अमेरिका, अमेरिकामा अहिले मध्यावधि (संसदीय) निर्वाचनमा सर्वसाधारणले विभिन्न राज्यमा मतदान गरिरहेका छन् । स्थानीय समयअनुसार मंगलबार बिहान सबैभन्दा पहिले भर्मन्ट राज्यमा मतदानका लागि बुथ खुला गरिएको थियो । त्यसपछि क्रमश: न्यु जर्सी, भर्जिनिया, कनेक्टिकट, केन्टकी, आलास्का, इन्डियाना लगायतका बिभिन्न राज्यहरुमा मतदान भैरहेको छ निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन अमेरिकी न्याय मन्त्रालयले देशैभरका ५० वटै राज्यमा १ हजार जना निर्वाचन अनुगमनकर्ता परिचालन गर्ने घोषणा मङ्गलबार गरेको थियो । निर्वाचनमा यति ठूलो संख्यामा पर्यवेक्षक खटाइएको यो पहिलोपटक हो ।
यसपटक तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कुल १ सयमध्ये ३५ सिटका लागि प्रतिस्पर्धा भइरहेको छ। यसका साथै देशका ३६ राज्यमा नयाँ गभर्नर चयनका लागि पनि आजै मतदान भइरहेको छ। अमेरिकामा कुल २१ करोड मतदातामध्ये करिब ५ करोड ८० लाखले ‘अर्ली इन-पर्सन’ तथा हुलाक (मेल-इन) मार्फत पहिले नै मतदान गरिसकेका छन् ।
यदि विपक्षी डेमोक्र्याटहरूले संसद्मा बहुमत हासिल गरेमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्ना नीतिहरु कार्यान्वयन गर्न कठिन हुनसक्छ । डेमोक्र्याटहरुले बढ्दो मूल्यवृद्धि र दैनिक जीवनमा देखिएका समस्यालाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । सत्तारुढ रिपब्लिकन पार्टीका उम्मेदवारहरुले आप्रवासनमा गरिएको कडाई र विदेशी राष्ट्रहरुमाथि थोपरिएको भन्सार महसुलले अमेरिकी जनतालाई लाभान्वित बनाउने तर्क गरिरहेका छन् । यस निर्वाचनलाई ट्रम्पको दुई वर्षे कार्यकालको मूल्याङ्कनका रुपमा पनि हेरिएको छ ।
संसद्को नियन्त्रण तय गर्ने प्रतिस्पर्धा
अहिले संसदमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको झिनो बहुमत छ । तल्लो सदन (प्रतिनिधिसभामा २१८–२१४ र माथिल्लो सदन सिनेटमा ५३–४७) ले रिपब्लिकन पार्टी अघि छ । विपक्षी डेमोक्रेटिक पार्टीले यो अवस्थालाई उल्ट्याउन गत निर्वाचनको दाँजोमा प्रतिनिधिसभा र सिनेट दुबैमा कम्तीमा ४–४ सिट बढाउन जरुरी छ ।
अधिकांश, सर्वेक्षणहरुले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत ल्याउने देखाएका छन् । तर, सिनेटको प्रतिस्पर्धा भने रोचक हुने प्रक्षेपण गरेका छन् । यदि एक वा दुवै सदनमा डेमोक्रट्सले जित हासिल गरेमा ट्रम्पलाई अफ्टेरो पर्नेछ । डेमोक्रेट्सहरुले ट्रम्प प्रशासनको नैतिकता, सीमा सुरक्षा÷अध्यागमन कडाइ र इरान युद्ध सञ्चालनका विषयमा छानबिन सुरु गर्ने संकेत गरेका छन् ।
रिपब्लिकनहरूकै बहुमत कायम रहेमा ट्रम्पको पकड थप बलियो हुनेछ । अर्कोतर्फ, भारी पराजय व्यहोर्नुपरेमा भन्सार महसुल (ट्यारिफ) र युद्ध जस्ता अप्रिय नीतिहरूमा पुनर्विचार गर्न दबाब बढ्नेछ । ट्रम्पको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूको एजेन्डालाई पनि यस निर्वाचनले आकार दिनेछ ।
रिपब्लिकनको नियन्त्रणमा रहेका फ्लोरिडा र भर्जिनियाका प्रतिनिधिसभा सिटहरूबाट आउने प्रारम्भिक नतिजाले आगामी संसद्मा डेमोक्रेटिक पार्टीको आकार कस्तो हुनेछ भन्ने संकेत दिनेछ । सिनेटको कडा प्रतिस्पर्धा मुख्यतया ६ देखि ८ वटा सिटहरूमा टिकेको छ । सिनेटमा आफ्नो पकड बनाउनका लागि डेमोक्रेटिक पार्टीले ओहायो, आयोवा, अलास्का र टेक्सासजस्ता राज्यहरूमा रिपब्लिकनको सिट खोस्नुपर्ने हुन्छ । सन् २०२४ को चुनावमा ट्रम्पले यी राज्यहरुमा भारी मतान्तरले जितेका थिए । क्यान्ससमा ट्रम्पले गत निर्वाचनमा फराकिलो जीत हासिल गरेको भएपनि पछिल्ला हप्ताहरूमा त्यहाँ कडा प्रतिस्पर्धा देखिएको छ ।
मतदान र मतगणनामा व्यवधानको आशंका
कडा प्रतिस्पर्धा हुने क्षेत्रमा मतदाताको योग्यता, मतगणना र प्रमाणपत्र प्रमाणीकरणलाई लिएर विवाद हुनसक्ने चेतावनी निर्वाचन अधिकारी हरूले दिएका छन्। लामो लाइन, भोटिङ मेसिनमा खराबी वा दलीय प्रतिनिधिहरूले गर्ने अवरोधका कारण कानुनी झमेला र नतिजा घोषणामा ढिलाइ हुन सक्छ । ट्रम्पको न्याय मन्त्रालयले मतदानको दिन देशभर करिब १,००० पर्यवेक्षक खटाउने योजना बनाएको छ, जुन अघिल्लो मध्यावधिको तुलनामा तेब्बर हो । यसले मतदातामा भय उत्पन्न गराउन सक्ने केही स्थानीय अधिकारीको आशंका छ । तर, पनि न्याय मन्त्रालयले ती त्रास निराधार रहेको दाबी गरेको छ।
नतिजाप्रति ट्रम्पको प्रतिक्रिया
खासगरी रिपब्लिकनले कंग्रेसको नियन्त्रण गुमाएमा ट्रम्पले कसरी प्रतिक्रिया दिनेछन् भन्ने विषय चुनावी रातको सबैभन्दा ठूलो खबर बन्न सक्छ।सन् २०२० नोभेम्बर ४ को बिहान मतगणना नसकिँदै ट्रम्पले आफू विजयी भएको घोषणा गरेका थिए । उनले मतगणना रोक्न आह्वान समेत गरेका थिए । तर, उक्त चुनावमा उनी जो बाइडेनसँग पराजित भए । त्यसपछि उनले चुनाव चोरी भएको आरोप लगाए । चुनावी नतिजाप्रति असन्तुष्ट केही उत्शृंखल ट्रम्प समर्थकले २०२१ जनवरी ६ अमेरिकी क्यापिटल (संसद् भवन) मा आक्रमण गरेका थिए ।
ट्रम्पले अझै पनि २०२२ को चुनाव आफैंले जितेको दाबी गर्छन् । त्यसबेला, भोट चोरेर बाइडेनले आफुलाई विजेता घोषणा गरेको उनको तर्क छ। उनले यस मध्यावधि निर्वाचनको निष्पक्षतामाथि पनि चुनाव अगावै प्रश्न उठाएका छन् । ट्रम्प प्रशासनले राज्यहरूसँग मतदाताको विवरण मागेको छ र गैर–नागरिक समेत मतदानमा सहभागी हुनसक्ने भन्दै अनुसन्धान सुरु गरेको छ ।
मतदाताको उपस्थिति
दुवै दलका मूल समर्थकहरूको उपस्थिति निर्णायक हुने छ। चुनावअघिका सर्वेक्षणहरूमा रिपब्लिकनको तुलनामा डेमोक्रेटिक समर्थकहरू मतदानका लागि बढी उत्साहित देखिएका थिए। तर, युवा, अश्वेत र हिस्पानिक मतदाताहरू राष्ट्रपतीय निर्वाचनको तुलनामा संसदीय निर्वाचनमा कम संख्यामा सहभागी हुने गरेको अमेरिकाको इतिहास छ ।
यी समुहहरु यसपटक बढ्दो मूल्यवृद्धिले चिन्तित छन् । दुबै पार्टीप्रति उनीहरुलाई खासै आशा छैन । प्रारम्भिक मतदान (अर्ली भोटिङ) को तथ्याङ्कमा डेमोक्रेटिक समर्थकहरूको उत्साह उच्च देखिन्छ । तर, रिपब्लिकनहरूले आफ्ना समर्थकहरूले चुनावकै दिन (इलेक्सन डे) मा मतदान बुथमै मत खसाल्ने दाबी गरिरहेका छन् ।
२०२८ को राष्ट्रपतीय दौडमा पर्ने प्रभाव
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा पराजय व्यहोरेपछि डेमोक्रेटिक पार्टीका नेताहरु पपुलिस्ट आर्थिक नीति ल्याउने वा मध्यमार्गी बाटो अपनाउने भन्ने विषयमा दुई पक्षमा बाँडिएका छन् । निर्वाचनमा दुवै पक्षका उम्मेदवारको प्रदर्शनले उनीहरूको आगामी नीतिको परीक्षण गर्नेछ। यसले २०२८ को राष्ट्रपतीय मनोनयनका लागि पार्टीभित्रको प्रतिस्पर्धालाई झन् तीव्र र रोचक बनाउनेछ ।
रिपब्लिकनको आर्थिक वर्चस्वको असर
यस निर्वाचन चक्रमा रिपब्लिकनहरूसँग ठूलो वित्तीय पहुँच (फन्ड) थियो । उनीहरूले डेमोक्रेट्सविरुद्ध आक्रामक विज्ञापन अभियान चलाएका छन्। पार्टी समिति र बाह्य समूहहरूलाई जोड्दा रिपब्लिकनहरू डेमोक्रेट्सभन्दा सयौँ मिलियन डलरले अगाडि छन् ।ट्रम्पले मेगा इन्कमार्फत संकटमा परेका रिपब्लिकन उम्मेदवारहरूका लागि २७७ मिलियन डलरभन्दा बढी चुनाव खर्च गरेका छन् । टेस्लाका सिइओ इलोन मस्कले मात्रै मध्यावधिको क्रममा रिपब्लिकन पार्टीका लागि करिब ३६६ मिलियन डलर खर्च गरेका छन् ।













