Play

नियमित उडानमा आउने फ्लाई-दुबईको बिमान र यात्रुलाई स्वागतको तयारी, पोखरेली पर्यटन ब्यबसायी उत्साहित

गुरुकुल खबर


पोखरा, लामो समयदेखि नियमित अन्तराष्ट्रिय उडानको प्रतिक्षामा रहेको पोखरा विमानस्थलमा नियमित उडानको लागि फ्लाइ दुबईको जहाज यहि असोज ७ गते बुधवार पहिलो पटक पोखरा बिमानस्थलमा अवतरण गर्ने भएको छ। नेपालको पर्यटकीय राजधानी पोखराको विमानस्थलमा अवतरण गर्ने उक्त विमान र यात्रुलाई पानीको फोहरासहित स्वागत गरिने तयारी भैरहेको छ। यस अगाडी हिमालयन एयरलाइन्सले नियमित उडान गर्ने घोषणा गरेको भएपनि नियमित उडान नगरेको अबस्थामा फ्लाई दुबईले नियमित उडान गर्न लागेको हो।

दुबईबाट आएका यात्रुहरु झरेपछि सोही विमान सांझ नै पोखराबाट यात्रु लिएर दुबईका लागि उड्नेछ। पोखरा–दुबई उडान गर्ने फ्लाइ दुबईको एयर बस ३१९-३२० विमानमा मा १४० देखि १५० सम्म र एयर बस ३२० मा १६० देखि १८० यात्रु बोक्न मिल्ने क्षमता रहेको छ। पोखरास्थित विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले आवश्यकता अनुसार पोखराका लागि एयर बस ३१९ र ३२० आलोपालो गरी उडाउने जनाएको छ।

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई पहिलोपटक नियमित रुपमा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन नसकेको अबस्थामा फ्लाइ दुबईको उडानसंगै अष्ट्रेलिया, युरोप वा अमेरिकाका बिभिन्न सहरमा पुग्ने यात्रुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने जनाइएको छ ।  फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य पाँच हजारसम्म सस्तो रहेको बताए।

फ्लाइ दुबईको उडान तालिका अनुसार हरेक दिन साँझ ६ः१५ बजे पोखरामा अवतरण गर्ने र साँझ ७ः१५ बजे पोखरादेखि दुबईका लागि बिमान उड्ने छ। पहिलो दिन निर्धारित समयभन्दा केही समयअघि जहाज अवतरण हुनसक्ने सूचना अधिकारी रावतले बताए । दुबई–पोखरा–दुबई नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले आवश्यक तयारी अगाडि बढाएको छ ।

दुबई–पोखरा–दुबई उडानका लागि गत २५ जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो । सुरुमा एक महिनाका लागि मात्र दिनको एक पटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

विश्वका १ सय २० भन्दा बढी गन्तव्यमा फ्लाइ दुबईले सिधा उडान गर्दै आएकोमा पोखरा–दुबई उडानको सफलतासँगै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पोखरामा आकर्षित हुने विश्वास गरिएको छ । फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारी अन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । जसका कारण पोखरादेखि दुबई हुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्नेछन ।

पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकोमा यस क्षेत्रका पर्यटन व्यवसायीहरु पनि उत्साहित बनेका छन ।  पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडान मुलुककै पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको भनाई छ। यसैगरी नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानलाई सफल बनाउनु सम्बद्ध सबै पक्षको दायित्व भएको उल्लेख गरे।

पहिलोपटक हुन लागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीलाई सामना गर्दै अवसरमा बदल्नुपर्ने उनको भनाइ छ । उपयुक्त हावापानी भएको सफा र सुन्दर पोखरालाई अन्तरराष्ट्रिय जगतमा पहिचान दिन फ्लाई दुबईको उडानले मद्दत पुग्ने उनीहरुको विश्वास छ । उक्त उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । त्यस उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ ।

वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ । पोखरा–दुबई उडानबाट तालै तालको नगरी पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधैं पोखरा आउन सक्ने फ्लाई दुबईका पोखरास्थित प्रतिनिधि पोमनारायण श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए  ।

सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु संख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो ।

३० भाद्र २०८३, मंगलवार ०९:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा