पोखरा २४, वैशाख । स्थानीय तहको निर्वाचनको दिन नजिकिदै गर्दा पोखरा महानगरपालिका तथा गाँउपालिका क्षेत्रमा राजनीतिक दलहरुले चुनावी अभियानलाई तिब्रता दिन थालेका छन् ।
नेपाली काँग्रेस पोखरा महानगरापालिका वडा नं १० ले शनिबार अमरसिंहचोकमा चुनावी सभाको आयोजना गर्यो । वडाको प्रत्येक टोलमा मतदातासंग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न पश्चात वडा नं १० ले चुनावी अभियान अन्तर्गत सभाको आयोजना गरेको हो ।
चुनावी सभामा बोल्दै वडा नं १० का वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङले कसैले फैलाएको भ्रमलाई साँचो मानेर लोभ र लालचमा गलत पार्टीलाई भोट नदिन मतदातालाई सचेत गराउँदै राम्रो राजनीतिक पार्टीलाई मात्र मत दिन मतदातासंग आग्रह गरे । ‘नेकपा एमालेले सुकुम्बासीलाई लालपूर्जा दिलाउँछु भन्ने भ्रम फैलाएर मत तान्ने गलत काम गर्दै हिडिरहेको छ’ उम्मेवादर गुरुङले भने ‘भ्रमको खेती नगरे हुन्छ, जनताले तिम्रो खेल बुझिसकेका छन्, भ्रममा पारेर मतदातालाई झुक्याउन सजिलो छैन ।’ प्रत्येक निर्वाचनमा गरिने यस्ता खालको झुटाप्रचारबाजी भाषणले मतदाता नलोभिने उनको दावी छ । उम्मेदवार गुरुङले वडाको सम्मुनत विकासका लागि फेरी पनि एक पटक नेपाली काँग्रेसलाई जिताउन वडाबासी मतदातासंग आग्रह गरे ।
क्षेत्र नं १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस वडा ईकाई समितिका कार्यवाहक सभापति दिपकबहादुर थापाको अध्यक्षतामा सम्पन्न चुनावी सभामा महासमिति सदस्य सरस्वती गुरुङ, काँग्रेस जिल्ला सदस्य चौबहादुर गुरुङ, वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङ, वडा सदस्य पदका उम्मेदवार परमेश्वरबहादुर कार्की, निवर्तमान वडा इकाई सभापति क्या. फत्तेबहादुर गुरुङ, उपसभापति नारायणप्रसाद श्रेष्ठ, सचिव उदिम गुरुङले वडामा सुशासन कायम राख्न तथा अराजकता र तानाशाह प्रवृत्ति अन्त्यका लागि नेपाली काँग्रेसलाई स्थानीय तहमा विजयी गराउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले लोकतन्त्रको पक्षमा वकालत गर्ने र जनताको मतको कदर गर्ने पार्टी नेपाली काँग्रेस मात्र भएको बताउँदै मतदातालाई अमुल्य मत दिन आग्रह गरेका थिए ।
नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका राजेश गुरुङ नेतृत्वमा सदस्य पदका उम्मेदवारहरुमा परमेश्वरबहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली रहेका छन् ।