पोखरा, नेपाली कांग्रेस कास्कीका नेता एवं पूर्वसहायक मन्त्री प्रकाशबहादुर गुरुङको ७२ बर्षको उमेरमा निधन भएको छ। उनि बेलायतमा रहंदा नै प्रोस्टेट क्यान्सरको कारण गम्भीर बिरामी परेपछि नेपाल फर्किएर घरमा बस्दै आएका थिए। बिरामी अबस्थामा रहेपनि स्वास्थ्यले साथ् दिएसम्म उनले आफन्त र साथीभाईसंग भेटघाट समेत गर्दै आएका थिए । पोखराको मणिपाल शिक्षण अस्पतालमा मंगलवार उपचारकै क्रममा उनको निधन भएको हो।
बेलायतमा डाक्टरले अब थप उपचार सम्भव छैन भनेपछि ‘गिभअप’ दिएर आँफु नेपाल फर्किएको उनले आफन्तहरुसंग बताएका थिए। करिब ५ महिना अगाडी बेलायतबाट नेपाल आएका गुरुङले नेपालमा बसेमा अन्तिम अबस्थासम्म पनि आफन्त र साथिभाई भेट्ने अवसर मिल्ने भएकोले आँफुलाई नेपाल आएर बस्न मन लागेको बताएका थिए ।

कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकका गोलमान साहुका नाति तथा मीनबहादुर गुरुङका छोराको रुपमा चिनिएका प्रकाशबहादुर राजनीतिमा प्रवेश गर्नु अगाडी प्राध्यापन पेसामा संलग्न थिए। डेढ दशक जति प्राध्यापनमा संलग्न उनि उक्त पेशा छाडेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लाग्ने बित्तिकै २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले उहाँलाई कास्की क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएको थियो।
त्यस निर्वाचनमा गुरुङले नेकपा (एमाले) का त्यसबेलाका लोकप्रिय नेता सोमनाथ अधिकारी ‘प्यासी’लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनलाई २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री बनाइएको थियो।
स्व. गुरुङको अन्त्येष्टि आज बुधबार गरिने भएको छ गुरुङको पार्थिव शरीरलाई बुघबार बिहान १०:३० बजे नेपाली कांग्रेस कास्कीको चिप्लेढुङ्गा स्थित कार्यालयमा राखिने र त्यसपछि पोखराको रामघाटस्थित बौद्ध अर्घौं सदनमा लगेर बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। पूर्वसहायक मन्त्री गुरुङको अन्त्येष्टिमा सहभागी हुन नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महत लगायतका केन्द्रीय नेताहरू पोखरा आउने भएका छन।













