पोखरा , नेपाली कांग्रेस सहित गठबन्धन दलको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेदवार धनराज आचार्यले प्रतिगमनलाई परास्त गर्दै लोकतान्त्रिक अभ्यास र परम्परालाई जिवीत राख्न आसन्न तिनै तहको निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस पोखरा महानगरसमितिले मंगलवार बेलुका पोखरामा आयोजना गरेको मेयर उपमेयर सहित वडाध्यक्ष र वडासदस्य पदका उमेदवारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै आचार्यले आफु राजनीति र व्यवसायमा निरन्तर लागिरहेकोले मात्र नभएर उमेदवारको योग्यता , क्षमता र जनसम्पर्कका कारण पनि आम महानगरवाशीहरुको माया र साथ मिलिरहेको बताउनुभयो ।
कार्यक्रममा मेयरका उमेदवार आचार्यले पोखराको विभिन्न वार्डको लागि आवश्यक पर्ने प्रचार सामाग्रीहरु झण्डा, चुनाव चिन्ह र घोषणापत्र लगायतका सामाग्री वडा कार्य समितिका सभापतिहरु र वडाध्यक्ष पदका उमेदवारहरुलाई हस्तान्तरण गर्नुभएको थियो।
वहांले प्रतिगमन र केपी ओलीको सर्वसत्ताबादी प्रवृति अन्त्य गर्न गठबन्धनका साझा उमेदवारलाई मत दिनुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो । हामीले सामान्य असन्तुष्टीका कारण मत नदिंदा वा कुनै कारणवश गठबन्धनका साझा उमेदवार भन्दा बाहिर मत दिंदा सर्वसत्ताबादी ओली प्रवृत्तिले टाउको उठाउने भएकोले पनि गम्भीर बनेर मत दिन आचार्यले आग्रह गर्नुभयो ।
पोखरा उपमहानगरमा उप मेयरका साझा उमेदवार नेपाली कांग्रेसकी नेतृ कोपिला रानाभाटले लोकतन्त्र र संविधानको रक्षाका लागि अनि पोखराको विकास नया ढंगले छिटो गर्नका लागि कांग्रेस सहित गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले पोखरालाई तपाईं हाम्रो चाहाना अनुसार बिकास गर्न ,महानगरवाशीलाई शुसासन र पारदर्शी ढंगले सेवा प्रवाह गर्न गठबन्धनका साझा उमेदवारहरु धनराज र कोपिला सहित गाउं पालिका र वडामा समेत त्यही अनुसार मत दिन आग्रह गर्नुभयो ।
यही बैशाख २५ गते पोखरामा हुने चुनावी सभामा प्रधानमंत्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल , नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमंत्री माधव कुमार नेपाल सहित शिर्ष नेताहरुले सम्बोधन गर्ने भएकोले आम नागरिकको उपस्थितिका लागि आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति प्रयागराज भण्डारी लगायतले आआफ्नो भनाई राखेको र नेपाली कांग्रेस महानगर समितिका सचिव गणेश थापाले मेयर उपमेयर पदका उमेदवारहरुसंग वडा तहका उमेदवारहरु र पार्टीका नेताहरुको परिचय र सम्बन्ध सुमधुर बनोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।