पोखरा, पोखराका अग्रज अनि प्रशिद्द फोटोग्राफर एबम साहित्यकार विश्वरत्न शाक्य र उनकी श्रीमती बुलु शाक्यले भोटेकोशीमा आएको बाढीबाट पिडितको लागि राहत र उद्वारको लागि छुट्टाछुट्टै सहयोग गरेका छन । पोखराको तेर्सापट्टि पुरानो घर रहेका शाक्य पछिल्लो समय पोखराको न्युरोडमा बस्दै आएको छन ।
विश्वरत्न शाक्य पोखराका अग्रज फोटो पत्रकारको रुपमा समेत चिनिन्छन। उनीसहित पोखराका साहित्यकारहरुको समुहले तत्कालिन समयमा साहित्यिक पत्रिका समेत प्रकाशन गरेको थियो। शाक्य आँफैले पनि बिभिन्न साहित्यिक कृतिहरु प्रकाशनमा ल्याएका छन ।
फोटोग्राफर शाक्यले सोमबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ जम्मा गरेकोमा मंगलवार उनकी श्रीमती बुलु शाक्यले पनि सरकारबाट पाउँदै आएको ज्येष्ठ नागरिक भत्ता बापत प्राप्त रकममध्ये ३३ हजार ३३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको खातामा जम्मा गरेकी छन्।
सांग्रिला डेभलपमेन्ट बैंक पोखरा शाखामा रहेको आफ्नो खाताबाट उनले एभरेष्ट बैंक लिमिटेड सिंहदरबार शाखामा रहेको राहत कोषको खातामा उक्त रकम पठाएपछि बिश्वरत्न शाक्यले आंफ्नो फेसबुकमा लेखेका छन । ‘हिजो मैले प्रधानमन्त्री राहत कोषमा केही रकम हालेपछि मेरी धर्मपत्नी बुलु शाक्यले पनि ‘मसँग पनि जोगाएर राखेको ज्येष्ठ नागरिक भत्ताको केही पैसा छ, राहत कोषमा हालिदिन पाए हुने’ भनेपछि थोरथोरै थपथाप गरेर यो रकम जुटाइएको छ,’ शाक्यले फेसबुकमा लेखेका छन्, ‘सबैमा यसैगरी धर्मचेतना जागृत होस्, सबैको मंगल कामना ।’















