पोखरा, पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा ग्याङफाइट गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २ गते राती साढे १२ बजेतिर लेकसाइडको स्ट्रिट नम्बर १६ मा ग्याङफाइट गर्दै झै–झगडा तथा कुटपिट भएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पोखराको १४ चाउथेका ३० वर्षीय नीरज शर्मा, चाउथेकै २८ वर्षीय विराज अधिकारी, २५ वर्षका टुकबहादुर गुरुङ र २२ वर्षका मनोज पुन छन् । यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका ४ का २३ वर्षीय सन्दीप थापा पनि उनिहरुसंगे पक्राउ परेका छन् ।
घटनामा सलग्न युवाहरुलाई प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत अभद्र व्यवहार सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।














