पोखरा, पोखराको बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिबल तथा देउसीभैलो प्रतियोगिता आज शुक्रबारबाट सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ द्वारा आयोजित महोत्सबको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उदघाटन गरेका हुन । स्थानीय माछाको बजारीकरण, बेगनास क्षेत्रको पर्यटन प्रवर्द्धन तथा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सब कार्तिक २३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
त्यस अबसरमा बोल्दै महानगर प्रमुख आचार्यले यस्ता महोत्सवको माध्यमबाट बेगनासताल आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार स्थानीय माछाको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३ गतेसम्म महोत्सव सञ्चालन हुने बताइएको छ । गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने बताए । उनले पोखरामा पर्यटकको बसाइ लम्याउन पोखरा र लेखनाथ क्षेत्रमा रहेका नौ वटा तालहरुलाई जोड्नेगरी साइकल लेन सहितको सडक निर्माणको काम सुरु गरिएको जानकारी दिए । उनले बेगनास ताललाई वाटर स्पोर्टस केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले महोत्सवले स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रवर्द्धनसँगै समग्र बेगनास क्षेत्रको पर्यटन विकासमा बल पुग्ने बताए। उनले महोत्सवमा स्थानीय जातका माछा तथा माछापालन सम्बन्धी जानकारीमूलक प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिने बताए।
‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित आयोजित महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको खपत बढाउने र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखेको आयोजकको भनाई छ । महोत्सवबाट बचत भएको रकम तालबाराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको आयोजकले जनाएको छ ।













