पोखरा, यहि असोजको ९ देखि ११ गतेसम्म परेको लगातारको वर्षा, बाढी, पहिरो र उच्च हिमाली क्षेत्रमा भएको हिमपातका कारण गण्डकी प्रदेशका बिभिन्न जिल्लामा जनधनको क्षती पुगेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार यस अवधिमा गण्डकी प्रदेशभर बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र ४ जना बेपत्ता भएका छन् । विपद्का कारण प्रदेशभर १ सय ७९ घर पूर्ण रूपमा र २६ घर आंशिक रूपमा भत्किएका छन् । साथै थप २ सय ७० घर उच्च जोखिममा परेका छन् भने ४ सय १९ परिवारका १ हजार ४ सय ५१ जना नागरिक घरबारविहीन भई विस्थापित बनेका छन् ।
यसपटकको बर्षा र बाढी पैर्होको असर बागलुङ जिल्लामा धेरै देखिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार प्रदेशभर भएको क्षतिको अन्तिम र यकिन विवरण संकलन गर्ने काम अझै जारी छ । जस अनुसार बागलुङमा मात्रै १० जनाको ज्यान गएको छ भने १ जना बेपत्ता छन् । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका ३ छोरा मनोज, मुकेश र निसान विकको आइतबार बिहान पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । बागलुङमा २३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, चार घर पहिरोको जोखिममा परेका छन्, तीनवटा सरकारी कार्यालय प्रभावित भएका छन् र २३ वटा घरपालुवा पशुचौपाया मरेका छन् । यहाँ २६ घरका ८० जना नागरिक विस्थापित भई सुरक्षित स्थानमा सरेका छन् ।
यसैगरी म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार पहिरोमा परी अन्नपूर्ण ३ फगाम दानामा सिउकुमारी गर्वुजा र दोमाया पाइजा, अन्नपूर्ण गापा ८ काफलडाडामा १९ वर्षका सविन गर्वुजा, मालिका गापा, ३ रूमडाडाका किरन पुन सहित ४ जनाको मृत्यु भएको छ । उनका अनुसार बेनी नगरपालिका ३ भकिम्ली छेपारेकी कुमारी विक, अन्नपूर्ण गापा ८ काफलडाँडाका मनोज गर्वुजा बेपत्ता छन् । अन्नपूर्ण ५ पाउद्वार गिवाङमा पहिचान नखुलेका २, मालिका गापा, ३ डाँडागाउँका अर्का १ पहिरोमा पुरिएर बेपत्ता छन् । म्याग्दीमा ६ घर पूर्ण रूपमा भत्किएका छन् र एउटा घर उच्च जोखिममा छ

त्यसैगरी लमजुङमा दुई जना घाइते भएका छन् भने एउटा घर पूर्ण र पाँच घर आंशिक रूपमा भत्किएका छन् । तनहुँमा एक जना घाइते हुनुका साथै १० घर पूर्ण र ६ घर आंशिक रूपमा क्षति भई १८ परिवारका ५४ जना विस्थापित बनेका छन् । तनहुँमा दुईवटा गोठमा क्षति पुग्नुका साथै पाँचवटा पशु मरेका छन् र दुईवटा पुलमा क्षति पुगेको छ । गोरखा जिल्लामा ३ घरमा आंशिक क्षति पुगेको छ, १२ घर जोखिममा छन् र एउटा सरकारी कार्यालय, एउटा काठेपुल तथा एउटा मदरसा जोखिममा परेका छन् ।
भौतिक पूर्वाधार, बस्ती र सडक सञ्जालमा पनि बाढीपहिरोले ठूलो धक्का पुर्याएको छ । कास्कीको सेती नदीमा पानीको बहाव बढ्दा रामघाट क्षेत्रको सुकुम्बासी बस्ती डुबानको जोखिममा परेको छ भने पुम्दीमा १ घर र अन्नपूर्ण गाउँपालिकामा २ घर पहिरोले भत्काएको छ । बिरेठाँटी–घान्द्रुक सडकखण्ड पुनः अवरुद्ध भएको छ । पर्वतको जलजला–८ फर्सेमा कालीगण्डकीको कटानले ६६ घर पूर्ण रूपमा भत्काएको छ भने २३ घर उच्च जोखिममा पारेको छ । पर्वतभर जम्मा ७६ घरमा क्षति पुगेको र २९ घर जोखिममा रहेको प्रशासनले जनाएको छ । मनाङको चामे बजारमा आएको बाढीले ४ वटा घर र ४ वटा पुल बगाएको छ भने मस्र्याङ्दी नदीको बहाव बढ्दा नासों गाउँपालिकास्थित ताल गाउँका ६५ भन्दा बढी घर डुबानमा परेका छन् ।
यातायात र सञ्चारतर्फ कालीगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्ड, मध्यपहाडी लोकमार्गको निसिखोला खण्ड, चामे–बेँसीसहर, जोमसोम–कोरला र बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् । म्याग्दीको पोखरेबगरमा कालीगण्डकीले एप्रोच रोड बगाउँदा मुस्ताङसँगको सडक सम्पर्क टुटेको छ भने मालढुंगा पुलको एप्रोच रोडमा पनि क्षति पुगेको छ । स्याङ्जा र गुल्मी जोड्ने कालीगण्डकी नदीमाथिको बेलीब्रिज बाढीले बगाएपछि बुटवल, पोखरा र काठमाडौँ जाने सवारीसाधन ठप्प भएका छन् । नवलपुर र तनहुँ जोड्ने कालीगण्डकीको पुल तथा बौदीकाली र बुलिङटार क्षेत्रमा पनि बाटो अवरुद्ध बनेको छ । मुस्ताङका नदीहरूमा लेदो मिसिएको बाढी आइरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।












