ने सबै व्यवसायीहरुको साझा संस्था बनाउने छौं । सबै पोखरेलीको साझा घरका रुपमा संस्थालाई स्थापित गरिने छ,’ उनले भने, ‘विजयी भएर आएपछि कुनै पनि विभेद हुन दिने छैनौं । सबैलाई समान ठानेर समस्या समाधानमा जोड दिने छौं ।’

उप महासचिव पदका उम्मेद्वार हर्क बहादुर अधिकारी ‘मिरज’ ले संघको सचिवालयलाई ¬¬सुदृढीकरण गर्दै सदस्यहरुको घरमै सेवा पु¥याउने प्रणालीको विकास गर्ने बताए । उनले डिजिटल सेवालाई प्रोत्साहन गर्ने बताएका छन् । अधिवेशनको समय नजिकईरहँदा प्रजापति समूहले प्रचारलाई पनि उस्तै तिव्रता दिएको छ। नयाँ पुस्ताका सदस्य पदाधिकारीसहित पाका व्यवसायीहरुसमेत अटाएको यो समूहलाई लिएर उद्योगी व्यवसायीहरु पनि बढि नै आशाबादी देखिएका छन् ।

अध्यक्षको प्रत्यासी रहेका पवनकुमार प्रजापतिले उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेर आफूलाई मत मात्र नभएर मन पनि दिन मतदाताहरुसमक्ष आग्रह गरेका छन् । उद्योगी व्यवसायीको मत त स्वभाविक रुपमा आफूलाई नै आउने विश्वास गर्दै उनले नेतृत्वमा रहेर काम गर्नका लागि मनैदेखि सहयोग गर्न उद्योगी व्यवसायीहरुसमक्ष अनुरोध गरेका हुन् ।

 

१८ भाद्र २०७९, शनिबार २२:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा