Play

माओत्से गुरुङको चलचित्र पेन्सन पट्टाको कमाई झन्डै सवा २ करोड, पोखराबाट मात्रै करिब ६० लाख

गुरुकुल खबर


पोखरा, पोखरेली कलाकार माओत्से गुरुङद्वारा निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै २ करोड १२ लाख रुपैयाँ कमाउन सफल भएको छ । उक्त चलचित्रले पोखराबाट मात्र करिब ६० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको अनुमान गरिएको छ । चलचित्रले दोस्रो सातामा समेत दर्शकको उत्साहजनक साथ पाइरहेको र दोस्रो साताको पहिलो शुक्रबार पोखरा लगायत विभिन्न ठाउँका हलमा हाउसफुल शो भइरहेका छन् ।

क्यूएफएक्स सिनेमाजमा पहिलो सातामा १० हजार ६ सय ७० जनाले ‘पेन्सन पट्टा’ हेरेका छन् । उक्त हलबाट बिहीबारसम्म ३३ लाख १८ हजार रुपैयाँ ग्रस कलेक्सन भएको क्यूएफएक्स पोखराका म्यानेजर पशुपति कार्कीले जानकारी दिए । पोखराको मिडटाउन सिनेमाजमा ६ हजार ३ सय ७० दर्शकले चलचित्र हेरेका छन् । मिडटाउनबाट १८ लाख ३० हजार रुपैयाँ ग्रस कलेक्सन भएको म्यानेजर संकेत द्वाले जानकारी दिए । क्यूएफएक्स र मिडटाउनको कलेक्सन जोड्दा मात्रै ५१ लाख ४८ हजार रुपैयाँ पुग्छ । श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सन भने प्राप्त हुन बाँकी छ । उक्त हलको रकमसमेत जोड्दा पोखराबाट चलचित्रले ५५ देखि ६० लाख रुपैयाँसम्म ग्रस कलेक्सन गरेको अनुमान गरिएको हो ।

‘पेन्सन पट्टा’को प्रचारमा सामाजिक सञ्जालको प्रभावसमेत देखिएको छ । टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा चलचित्रका दृश्य, प्रतिक्रिया तथा प्रचार सामग्री भाइरल भइरहेका छन् । यसले दर्शकलाई हलसम्म आकर्षित गर्न मद्दत गरेको निर्माण पक्षको बुझाइ छ ।
चलचित्र हेरेका दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण माउथ पब्लिसिटी बढ्दै गएको छ । परिवार, समाज, प्रेम, त्याग र जीवनसँग जोडिएका विषयवस्तु प्रस्तुत गरिएको चलचित्रले दर्शकको ध्यान तानेको बताइएको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएका ‘झिङ्गे दाउ २’ र ‘कार्की साइला’सँगै ‘पेन्सन पट्टा’ले दोस्रो साताको यात्रा सुरु गरेको छ । नयाँ चलचित्र प्रदर्शनमा आए पनि पोखराका हलमा ‘पेन्सन पट्टा’को दर्शक उपस्थिति बलियो देखिएको छ । पोखराको मिडटाउन सिनेमाज र क्यूएफएक्समा शुक्रबार नयाँ चलचित्रको तुलनामा ‘पेन्सन पट्टा’का शोमा दर्शकको उपस्थिति राम्रो भएपछि शनिबारबाट ‘झिङ्गे दाउ २’ र ‘कार्की साइला’का शो घटाइएको जनाइएको छ । अधिकांश शो ‘पेन्सन पट्टा’ले पाएको छ ।

‘पेन्सन पट्टा’ले पोखराबाहेक बुटवल, चितवन, झापा, इटहरी, लमजुङ, तनहुँको दमौली लगायतका सहरमा समेत राम्रो दर्शक उपस्थिति पाइरहेको छ । पछिल्लो समय काठमाडौंमा पनि चलचित्रप्रति दर्शकको आकर्षण बढेको निर्माण पक्षले जनाएको छ । स्थानीय परिवेश, सामाजिक यथार्थ र पारिवारिक सम्बन्धका विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले प्रदर्शनको पहिलो सातामा प्राप्त गरेको व्यापारसँगै दोस्रो सातामा पनि दर्शकको साथलाई निरन्तरता दिएको छ । चलचित्र ‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, पशुपति राई र बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

२ आश्विन २०८३, शुक्रबार २०:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा