काठमाडौँ, नेपाली कांग्रेसको बिशेष महाधिबेशन पक्षधरले आइतबार देखि गर्ने १५औँ महाधिवेशनमा सहभागी हुने बिभिन्न जिल्ला र विदेश बाट आउने महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु गरिएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज शनिबार दिउँसोदेखि महाधिवेशन प्रतिनिधिहरुको दर्ता प्रक्रिया सुरु भएको हो ।
यसका साथै महाधिबेशनको उद्घाटन समारोह, छलफल सत्र र महाधिबेशनमा सहभागी हुने महाधिबेशन प्रतिनिधिहरुको आबास एबम खानाको ब्यबस्था गर्ने लगायतका तयारी करिब पुरा भएको पार्टीले जनाएको छ।
दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । ३ हजार ५ सय रुपैया तिरेर नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५औँ महाधिवेशनको लागि बनाइएको झोला पाउने छन् । उक्त झोलामा पार्टीको विधान, कपी, कलम र खानाका कुपन लगायतका सामग्री राखिएको छ।

आइतबार काठमाडौँको खुलामञ्चमा महाधिबेशनको उद्घाटन भएपछि असोज १९ र २० गते छलफल सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र सोमबार दर्ता हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने तालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयन पत्र दर्ता गर्न सक्ने उल्लेख छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।
मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ । विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सूचित गरेको छ ।
यसैबीच १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ ।पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको जनाएको छ ।
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौँका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको जानकारी दिए ।
उनका अनुसार कोशी र मधेस प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर क्षेत्रमा, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल क्षेत्रमा, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क क्षेत्रमा, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्की क्षेत्रका होटलमा बस्ने व्यवस्था गरिएको छ । महाधिबेशनको उद्घाटन सत्र काठमाडौँको खुला मन्चमा गरिने भएकोले स्टेज निर्माण देखि अन्य कामहरु भैरहेको छन
![]()
यस्तै, विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेल क्षेत्रमा नै व्यवस्था गरिएको छ । प्रतिनिधि बस्नका लागि सहुलियत दरमा बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष ढकालले बताए । “देश र विदेशबाट महाधिबेशनमा सहभागी हुन आउने करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी पाँच हजार कोठाको व्यवस्थापन गरेका छौँ”, उनले भने ।
महाधिवेशनमा भाग लिन आउने जिल्ला, जनसम्पर्क समिति, भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैँले व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ । विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले व्यहोर्ने केन्द्रीय सदस्य धमलाले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ।कांग्रेसले पार्टीको वेबसाइटमा होटलको नाम, क्षेत्र र मूल्यको बारेमा राखेकाले कुनै अलमलमा परेमा उक्त विवरण हेर्न सकिने जनाएको छ । महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।













