चितवन, चितवनको भरतपुरमा शुक्रबार बिहान ईभी गाडीमा आगलागी भएर मृत्यु हुनपुगेका गाडी धनी चितवनका शैक्षिक व्यक्तित्व अमर पराजुली रहेको खुलेको छ। बिहान ६ बजेतिर सडकमा गुड्दै गरेको अबस्थामा आगो लागेर जलेको बा. प्र. ०१–०३०– च ५५७९ नम्बरको इभी कारभित्र रहेका पराजुलीले नै आफ्नो कार हाँकेको खुलेको छ ।
प्रहरीले टिकौलीको जंगल कट्ने बित्तिकै रहेको सीसी क्यामराको फुटेज हेरेर गाडी पहिचान गर्नुका साथै यातायातमा रहेको अभिलेख हेरेर सवारीधनी पहिचान भएको जनाएको छ । ५६ बर्षीय पराजुली भरतपुर महानगरपालिका – १२ का स्थायी बासिन्दा हुन् ।
उनी नारायणी विद्या मन्दिर शिवघाटका पूर्वसञ्चालक पनि रहेको खुलेको छ । उनले चलाउँदै गर्दा आगो लागेको गाडी जिएसी आयोन ब्राण्डको इभी हो । उक्त कारभित्र रहेका अमर पराजुलीको जलेर ज्यान गएको छ भने गाडी पनि पूर्ण रुपमा क्षतीग्रस्त अबस्थामा पुगेको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर ९ वसन्तचोकका घनश्याम पौडेलले कुश काट्न निस्किएका समयमा बिहान पौने ६ बजेतिर पूर्व–पश्चिम हाइवेमा टिकौली जंगलतर्फ जान लाग्दा करिब ५ सय मिटर परबाट एउटा गाडी धुवाँको मुस्लोसहित हुइकेर आइरहेको देखेका थिए । हेर्दाहेदै गाडी सडकको दायाँबायाँ लर्खरिँदै वसन्तचोकमा रहेको इभी चार्जिङ स्टेशन अगाडि मूल सडकमा आइपुगेको र पछाडिमात्रै बलेको गाडी चार्जिङ स्टेशन नजिक आइपुगेपछि अगाडि पनि बल्न थालेको धनश्यामले बताएका छन।
‘त्यसपछि मूल सडकको डिभाइडर नाघेर गाडी बायाँतर्फको सर्भिस लेनतर्फ उफ्रियो र छेउको सिमेन्टको कुर्चीमा ठोक्किएपछि त्यहीँ रोकिएर ह्वार्रह्वार्रर्ती बल्न सुरु गर्यो’ उनले भने। आगो कसरी सुरु भयो र गाडी जल्यो भन्ने निष्कर्षमा प्रहरी पुगिनसकेको भए पनि गाडीको पछाडिको भागबाट आगो लागेको सीसीक्यामराको फुटेजबाट पनि देखिएको छ ।
गाडीमा आगो लाग्नासाथ गाडी भित्र रहेका अमर पराजुली किन बाहिर निस्किएनन् भन्ने प्रश्न सबैतिरबाट उठेको छ । कतिपयले यसलाई आत्मदाहको रुपमा समेत चर्चा गरेका छन । तर चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल भन्छन्, ‘इभी गाडीमा भित्रबाट ढोका अटो लक हुने भएकोले खोल्न नसकिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
जलिरहेको गाडी देख्ने स्थानीयले पनि चालकले ढोका खोल्न प्रयत्न गरेको जस्तो देखिएको बताएका छन्। भरतपुर ९ का स्थानीय खगेन्द्र पौडेलले आफू मर्निङ वाकमा निस्किदा गाडी आगोको मुस्लोसहित उडेको जस्तो स्पीडमा आएको बताए । उनले भने, ‘आगोले निसास्सिएपछि निस्किन प्रयत्न गरेको जस्तो चाहीँ देखिएको थियो । तर, आगो यति ठूलो थियो कि हामी स्थानीयले सहयोग गर्नसक्ने अवस्था नै भएन ।’












