पोखरा, पोखराको नदीपुरस्थित कन्या क्याम्पसको ३२औँ साधारण सभा तथा १०औँ अधिवेशनले पोखराका पुराना ब्यबसायी शिवलाल मल्लको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि मल्लको अध्यक्ष रहेको नयाँ समिति निर्वाचित गरेको हो । मल्ल यस अगाडी पनि संचालक समितिको अध्यक्ष रहेका थिए। नवनिर्वाचित समितिको सदस्यमा कृष्णमोहन श्रेष्ठ, राजेन्द्र लालचन, डम्बरकुमारी गुरुङ र कल्याण कर्माचार्य छन ।
निर्वाचन समिति संयोजक प्रा. डा. कृष्णराज अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।नयाँ समिति गठनपछि सञ्चालक समितिका पुर्व सदस्य रविप्रसाद बराल, प्रा. पद्मशरण रेग्मी र प्राडा. कृष्णराज अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष शिवलाल मल्लले प्रतिबद्धतासहित मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले गरेका थिए ।
क्याम्पसको साधारण सभा र अधिवेशन २ सत्रमा विभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो सत्रअन्तर्गत ३२औँ वार्षिक साधारण सभामा क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट पनि सर्वसम्मत पारित भएको थियो ।
साधारण सभामा छात्र कल्याण समिति संयोजक अनु रोका, सभासद् ध्रुव केसी, कन्या क्याम्पस प्राध्यापक संघका सभापति दिननाथ अधिकारी, पोखरा महानगरपालिका–३ का वडाध्यक्ष प्रकाशमान उदास, प्राडा कृष्णराज अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा यस वर्ष आजीवन सदस्यता लिएका ६ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।














