पोखरा, आकस्मिक बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मुक्तिनाथ बिकास बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । यहि भदौ १० गते रसुवाको भोटेकोशीबाट आएको आकस्मिक बाढीबाट पीडित भएकाहरूको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरसहित बैंकका पदाधिकारीको टोलीले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत उक्त रकम हस्तान्तरण गरेका थिए। बैंकले प्रदान गरेको ५० लाख रुपैयाँ सहयोगले राहत र पुनःस्थापना कार्यमा केही हदसम्म टेवा पुग्ने विश्वास लिइएको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित भएको र जनधनको ठुलो क्षती भएको भन्दै प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन घडीमा सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ ।
विपद् प्रभावित नागरिकको साथमा रहँदै बैंकले आगामी दिनमा पनि समुदायको हित र सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गण्डकी प्रदेश सरकारले ४ करोड रुपैया, पोखरा महानगरपालिकाले ४५ लाख रुपैया, कास्कीको मादी गाउँपालिकाले १० लाख रुपैया, पुर्व प्रदेश मन्त्री बिन्दु थापाले ५ लाख रुपैया सहित बिभिन्न व्यक्ति र संस्थाले सहयोग जारी राखेका छन ।













