पोखरा, पोखराका युवा उद्यमी किरण केसीले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रसँगको सहकार्य, लगानीमैत्री र अनुमानयोग्य वातावरण तथा स्वदेशमै रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आर्थिक नीतिमाथि बहस चलाइरहेको बेला पोखराका युवा उधमी केसीले केन्द्रीय सदस्यको उमेदवार बन्ने घोषणा गरेका हुन। कांग्रेसले प्रत्येक तहको कार्यसमितिमा उद्यम तथा व्यवसायमा दक्षता हासिल गरेका सक्षम युवालाई सिधै पार्टी संरचना र निर्वाचनको टिकटमा निश्चित प्रतिशत आरक्षण दिने घोषणा गरेको छ ।
यही परिवेशमा जलविद्युत्, वित्तीय तथा पूर्वाधार निर्माण क्षेत्रमा अनुभव हासिल गरेका केसीले केन्द्रीय सदस्य बन्ने चाहना गरेका हुन् । पोखराका प्रतिष्ठित उद्योगी तथा पूर्वसांसद स्व. सूर्यबहादुर केसीका छोरा किरण केसीले आंफ्नो बुवाको व्यावसायिक यात्रालाई निरन्तरता दिंदै आएका छन केसीले लन्डनको बोस्टन कलेजबाट व्यवसाय प्रशासनमा स्नातक र भारतको क्यालोक्र्स टिचर्स युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् ।
हाल केसी ग्रुप अफ कम्पनीजका निर्देशक रहेका उनी विशेषगरी ऊर्जा र वित्तीय क्षेत्रमा सक्रिय छन् । उनी सिक्लेस हाइड्रोपावर र भगवती हाइड्रोपावरका अध्यक्ष हुन् भने युनाइटेड इदी मर्दी, गण्डकी हाइड्रोपावर, झोमोलुङ्मा, अपर सेती, आम्पिक इनर्जी, माथिल्लो मर्स्याङ्दी लगायत दर्जनभन्दा बढी हाइड्रोपावरका सञ्चालक हुन् । सन नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक तथा माछापुच्छ्रे बैंक र युनाइटेड अजोड इन्स्योरेन्सका संस्थापक समेत रहेका केसी नेपालको ‘क’ वर्गको निर्माण कम्पनी केसी कन्स्ट्रक्सनको साथै हस्पिटालिटी र हाउजिङ क्षेत्रमा पनि क्रियाशील छन् ।
‘मैले निजी क्षेत्रमा रहेर रोजगारी सिर्जना, लगानी विस्तार र अर्थतन्त्रका चुनौतीलाई नजिकबाट भोगेको छु,’ उनले भने, ‘पार्टीले निजी क्षेत्र र राजनीतिलाई नजिक्याउने प्रयास गरेको छ । उद्यमशीलतालाई नीतिगत प्राथमिकतामा ल्याउन र राजनीतिलाई मुलुकको समृद्धिसँग जोड्नका लागि मेरो उम्मेदवारी हो ।’ उनले उद्योग–व्यवसायलाई अनावश्यक रूपमा अपराधीकरण गर्ने कानुनी व्यवस्थाको पुनरावलोकन र झन्झटरहित व्यावसायिक वातावरण निर्माणका लागि पार्टीभित्र आवाज उठाउने प्रतिबद्धता अघि सारेका छन् । राजनीतिलाई उत्पादन, रोजगारी, लगानी सुरक्षा र आर्थिक विकासको संवाहक बनाउनुपर्ने एजेन्डासहित उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।












