Play

कांग्रेस महाधिबेशन: गण्डकी प्रदेश र कास्की जिल्लाबाट केन्द्रीय पदाधिकारी र सदस्यमा को को बन्लान उमेदवार?

गुरुकुल खबर


पोखरा, काठमाडौँमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेसनमा गण्डकी प्रदेशबाट केन्द्रीय समितिको पदाधिकारी एबम सदस्य पदमा उमेदवार बन्ने भन्दै दर्जनौं महाधिबेशन प्रतिनिधिहरुले आंफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । केहीले सामाजिक संजालबाट र कहिले बिभिन्न संचार माध्यमबाट आंफ्नो उमेदवारी घोषणा गरेको छन भने केही नेताहरुले उमेदवारी दिने मनस्थिति बनाएर आन्तरिक तयारी र छलफलमा समेत जुटेका छन।

गण्डकी प्रदेशका बिभिन्न जिल्लाबाट उमेदवारी घोषणा गर्नेहरुमध्ये केन्द्रीय समितिको सदस्य पदको उमेदवार बन्ने चाहना राख्नेहरुको संख्या उल्लेखनीय रहेको छ। केन्द्रीय पदाधिकारी मध्ये उपसभापति र सहमहामन्त्री पदमा उमेदवारी दिने घोषणा केहीले गरेका छन । गण्डकी प्रदेशबाट उपसभापतिको आकांक्षा राख्नेहरुमा निबर्तमान सहमहामन्त्री जिबन परियार, पार्टीका हालका प्रबक्ता देबराज चालिसे, गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र केन्द्रीय सदस्य गोबिन्द भट्टराई रहेको बुझिएको छ।

उपसभापतिको आकांक्षा राख्नेहरुमध्ये परियार १४ औं महाधिबेशनमा शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा बिजयी भएका थिए। उनि कोइरालाको समुहमा सक्रिय रहेकोले पार्टीको बिशेष महाधिबेशनमा सहभागी नभएको भएपनि त्यसको केहि महिनापछि पुषमा सम्पन्न बिशेष महाधिबेशनबाट बनेको गगन थापा नेतृत्वको केन्द्रीय समितिको सदस्य मनोनित भएर थापाको समुहमा जोडिएका हुन। उनले उपसभापतिको आकांक्षा प्रकट गरेको भएपनि उमेदवारीबारेमा विचार गर्न सक्ने समेत जनाएको बुझिएको छ।

यसैगरी उपसभापतिको उमेदवारको रुपमा सामाजिक संजालबाट प्रचार शुरु गरेका पार्टी प्रबक्ता चालिसे १४ औं महाधिबेशनमा डा. शेखर कोइरालाको समुहबाट केन्द्रीय सदस्यको उमेदवार बनेको भएपनि पराजित बनेका थिए। बिशेष महाधिबेशनको पक्षमा हस्ताक्षर अभियान शुरु हुनु अगाडी गगन थाको आलोचक रहेका चालिसे बिशेष महाधिबेशनको अभियान चल्दै गएपछि गगन थापासंग जोडिएर बिशेष महाधिबेसनमा सक्रियता पुर्वक लागेका थिए । त्यसपछि उनि बिशेष महाधिबेशनबाट केन्द्रीय सदस्य बनेकोमा पछि उनलाई प्रबक्ता बनाइएको हो।

यसैगरी उपसभापति पदका अर्का आकांक्षी सुरेन्द्रराज पाण्डे पनि हुन्। उनले पनि सोमबार बिहान उपसभापतिको उमेदवार बन्ने भन्दै सामाजिक संजालबाट उमेदवारी घोषणा गरेका छन । लामो समयदेखि पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समुहमा लागेर राष्ट्रिय पटक पटक केन्द्रीय सदस्य र राष्ट्रिय सभामा बिपक्षी दलको नेता समेत बनेका पाण्डेलाई गण्डकीको मुख्यमन्त्री बनाउन पनि देउवाले नै भूमिका खेलेका थिए। तर मुख्यमन्त्री बनिसकेपछि र पार्टीमा देउवा कमजोर बन्दै गएको महशुश गरेपछि पाण्डे कहिले डा. शेखरसंग त कहिले गगनसंग नजिकिएका थिए।

उनले आँफुलाई देउवा समुह अन्तर्गत पनि बालकृष्ण खांणको समूहको मान्दै आएकोमा खांण भुटानी शरणार्थी काण्डमा जोडिएर कमजोर बनेको चर्चा पछि पूर्णबहादुर खड्काको समूहमा नजिकिएका थिए। मुख्यमन्त्री रहंदा गगन थापा समुहलाई फाइदा पुग्ने गरि बिभिन्न काम गर्दै आएको भएपनि बिशेष महाधिबेशनमा सहभागी नभएको कारण उनलाई गगन समुहले शंकाको दृष्टिकोणले हेर्ने गरेको थियो। पार्टीमा नियमित र बिशेष महाधिबेशन पक्षधरको बिबाद उत्कर्षमा पुगेको बेला देउवा समूह अन्तर्गतको खडका उपसमुहमा रहेका अन्य नेताहरुसंगै पाण्डेपनि महाधिबेशन हुनु केहि दिन अगाडी मात्र गगन थापा नेतृत्वको केन्द्रीय समितिमा जोडिएका हुन।

