Play

पुन्टे– हाँडीघोप्टे माइक्रोबस : पोखराको सार्वजनिक यातायात कहिले सुध्रिएला ?

गुरुकुल खबर


  • प्रेम थापा 

मेरो युक्रेनको साथी हेलेनले एकपटक भनेकी थिइन “ प्रेम यो शहरको फोटो र भिडिओ हेर्दा नै मलाई पोखरा कुनै अलौकिक शहर होला जस्तो लाग्थ्यो।” जब म पहिलोपटक पोखराको पुरानो विमानस्थलमा ओर्लिएँ, माछापुच्छ्रे हिमालले मलाई स्वागत गरिरहेको थियो। त्यो क्षणमा मलाई लाग्यो—साँच्चिकै, यो सहर त अलौकिक छ।

तर विमानस्थलबाट बाहिर निस्किनासाथ ट्याक्सीवालाहरूको तानातानले मलाई निकै असहज बनायो। त्यसबेला हेलेनले भनेको कुरालाई मैले त्यति गम्भीर रूपमा लिइनँ। “उनीहरू त यस्तै गर्छन्” भनेर सहजै टारिदिएँ।

धेरै वर्षपछि आज मैले पोखराको सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने भयो। इशारा (मेरी श्रीमती) र म बस कुरिरहेका थियौँ। बसहरू निकै खचाखच भरिएर आउँदा रहेछन्। इशाराले चढौँ भन्दा मैले अर्को माइक्रो आउला नि, अलि खाली होला भन्दै दुई–चारवटा माइक्रोबस छुटायौँ।

अन्ततः इशाराले यस्तै हो भनेपछि हामी त्यही माइक्रोमा चढ्यौँ। बसमा खुट्टा टेक्ने ठाउँसमेत थिएन। म ढोकामै झुन्डिएर उभिएको थिएँ। अब बसमा ठाउँ नै छैन, यात्रु चढाउन छोड्लान् कि भनेर सोच्दै थिएँ। तर यात्रु देख्नेबित्तिकै कन्डक्टरले ‘आउनुस्, आउनुस्’ भन्दै फेरि यात्रु चढाउन थाले।

अचम्म के थियो भने, त्यो सानो माइक्रोमा पनि मानिसहरू अटाइरहेका थिए। हरेक स्टेसनमा यात्रु ओर्लिनेहरु भन्दा नयाँ यात्रुहरू चढिरहेका देखिन्थे। ड्राइभर र कन्डक्टरलाई भने भित्र यात्रुको अवस्था कस्तो छ, कसैलाई असहज भइरहेको छ कि छैन भन्ने विषयमा खासै चासो नभए जस्तो देखिन्थ्यो। एक जना गाडी चलाउन व्यस्त थिए भने अर्का यात्रु देख्ने बित्तिकै उसलाई चढाउन व्यस्त थिए।

एकजना यात्रु ओर्लिने बेला मैले ड्राइभर सिटतिर हेरेँ। अर्को अचम्मको दृश्य देखेँ—ड्राइभरको ढोका सानो बाइन्डिङ तारले बाँधेर राखिएको रहेछ। यात्रु चढ्ने वा झर्ने बेला त्यो तार खोल्नुपर्ने र फेरि बाँध्नुपर्ने अवस्था रहेछ। यस्तो अवस्थामा यात्रु बोकेर सार्वजनिक सडकमा गाडी सञ्चालन भइरहेको देख्दा मलाई झन् गम्भीर प्रश्न उठ्यो। कन्डक्टरका लागि भने यो सबै नियमित र सामान्य कामजस्तै देखिन्थ्यो।

यहाँ समस्या केवल एउटा माइक्रोबसको होइन। प्रश्न सार्वजनिक यातायातको व्यवस्था, सुरक्षा र सेवा संस्कारको हो। हामी यस्तो सहरमा बस्छौँ, जहाँ पोखराको नाम सुन्नेबित्तिकै मानिसको आँखामा हिमाल, ताल, हरियाली र प्राकृतिक सौन्दर्यले भरिएको एउटा सुन्दर सहरको चित्र आउँछ। तर यही सहरको सार्वजनिक यातायात र ट्राफिक व्यवस्थाको अवस्था हेर्दा प्रश्न उठ्छ—के हाम्रो यातायात व्यवस्था पनि पोखराको पहिचानजस्तै व्यवस्थित र सुन्दर बन्न सकेको छ?

