Play

कार्यकर्तालाई देउवाको आग्रह: असोजमा हैन, मङ्सिरमा हुने कांग्रेसको १५ औं महाधिबेशनमा सहभागी बन्नुस

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवाले पार्टीभित्रको बिशेष महाधिबेशनबाट निर्बाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई अवैधानिक समूहको संज्ञा दिंदै उक्त समुहले आयोजना गर्ने कुनै पनि महाधिवेशनका कार्यक्रममा सहभागी नहुन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। गगन थापा नेतृत्वको समितिले १५ औं महाधिबेशनको प्रक्रिया अन्तर्गत असोज ३ गते वडा अधिबेशन गर्न निर्देशन जारी गरेलगत्तै देउवाले असोज १६ देखि १९ गतेसम्म हुने भनिएको १५ औं महाधिबेशनको सट्टा मङ्सिर २१-२३ सम्म हुने महाधिबेशनमा सहभागि बन्न कार्यकर्ताहरु समक्ष ७ बुंदे अपिल मार्फत आग्रह गरेका छन।

देउवाले पार्टी विधान र कानुनविपरीत एकपक्षीय रूपमा अघि बढ्न खोज्ने समूहको महाधिवेशनमा सहभागी नहुन आग्रह गर्दै आगामी मंसिर २१, २२ र २३ गते पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी तयारीमा जुट्न समेत सबैलाई आग्रह गरेका छन्। मंगलवार एक अपिल जारी गर्दै उनले पार्टीभित्र देखिएको वर्तमान विवाद र असमझदारीप्रति गम्भीर चिन्ता समेत व्यक्त गरेका छन।

देउवाले अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर पार्टीलाई कमजोर बनाउन खोजेको आरोप लगाउंदै लामो संघर्ष र बलिदानबाट स्थापित नेताहरू तथा बहुसंख्यक सदस्यहरूलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास कांग्रेसको हितमा नहुने दाबी गरे। विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको देउवाले स्मरण गराएका छन्। अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेकाले यसमा गम्भीर संवैधानिक र कानुनी प्रश्न कायम रहेको उनले स्पष्ट पारे।

‘एकातर्फ अदालतमा वैधताको प्रश्न विचाराधीन रहने, सोही मुद्दामा तारेख धाउने र अर्कोतर्फ त्यसको अन्तिम निर्णय नआउँदै अधिवेशन प्रक्रिया अघि बढाउने कार्य राजनीतिक, नैतिक, कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त देखिँदैन,’ देउवाले भने, ‘अवैधानिक विशेष महाधिवेशनको आवश्यकता र त्यसपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले विशेष महाधिवेशन पक्षधर नेतृत्वले गरेको लोकप्रियताको दाबीलाई असत्य साबित गरिसकेको छ।’

आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नरहेको देउवाले अपिलमार्फत स्पष्ट पारेका छन्। ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन,’ देउवाले भने, ‘तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन।’

१४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको उनले बताएका छन्। सहमतिविना हतारमा अवैधानिक रूपमा अधिवेशन गरेर पार्टी विभाजन गर्न खोजिएमा आफू मूकदर्शक बनेर नबस्ने चेतावनीसमेत उनले दिएका छन्।

मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनहरूमा कांग्रेसको योगदान स्मरण गराउँदै देउवाले विगत ३५ वर्षमा हासिल भएका प्रगतिको वस्तुगत समीक्षा हुनुपर्नेमा जोड दिए। ‘तीन दशकअघिको नेपाल र आजको नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा भएका परिवर्तनलाई तुलनात्मक रूपमा हेरौँ,’ उनले भने, ‘सीमित स्रोत र साधनका बीच पनि यस मुलुकले हासिल गरेको प्रगति स्पष्ट देखिन्छ।’ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) लगायतका दलहरूले केही गरेनन् भन्ने प्रश्नको उत्तर उक्त तुलनात्मक अध्ययनबाटै प्राप्त हुने उनको भनाइ छ।

हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देउवाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले वेपत्ताको खोजी, उद्धार, राहत तथा पुनस्थापनामा कुनै राजनीतिक विचार वा आस्थाको भेदभाव नगरी एकजुट भएर जुट्न सम्पूर्ण नेपाली र पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। २०७२ को महाभूकम्प र कोभिड-१९ महामारीमा झैँ भोटेकोशी बाढीको महाविपत्तिमा पनि सबै एक भई अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

३० भाद्र २०८३, मंगलवार २३:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा