पोखरा, नेपाली कांग्रेसका नेता एबम पुर्वमन्त्री डा. प्रकाशशरण महतले नेतृत्वको पुस्तान्तरण भन्दा हस्तान्तरण हुने बताएका छन् । पोखरामा नियमित १५ औं महाधिबेशन तयारी समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. महतले आवश्यकताको सिद्धान्तले राजनीति चल्ने भएकोले जनताले जुन उमेरको नेतृत्व आवश्यक ठान्छ, त्यहि उमेरकोलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
लोकतन्त्रमा कसैले यसलाई बनाईदिनुपर्यो भनेर बन्ने होईन, आवश्यकताको आधारमा नेतृत्व हस्तान्तरण हुने हो, पुस्तान्तरण हुनेहैन । तसर्थ आबश्यकताको आधारमा नेतृत्वको हस्तान्तरण युवामा पनि हुनसक्छ र प्रौढमा पनि हुनसक्छ’ उनले भने । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कास्की जिल्लामा पनि जिल्ला अधिबेशन तयारी समिति बनाएको र सोही समितिको आयोजनामा पोखरामा डा. महतको उपस्थितिमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यकर्ता भेटघाट पुर्व डा. महतले पोखराका पत्रकारसंग पनि भेटघाट गरेका थिए। पत्रकार भेटघाट कार्यक्रममा पनि उनले लोकतन्त्रमा नेतृत्व हस्तान्तरण नभई पुस्तान्तरण हुने बताएका थिए । जेनजी आन्दोलन पश्चात सबै दलहरुमा नेतृत्व पुस्तान्तरणको माग भइरहँदा महतले भने नेतृत्व पुस्तान्तरणको सत्ता हस्तान्तरणमा जोड दिएका थिए ।
जनताको मतबाट निर्वाचित नेतृत्वलाई आंफुले चाहे अनुसारको उमेरको मान्छे भएन भनेर नेतृत्व मान्दिन भन्न नपाईने भन्दै उनले निर्वाचनबाट चुनिने विषयमा कसैले निश्कोचित उमेरको मात्रै निर्वाचित गरे ठिक अरुलाई मान्दैनौं भन्न मिल्छ ? उनले प्रश्न गरे। यसै सन्दर्भमा उनले थप प्रश्न गर्दै भने,‘मोदी कति वर्षका भए ? अनि ट्रम्प ? अनि चीनमा कति उमेरकाले नेतृत्व लिएका छन ?’ उनले पार्टीको नेतृत्वमा कार्यकर्ताले वा आम चुनावमा जनताले ६० वर्ष, ७० वर्ष वा ३५ वर्षको जसलाई चुने पनि मान्नुपर्ने स्पष्ट पारे ।
नेता महतले गत भदौ २३ र २४ गते नियोजित रुपमा आन्दोलन र आगजनी जस्तै गरेर नेपाली काँग्रेसमा पनि विशेष महाधिवेशन गरिएको बताए। जेनजीलाई मुखडा बनाएर राज्य संरचनाहरु संसद, सिंहदरबार, अदालतलगायत जलाइएको र पार्टीमा पनि गगनहरुलाई मुखडा बनाएर पार्टी सक्ने काम भएको उनले टिप्पणी गरे ।
जसरी अरुले कार्वन उत्सर्जन गर्दा आज हाम्रो देशले जलवायु परिवर्तनका कारण अप्ठेरो भोग्नुपरिरहेको छ, त्यसरी नै अस्वाभाविक र अप्राकृतिक योजनामा नेपालमा भदौ २३ र २४ को घटना भएको र नेपाली काँग्रेसलाई पनि विशेष महाधिवेशनको बहानामा ध्वस्त बनाईएको महतले उल्लेख गरे। बुधबार नै पोखरा आएका महतले नेपाली काँग्रेसका नेता स्व. प्रकाश बहादुर गुरुङको निवासमा पुगेर उनीप्रति श्रद्दान्जली अर्पण गरेका थिए ।
महतले सत्यको मुख बन्द हुँदा झूठो स्थापित भइरहेको भन्दै अहिले हिसाब कितावको राजनीति भइरहेको अनि निष्ठा र आदर्शको राजनीति स्खलित भइरहेको दाबी गरे विपी कोईरालाको भनाई उद्धृत गर्दै उनले भने, ‘सत्यको मुख बन्द भएपछि देशमा पनि र पार्टीमा पनि झूठो स्थापित भएको छ।’
आफूहरु सत्यको पक्षमा उभिएको बताउँदै डा. महतले कार्यकर्ताहरुसंग आग्रह गरे,‘अब तपाईंहरु पनि बोल्नूस् । नत्र झूठो कुरा नै स्थापित हुन्छ। ’महतले सर्वोच्च अदालतले आफूहरुकै पक्षमा फैसला गर्ने विस्वास व्यक्त गरे । यसअघिको फैसला त्रृटीपूर्ण भएकै कारणले सर्वोच्चले हामीलाई निस्सा दियो, निस्सा दिएसँगै देशम अझै न्याय मरेको रहेनछ भन्ने आशा पलाएको छ, हामीलाई विस्वास छ कि अब फैसला पनि हाम्रै पक्षमा आउँछ।’
उनले विहीबारदेखि आँफुहरु रहेको नेपाली काँग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया शुरु हुने भएकाले सहभागी हुन समेत आव्हान गरेका थिए । कार्यक्रमको अध्यक्षता १५ औं महाधिबेशन अन्तर्गत गठित जिल्ला अधिबेशन तयारी समितिका संयोजक ऋषि काफ्लेको अध्यक्षताम भएको थियो । कार्यक्रममा जिल्ला अधिबेशन तयारी समितिका सदस्यहरु सहित अन्य कांग्रेस कर्यकर्ताहरुको समेत उपस्थिति थियो ।