त्यो यात्राले मलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनायो, हामीले सार्वजनिक यातायातलाई सेवा मानेका छौँ कि केवल कमाइको माध्यम ?
कुनै पनि सहरलाई सुन्दर र स्मार्ट बनाउन केवल आकर्षक सडक र भवन पर्याप्त हुँदैनन्। चुस्त ट्राफिक व्यवस्था, सुरक्षित सडक र यात्रुमैत्री सार्वजनिक यातायात पनि त्यत्तिकै आवश्यक हुन्छ।

पोखराका ग्रामीण तथा दुर्गम क्षेत्रबाट आउने बसहरूको अवस्था त झन् फरक देखिन्छ। कतिपय यात्रामा डोको, मान्छे, कुखुरा, घाँस र तरकारी समेत एउटै यात्रामा सँगसँगै यात्रा गरिरहेका हुन्छन्। यो हाम्रो ग्रामीण जीवनको एउटा स्वाभाविक चित्र हुन सक्छ। तर सार्वजनिक यातायातमा क्षमता र सुरक्षाको सीमा नाघ्दा त्यसबाट हुन सक्ने दुर्घटना भने गम्भीर हुन सक्छ।

समस्या कहाँ छ ? आखिर किन यस्तो भइरहेको छ ? समस्या व्यवस्थापनमा हो ? नियम कार्यान्वयनमा हो ? यातायात व्यवसायीको सोचमा हो ? चालकको आर्थिक संरचनामा हो ? अथवा हाम्रो समग्र यातायात प्रणालीमै समस्या छ ?

आजको युग प्रतिस्पर्धात्मक युग हो। एउटा माइक्रोबस चालक वा व्यवसायीको दैनिक आम्दानी उसको जीवनका लागि महत्त्वपूर्ण हुन्छ। त्यसैले बढीभन्दा बढी यात्रु बोक्न खोज्नु आर्थिक दृष्टिले बुझ्न सकिने व्यवहार हो। तर समस्या त्यतिबेला सुरु हुन्छ, जब आम्दानी बढाउने प्रतिस्पर्धा यात्रुको सुरक्षा र सुविधासँग ठोक्किन पुग्छ।

यदि चालक र बस धनीको कमाइ जति धेरै यात्रु बोक्यो, त्यति नै बढी हुने प्रणाली रहिरह्यो भने उनीहरूले यात्रुलाई मानिसका रूपमा भन्दा पनि आफ्नो कमाइ र पैसाको स्रोतका रूपमा मात्र हेर्ने अवस्था आउन सक्छ। त्यसपछि प्रश्न उठ्नसक्छ— कति यात्रु बोक्ने ? जबकि सार्वजनिक यातायातको मूल प्रश्न हुनुपर्ने हो— कति सुरक्षित र गुणस्तरीय सेवा दिने ?

राजमार्गमा परिवर्तन, सहरभित्र किन उस्तै ?

नेपालका राजमार्गमा चल्ने सार्वजनिक यातायातमा पछिल्ला वर्षहरूमा यात्रुको सुविधा र आवश्यकताअनुसार विभिन्न सेवा देखिन थालेका छन्। काठमाडौंसम्म सुत्दै यात्रा गर्न मिल्ने बसदेखि वातानुकूलित (AC) बससम्म यात्रुले आफ्नो आवश्यकता र क्षमताअनुसार सेवा रोज्न पाएका छन्।
यसले एउटा कुरा देखाउँछ—यातायात क्षेत्रमा प्रतिस्पर्धा केवल धेरै यात्रु बोक्ने विषयमा सीमित रहनुपर्दैन, सेवा र सुविधामा पनि प्रतिस्पर्धा हुन सक्छ। तर पोखराको स्थानीय यातायातमा भने यात्रु कसरी बढी बोक्ने र कसरी बढी कमाउने भन्ने प्रतिस्पर्धा अझै प्रभावशाली देखिन्छ। त्यसैले प्रश्न स्वाभाविक छ

पोखराको सार्वजनिक यातायातले पनि समयसँगै आफूलाई परिवर्तन गर्न सक्दैन? चालकलाई यात्रुका लागि दौडाउनुपर्ने अवस्था हटाउने
यसको एउटा सम्भावित उपाय Route-Based Contract हुन सक्छ। महानगरपालिका र Transport Authority ले मिलेर निश्चित रुटमा चल्ने सार्वजनिक यातायातलाई contract-based प्रणालीमा लैजान सक्ने सम्भावनाबारे अध्ययन गर्न सक्छन्।

यसको आधारभूत संरचना यस्तो हुनसक्छ

माइक्रोबस धनी/समिति → निश्चित रुट → निश्चित समयतालिका → निश्चित स्टप → सुरक्षित र गुणस्तरीय सेवा → स्पष्ट भाडा प्रणाली → डिजिटल निगरानी → व्यवस्थित आम्दानी तथा भुक्तानी।

यस अन्तर्गत

  • निश्चित रुट — कुन गाडी कुन रुटमा चल्ने स्पष्ट हुने।
  • निश्चित समयतालिका — कति मिनेटको अन्तरमा गाडी आउने भन्ने निर्धारण हुने।
  • निश्चित स्टप — जहाँ पायो त्यहीँ गाडी रोक्ने प्रवृत्ति कम हुने।
  • सेवा मापदण्ड — गाडीको क्षमताअनुसार मात्र यात्रु चढाउने।
  • गाडीको मापदण्ड — फिटनेस, सरसफाइ, ढोका, सिटलगायतका विषय नियमित जाँच हुने।
  • चालक–कन्डक्टरको जिम्मेवारी — सुरक्षा, समयपालन र यात्रुसँगको व्यवहारलाई स्पष्ट जिम्मेवारी बनाउने।
  • डिजिटल Tracking — यात्रुले मोबाइलबाट आफ्नो गाडी कहाँ छ भनेर हेर्न सक्ने।
  • स्पष्ट भाडा प्रणाली — यात्रुले पहिले नै थाहा पाउने भाडा।
  • गुनासो प्रणाली — यात्रुले सजिलै उजुरी र सुझाव दिन सक्ने।
  • व्यवस्थित आम्दानी — यात्रु खोसाखोस गरेर कमाउनेभन्दा निर्धारित प्रणालीबाट आम्दानी व्यवस्थापन गर्ने।
  • प्रोत्साहन प्रणाली — समयपालन, सुरक्षा र गुणस्तरीय सेवाका आधारमा चालक तथा अपरेटरलाई प्रोत्साहन गर्ने।
  • नियम उल्लङ्घनमा कारबाही — बारम्बार नियम उल्लङ्घन गर्नेलाई स्पष्ट कारबाही गर्ने।
  • यसरी प्रणाली परिवर्तन गर्न सकियो भने चालकको मुख्य ध्यान “यात्रु कहाँ भेटिन्छ ? भन्नेमा भन्दा “तोकिएको रुटमा सुरक्षित र राम्रो सेवा कसरी दिने ? भन्नेमा केन्द्रित हुन सक्छ।सिंगापुरबाट सिक्न सकिने एउटा उदाहरणयस्तो प्रणालीका लागि हामीले उदाहरणका रूपमा सिंगापुरको Bus Contracting Model (BCM) लाई हेर्न सक्छौँ। सिंगापुरमा सार्वजनिक बस सेवाको योजना र सेवा मापदण्ड निर्धारण गर्ने जिम्मेवारी Land Transport Authority (LTA) सँग हुन्छ। बस अपरेटरहरूले निश्चित बस प्याकेज वा रुट सञ्चालन गर्ने कन्ट्रयाक्ट पाउँछन् र तोकिएको सेवा सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्छन्। यस मोडेलको एउटा महत्त्वपूर्ण पक्ष के हो भने अपरेटरको आम्दानी केवल कति यात्रु उठायो ? भन्ने कुरामा मात्र निर्भर हुँदैन।सिंगापुरको मोडेललाई जस्ताको तस्तै पोखरामा लागु गर्नुपर्छ भन्ने होइन। तर यसबाट एउटा महत्त्वपूर्ण कुरा सिक्न सकिन्छ—सार्वजनिक यातायातलाई केवल यात्रु बोक्ने व्यवसायका रूपमा होइन, निश्चित सेवा मापदण्डसहित सञ्चालन गरिने सार्वजनिक सेवाका रूपमा पनि हेर्न सकिन्छ।