देउवा कमजोर भएपछि खड्का समुहमा रहेर अन्तिम अबस्थामा गगन थापाको समुहमा जोडिएका पाण्डेसहित खड्का समूहमा रहेका केहि नेताहरुले आँफुहरुको लागि पनि पद सुरक्षित गरिदिनुपर्ने भनेर बार्गेनिंग गरेपछि केन्द्रीय समितिमा पदाधिकारी एबम सदस्यहरुको संख्या पनि थप गरिएको बताइन्छ। हुन त गगन थापाको समुहमा रहेका धेरै नेताहरुको समेत ब्यबस्थापन गर्नुपर्ने भएकोले केन्द्रीय समितिमा पदधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरिएको बताइएको छ। खड्का समुहको ब्यबस्थापन गर्ने नाममा पाण्डेलाई उपसभापतिको उमेदवार बन्न गगन थापाको समुहका केहि नेताले आश्वस्त पारेको बुझिएको छ ।

यस्तै तनहुँका गोविन्द भट्टराई पनि उपसभापतिका अर्का आकांक्षी हुन् ।  बिगतमा देउवा समुहमा रहेका भट्टराई पनि पाण्डे जस्तै बिशेष महाधिबेशनको बिपक्षमा रहेको भएपनि केहि समय अगाडी उनीहरु सहित करिब ३० जनाले बिज्ञप्ती जारी गरेर गगन थापा नेतृत्वको केन्द्रीय समितिको सदस्य बन्दै संस्थापनमा खुलेका हुन् ।

यसैगरी केन्द्रीय महामन्त्री पदमा गण्डकी प्रदेशको नवलपुर जिल्लाका शंकर तिवारीले उमेदवारी घोषणा गरेका छन। आँफुलाई गगन थापाको निकट बताउने उनको उमेदवारीलाई भने प्रदेश भित्र र गगन समूह भित्र पनि त्यति महत्व दिईएको देखिएको छैन। उनि केन्द्रीय समितिको अन्य पदाधिकारी वा केन्द्रीय सदस्यको रुपमा मात्र उमेदवार बन्न सक्ने कतिपयको अनुमान छ।

पार्टीको केन्द्रीय सह महामन्त्रीमा पनि गण्डकी प्रदेशका ३ जनाको नाम चर्चामा छ । आदिवासी जनजाति क्लस्टरबाट नवलपुरका जनजाती महासंघका नेता ओम घर्ती, खुला तर्फको क्लस्टरमा कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, मुस्लिम वा अल्पसंख्यकको क्लस्टरमा हाल केन्द्रीय सदस्य रहेका गोरखाका अब्दुल सत्तारले पनि उमेदवारी साबजनिक गरेका छन । यसैगरी पर्वतका अर्जुनप्रसाद जोशीलाई पनि पदाधिकारीको उमेदवार बन्न सक्ने व्यक्तित्वको रुपमा लिईएको भएपनि उनले हालसम्म उमेदवारी घोषणा गरेका छैनन् ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदमा उमेदवारी दिने भनि धेरै जनाको नाम सुनिएको भएपनि को को ले उम्मेदवारी दिन्छन् भन्ने स्पष्ट थाहा पाउन मंगलवार दिउँसो ३ बजेसम्म पर्खिनुपर्ने भएको छ । केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेश भित्रबाट ठुलो संख्यामा उमेदवारी पर्न सक्ने अनुमान गरिएको भएपनि कास्की जिल्लाबाट समेत उल्लेखनीय संख्यामा केन्द्रीय सदस्य पदमा उमेदवारी पर्ने सम्भावना छ।

कास्कीका तिलक रानाभाट, कृष्ण केसी, देबराज चालिसे बिशेष महाधिबेसनबाट केन्द्रीय सदस्य बनेको र त्यसपछि जिबन परियार र शारदा पौडेल पनि केन्द्रीय सदस्य मनोनित भएकोमा शारदा पौडेल कास्की -३ बाट महाधिबेशन प्रतिनिधिमा नै पराजित भएकोले उनि केन्द्रीय सदस्यको उमेदवार बन्न पाउने छैनन। तर, अन्य केहि महाधिबेशन प्रतिनिधिले भने केन्द्रीय समितिमा पुग्ने चाहना राखेका छन।

जसअनुसार चालिसे र परियारले उपसभापतिमा उमेदवारी दिने जनाएको छन भने कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले सहमहामन्त्री पदमा, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, युवा उधमी कास्कीका किरण केसी, लक्ष्मी पाण्डे, नम्रता बराल, सरिता तिमिल्सिना पगेनी, मिनबहादुर गुरुङ र युवाको क्लस्टरमा सौगात थापा र यामकृष्ण पौडेलले पनि उमेदवारी दिने चर्चा छ। उनीहरु मध्ये केहीको उमेदवारी घोषणा भैसकेको छ।

उमेदवारको अन्तिम नामावली भने असोज २१ गते बुधबार मात्र प्रकाशित हुने र त्यस दिन प्रचार प्रसार गरेपछि बिहिबार मतदान गर्ने गरि निर्बाचन कार्यतालिका सार्बजनिक गरिएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णु लामिछानेले गण्डकी प्रदेशबाट कति जना उमेदवार बन्छन भन्ने एकिन नभएको तर दाबी धेरैले गरेको सुनिएको बताए। उनले भने, ‘ पहिले उम्मेदवारी दर्ता हेरौँ अनि प्रदेशको छुट्टै भेला राख्ने र सम्भव भएसम्म मिलाउने भन्ने सल्लाह भैरहेको छ ।’

१९ आश्विन २०८३, सोमबार २२:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा