पोखरा, नेपाली कांग्रेसको केन्द्रीय समिति २८१ जनाको बन्ने भएको छ । पार्टीको १५ औं महाधिबेशनमा नेपाली काँग्रेसको बिधान संसोधन गरेर २८१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताब बन्द सत्रमा प्रस्तुत गर्ने समझदारी शीर्ष नेताहरूको बीचमा बनेको बुझिएको छ। महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकबाट विधान संशोधन प्रस्ताव अनुमोदन गरी बन्दसत्रमा पेस गर्ने तयारी गरिएको छ।
यसअघि २०७८ मा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय थियो। जेनजी बिद्रोहपछि गत पुसमा सम्पन्न विशेष महाधिवेशनले त्यसलाई बढाएर २३१ सदस्यीय बनाएको थियो। यो महाधिबेशनबाट २८१ जनाको केन्द्रीय समिति बन्ने भएको छ। पार्टी भित्र आकांक्षीको संख्या धेरै भएपछि नेता व्यवस्थापनका लागि आकार बढाइएको टिप्पणी कतिपय नेताहरूले गरेका छन्।
प्रस्तावित नयाँ व्यवस्था अनुसार पार्टीको केन्द्रीय समितिमा १ सभापति, १ वरिष्ठ उपसभापति, १ महिलासहित ३ उपसभापति र १ महिलासहित ३ महामन्त्री रहनेछन्। त्यसैगरी १४ जना सहमहामन्त्रीमध्ये ११ जना निर्वाचनबाट र ३ जना मनोनीत हुनेछन्। मनोनीत ३ सहमहामन्त्रीमध्ये १ जना महिला अनिवार्य गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ जना र खुला महिलाबाट १७ जना निर्वाचित हुनेछन्। महामन्त्री प्रदीप पौडेलका अनुसार हरेक क्लस्टरमा पहिलेभन्दा संख्या थपिएको छ। ‘पदाधिकारी र केन्द्रीय समितिको आकार वृद्धि गर्ने प्रस्ताव गरिएको छ, अब केन्द्रीय समिति २८१ सदस्यीय हुने भएको छ’ पौडेलले भने।