    पोखराको आफ्नै अवस्था, यहाँका यातायात व्यवसायी, चालक, कन्डक्टर र यात्रुको हितलाई ध्यानमा राखेर यस्तै अवधारणाको स्थानीय मोडेल विकास गर्न सकिन्छ।

    पोखरालाई पर्यटकीय शहर मात्र होइन, यात्रु मैत्री शहर पनि बनाऔँ

    पोखराको पहिचान हिमाल, ताल र प्राकृतिक सौन्दर्यले बनेको छ। तर आधुनिक पर्यटकीय शहरको पहिचान त्यसको सार्वजनिक यातायातबाट पनि हुन्छ। पर्यटकले पोखरा आउँदा फेवाताल र माछापुच्छ्रे मात्र देख्दैन। उसले विमानस्थलदेखि होटलसम्मको यात्रा गर्छ, ट्याक्सी चढ्छ, बस चढ्छ, सडक पार गर्छ र सहरको यातायात प्रणालीसँग प्रत्यक्ष सम्पर्कमा आउँछ। त्यसैले सार्वजनिक यातायात पनि पोखराको पर्यटन पूर्वाधार हो।

    हामीले पोखरालाई स्मार्ट सिटी बनाउने कुरा गर्छौँ। तर स्मार्ट सिटीको अर्थ केवल डिजिटल प्रविधि र ठूला संरचना होइन। सुरक्षित यात्रा, समयमै गाडी, स्पष्ट भाडा, व्यवस्थित स्टप, स्वच्छ गाडी र यात्रुलाई सम्मान गर्ने व्यवहार पनि स्मार्ट सहरका आधार हुन्। पुन्टे–हाडीघोप्टे माइक्रोबसमा मैले देखेको दृश्य एउटा यात्रुको व्यक्तिगत अनुभव मात्र हुन सक्छ। तर त्यसले उठाएको प्रश्न भने व्यक्तिगत होइन।

    पोखराको सार्वजनिक यातायातलाई अब पनि “जसरी चलिरहेको छ, त्यसरी नै चल्न दिने” कि समयअनुसार सुधार गर्ने ? निर्णय र सुधारको जिम्मेवारी सम्बन्धित निकाय, यातायात व्यवसायी र समग्र प्रणालीकै हो।

    तर एउटा कुरा निश्चित छ— पोखरा हिमाल र तालले मात्र अलौकिक बन्ने होइन। यहाँको सार्वजनिक यातायात पनि सुरक्षित, व्यवस्थित र यात्रुमैत्री भयो भने मात्रै हेलेनले वर्षौँअघि देखेको ‘अलौकिक पोखरा’ को तस्वीर अझ पूर्ण हुनेछ।

१६ आश्विन २०८३, शुक्रबार १८:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा