काठमाडौँ, १५ औं महाधिबेशनको संघारमा रहेको नेपाली कांग्रेसको संस्थापन पक्षले सबै तहका सदस्यहरूलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको भएपनि पार्टीमा अझै पनि तिन लाइन संघर्ष देखिएको कारण तल्लो तहका कार्यकर्ताहरु समेत तिन समुहमा विभाजित बन्न पुगेका छन । केन्द्रका नेताहरुबाट सार्बजनिक भएका दुई अलग अलग महाधिबेशनका कार्यतालिका र अग्रज नेताहरुको अभिव्यक्तिका कारण तल्लो तहमा बिभिन्न समूह देखिएसंगै तल्लो तहका अधिकांश कांग्रेस कार्यकर्तामा उत्साह भन्दा पनि निराशा बढेको छ ।
गगन थापा नेतृत्वमा रहेको पार्टीको संस्थापन समुहले असोज ३ गतेबाट र पुर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समुहले असोज १५ गतेबाट अधिबेशनको प्रक्रिया शुरु गर्ने भन्दै अलग अलग कार्यतालिका सार्बजनिक गर्नुले मात्र नभएर पुर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्का एबम नेता डा. शेखर कोइरालाले महाधिबेशनको कार्यतालिका स्थगन गर्न, तत्काल बार्ता र सम्बाद थाल्न एबम कार्यतालिका स्थगन नगरिए कुनै पनि महाधिबेशनमा सहभागी नबन्ने घोषणा गर्नुले पार्टीमा तीनवटा लाईन स्पष्ट रुपमा देखिन पुगेको छ ।
बिशेष महाधिबेशनको बिरोध गर्दै आएका अर्थात गगन थापाको समूह भन्दा बाहिर रहेका अधिकांश केन्द्रीय नेताहरु गगन थापा नेतृत्वको संस्थापन समुहमा समाहित हुने क्रम जारी रहेकोले अब पार्टी एकताबद्द बन्ने विश्वासमा गगन थापा पक्षका नेताहरु देखिन्छन । बिहिबार सानेपामा सम्पन्न केन्द्रीय समितिको बैठकमा देउवा र कोइराला समुहमा रहेका अधिकांश नेताहरु सहभागी भएपछि गगन थापा सहितको समूह थप उत्साहित बनेको छ। तर, जिल्ला जिल्लामा कांग्रेसको संगठन एकताबद्ध र बलियो कांग्रेस देख्न चाहाने नेता कार्यकर्ताहरु भने अझै निराश देखिएका छन ।

असोज ३ गतेबाट महाधिबेशनको प्रक्रिया शुरु गर्ने अभियानमा लागेका नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवरका अनुसार जिल्लास्तरमा अझै पनि अधिबेशनको उत्साह देखिएको छैन । ‘अधिबेशनमा सहभागी बनेर कुनै पद लिन्छु भन्नेहरु अहिले केहि सक्रिय जस्तो देखिएपनि बलियो नेपाली काँग्रेस देख्न चाहनेहरु, संगठनको चिन्ता गर्नेहरु र पुराना नेता कार्यकर्ताहरुलाई अधिबेशनले छुन सकेको छैन ।
आँफुलाई गगन थापा समुहको भन्न रुचाउने कुँवरले गुरुकुल खबरसंग भने, ‘अहिले नेता बन्छु भन्नेहरु मात्र आंफ्नो लागि पद सुरक्षित गर्न भेटघाटमा सक्रिय भएको अबस्था छ, वास्तविक रुपमा कांग्रेस मिलोस र भविष्यमा अझ बलियो कांग्रेस बनोस भन्नेहरूमा कुनै उत्साह देखिएको छैन ।’ यसै महाधिबेशनबाट जिल्ला सभापति बन्ने चाहना राखेका कुँवरको यो भनाईले यसपटकको महाधिबेशनमा कांग्रेसमा उत्साह नदेखिएको स्पष्ट हुन्छ ।
यस अगाडी क्रियाशील सदस्यताको अधाबधिक गर्ने बिषय, १४ औं महाधिबेशनपछि बनेका केन्द्रीय समितिका सदस्यहरुलाई अहिलेको कार्यसमितिमा समेट्ने विषय लगायतका कुराले पार्टीमा लामो समयेदेखी विवाद र असन्तुष्टि बढेको कारण महाधिबेशन प्रति नेता कार्यकर्ताहरु उत्साहित बन्न सकेका छैनन । यसमाथि संस्थापन पक्षको निर्देशन पालना नगरेको भन्दै वडा सभापति देखि जिल्ला सभापतिहरुसम्मलाई हटाएर नयाँलाई कार्यबाहक तोक्ने केन्द्रको निर्णयले पनि तल्लो तहमा बिबाद र विभाजन कोर्न बल पुगेको छ। यस्तै घटना बाग्लुंगमा भएको छ,बाग्लुंग नेपाली काँग्रेसका सभापति एबम गण्डकी प्रदेशका मन्त्री जीत शेरचनको ठाउँमा केन्द्रले अर्को व्यक्तिलाई कार्यबाहक तोकेर अधिबेशनको प्रक्रिया अगाडी बढाउन खटाएपछि जिल्लाको बिबाद तल्लो तहमा पुगेको छ ।
१५ औं महाधिबेशनलाई महोत्सवको रुपमा सम्पन्न गर्न आबश्यक बाताबरण मिलाइएको छ – प्रबक्ता चालिसे
तल्लो तहमा कार्यकर्ताहरु उत्साहित नबनेको भएपनि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अधिवेशनबाट कुनै पनि सदस्य वञ्चित हुनु नपर्ने गरी साङ्गठनिक व्यवस्था मिलाइएको दाबी गरे । प्रवक्ता चालिसेले भने, ‘गत भदौ २८ गतेको बैठकले सदस्यता नवीकरण भएका र अधिवेशन प्रक्रियामा जोडिएका सम्पूर्ण सदस्यहरूलाई सहभागी गराउने निर्णय गरिसकेको छ। सदस्यताको नाममा अब कुनै पनि साथीहरू अधिवेशनबाट वञ्चित हुने अवस्था रहँदैन।’

उनले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत आगामी महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको बताए । गगन थापा नेतृत्वमा बिहिबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम वडा अधिवेशनदेखि केन्द्रसम्मका सबै तहमा समानुपातिक र सहभागितामूलक वातावरण निर्माण गर्ने दिशामा जोड दिएको उनको भनाई थियो ।
प्रवक्ता चालिसेले बैठकले पार्टीको समग्र एकता र राष्ट्र निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकाबारे विस्तृत छलफल गरेको जानकारी दिए । ‘१५ औँ महाधिवेशनलाई एउटा ‘महोत्सव’का रूपमा सम्पन्न गर्न हामीले कार्यतालिकालाई अझ चुस्त र व्यवस्थित बनाउँदै लगेका छौँ। यसले पार्टीलाई थप एकताबद्ध बनाउने छ,’ उनले सबै तहका अधिवेशनहरूलाई निर्धारित मितिमै सम्पन्न गर्नका लागि आवश्यक निर्देशन दिइसकिएको र बैठकमा उपस्थित भएका नेताहरूले पार्टीको आगामी यात्रा र सङ्गठन सुदृढीकरणका लागि सामूहिक प्रतिबद्धता जनाएको कारण पार्टी एकताबद्द भएर जाने बताए ।

गगन थापा नेतृत्वको संस्थापन समुहले महाधिबेशनको तयारीलाइ तिब्रता दिएको भएपनि पुर्व सभापति शेरबहादुर देउवा सहितका केहि नेताहरुको समूहले असोज ३ गतेको महाधिबेशनको सट्टा असोज १५ गते महाधिबेशनको प्रक्रिया शुरु गर्ने भनेर कार्यतालिका सार्बजनिक गरेपछि बिभिन्न जिल्लामा सोही अनुरुपको तयारी समेत शुरु गरिएको छ । देउवा समूह अर्थात डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको १५ औं महाधिबेशन आयोजक समितिको निर्देशन अनुरुप जिल्ला जिल्लामा अधिबेशन तयारी समिति गठन गर्ने प्रक्रिया अगाडी बढाइएको छ।
कांग्रेसको केन्द्रदेखि जिल्ला र क्षेत्र एबम पालिकामा गगन समुहको बर्चस्व, अधिबेशनप्रति उत्साह नदेखिनु चुनौती
गगन थापा नेतृत्वको समितिमा कास्कीका जिबन परियार, देबराज चालिसे, तिलक रानाभाट र कृष्णबहादुर केसी ४ जना केन्द्रीय सदस्य रहेकोमा बिहिबार मात्र शारदा पौडेल समेत थपिएपछि कास्कीबाट अहिले केन्द्रीय सदस्य बन्नेको संख्या ५ पुगेको छ। यसबाहेक गण्डकी प्रदेश समितिका सभापति सहित पदाधिकारी, कास्की जिल्ला समितिका सबैजसो पदाधिकारी र सदस्यहरु, ३ वटा क्षेत्रिय समिति र पालिका एबम वडा समितिमा समेत गगन थापा समुहको पूर्ण बाहुल्यता छ। तर पनि असोज ३ गतेबाट हुने अधिबेशन प्रक्रियामा कार्यकर्ता र नेताहरुको उत्साह नदेखिनु कास्की कांग्रेसका नेताहरु र संगठनको लागि गम्भीर चुनौती बनेको छ।
गगन थापा समुहका नेताहरु एकछत्र रहेको देखिने कास्कीमा पनि असोज ३ गतेसंगै असोज १५ गतेबाट वडा अधिबेशनको प्रक्रिया शुरु गर्ने अभियानमा केहि नेताहरु देखिएका छन। नेपाल तरुण दलका पुर्व केन्द्रीय सदस्य एबम पार्टीको महासमिति सदस्य ऋषिराम काफ्लेका अनुसार जिल्ला, क्षेत्र र पालिकहरुमा अधिबेशन तयारी समिति बनाएर असोज १५ गतेबाट अधिबेशनको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको छ ।

कास्की कांग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशील रहेर निष्ठावान नेताको रुपमा परिचित काफ्लेले आँफुसंग निकट रहेका साथीहरुलाई असोज १५ गतेबाट हुने अधिबेशनको प्रक्रियामा सहभागी हुन आग्रह गरेको बताए। यसबाहेक कास्कीका नेताहरु पुर्व केन्द्रीय सदस्य गुरु बराल, कास्की कांग्रेसका पुर्व उपसभापति पोषनाथ शर्मा, नेपाल किसान महासंघका गण्डकी प्रदेश सभापति पुष्पमणि भण्डारी, तरुण दल कास्कीका पुर्व सचिब पदम बस्ताकोटी, पार्टीको पोखरा महानगरसमिति सदस्य सुरेन्द्रराज शर्मा, मिलन तिवारी लगायतले सामाजिक संजालबाट वा भौतिक रुपमा भेटेर असोज १५ गतेपछिको कार्यक्रममा सहभागी हुन आग्रह गरेको छन ।
महासमिति सदस्य काफ्लेका अनुसार केहि दिनभित्रमा जिल्ला, क्षेत्र र पालिका तहमा अधिबेशन तयारी समिति गठन गरेर असोज १५ बाट अधिबेशनको प्रक्रिया शुरु गरिने छ। आँफुहरु पार्टीभित्र समग्र एकताको अभियान लिएर अगाडी बढेको अबस्थामा बिशेष महाधिबेशनपछि बनेको समितिले पार्टीको बिभिन्न तहका नेता कार्यकर्ताहरुलाई अपमानित गर्ने र संगठनको हित बिपरितका निर्णय गरेको कारण बिशेष महाधिबेशनबाट बनेको समितिको विकल्पमा लाग्नुपरेको काफ्लेको भनाईइ छ ।
आफ्नै साथीमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर बनाइएको कांग्रेसको महलमा बस्न सक्दिन – कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीका पुर्व सभापति शेरबहादुर देउवाको ग्रेसफुल एक्जिटको प्रस्ताव गरेको भएपनि संस्थापन समुहले चासो नदेखाएपछि महाधिबेशनको प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन। महाधिबेशनको बारेमा दुइ कार्यतालिका सार्बजनिक भएको भन्दै असन्तुष्ट बनेका उनले दुवै कार्यतालिका स्थगन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवाज उठाउँदै आएका छन अन्यथा कुनै पनि महाधिबेशनमा सहभागी नहुने कोइरालाले स्पष्ट पारेका छन।

कांग्रेसभित्र बिशेष महाधिबेशनपछि विधि-विधान मान्ने कि विधान मिच्दै अघि बढ्ने भन्नेहरूबीचको निर्णायक संघर्ष चलिरहँदा कोइरालाले आँफुलाई मध्यमार्गमा राखेका थिए । अदातल र निर्वाचन आयोगले पनि आधिकारिकता दिइसकेको कांग्रेसको संस्थापनले अहिले पार्टीको विधान अनुसार महाधिवेशन गर्ने प्रक्रिया अघि बढाउँदा पनि कोइराला मध्यमार्गमा नै बसिरहेका छन ।
यद्यपी आफ्नो मध्यमार्गको औचित्य पुष्टी गर्न कोइरालाले भनेका छन्- मध्यमार्ग कठिन मार्ग हो, यही सत्यको बाटो हो । कोइरालाले बिहीबारको वक्तव्यमा एउटा रोचक वाक्य प्रयोग गरेका छन्- ‘दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन्, मलाई थाहा छैन ।’ कोइरालाले आफ्नै साथीमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर बनाइएको कांग्रेसको महलमा बस्न नसक्ने भन्दै सार्बजनिक रुपमा अभिव्यक्ति दिएको छन। जसका कारण कोइरालालाई पार्टीभित्र प्रमुख नेता मान्ने कतिपय नेता कार्यकर्ताहरु महाधिबेशनको प्रक्रिया भन्दा बाहिर बस्ने अबस्था देखिन्छ ।
महाधिबेशनको कार्यतालिका स्थगन गरि तत्काल सम्बाद शुरु गर्न खड्काको आग्रह
यसैबीच नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टीको सम्पूर्ण एकताका लागि संवाद अघि बढाउन आग्रह गरेका छन् । खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै अशोज ३ गतेदेखि सुरु गर्ने भनिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्न सुझाव दिएका हुन्।

उनले पार्टीका १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा तथा अग्रज नेताहरूसँग थापाकै अग्रसरतामा तत्काल वार्ता र संवाद सुरु गर्न आग्रह गरेका छन् । पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको विश्वास व्यक्त गर्दै खड्काले दुईवटा अलग–अलग अधिवेशन रोक्न नसके कांग्रेस विभाजन कसैले रोक्न नसक्ने दाबीसमेत गरेका छन् ।
कांग्रेस विभाजनपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका दलहरूमा समेत विभाजन हुनसक्ने उनको आशंका छ। उनले पछिल्ला घटनाक्रम र विभिन्न गतिविधिले देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको जोखिम बढेको संकेत गरेको दाबी गर्दै राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वाभिमानप्रति चिन्ता व्यक्त गरेका छन् ।
खड्काले थापालाई कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण कुनै समस्या नपर्ने भन्दै ढुक्क भएर निर्णायक कदम चाल्न आग्रह गरेका छन् । ‘बितेका घटनाक्रमबाट गहिरो शिक्षा लिँदै निर्मम समीक्षा गरेर तत्काल निर्णायक र साहसिक कदम चाल्नुस्,’ खड्काले लेखेका छन्, ‘सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस्।’ पार्टी एकताका लागि आफू कुनै पनि महत्वाकांक्षाबाट मुक्त भएर जस्तोसुकै त्याग गर्न र इमानदार सहयोग गर्न तयार रहेको पनि खड्काले बताएका छन् ।













