पोखरा, पोखरा रंगशालालाई थप सुविधासम्पन्न बनाउन संघिय सरकारको सहयोगमा फ्लडलाईट राखिने भएको छ । संघिय सरकारले ५ करोड र र संघीय शहरी विकास तथा भवन निर्माण विभागले ३ करोड गरि ८ करोड रुपैया बजेट विनियोजन गरेको कारण पोखरा रंगशालामा फ्लडलाईट राखिने भएको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङका अनुसार फ्लडलाईटका लागि करीब १६ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ। ‘अहिले काम शुरु गर्न बजेट छ. काम गर्दै जाँदा अपुग रकम संघ सरकार र सहरी विकास दुबैले ब्यबस्थापन गर्ने बिश्वास छ ।’ उनले गुरुकुल खबरसंग भने ।
फ्लडलाईटको लागि दशैंलगत्तै टेण्डर गर्नेगरी काम अघि बढेको अध्यक्ष गुरुङले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरण (सिभिल एभिएसन अथोरिटी अफ नेपाल, क्यान)ले फ्लडलाईटका लागि अनुमति दिए यथाशिघ्र डिपीआर तयार गरेर टेण्डर निकालिने उनको भनाई छ। ‘बजेट भएर मात्रै हुँदैन रहेछ, उनले भने,‘प्राविधिक कुराहरु मिलाउन धेरै छ, हामी त्यसका लागि लागिरहेका छौं ।’
फ्लडलाईट राख्नको लागि क्यानका ई.कृष्ण पौडेलले बिहिबार स्थलगत अध्ययन गरेका छन। ‘कति सम्म उचाईको लाइट राख्ने भन्नेकुरा प्राबिधिक अध्ययनपछि मात्र भन्न सकिन्छ, रंगशालाका लागि फ्लडलाईट राख्न कति उचाई आवश्यक छ ? त्यसले एयरपोर्टलाई असर गर्छ कि गर्दैन ? सबै कुरा अध्ययन गरेर मात्र भन्न सकिन्छ । ई. पौडेलले भने।

पोखरा रंगशालाको स्तरोन्नतीका लागि चालु आर्थिक बर्षमा १९ करोड रुपैया बजेट बिनियोजन भएपनि ८ करोड रुपैयाँ फ्लडलाईटका लागि खर्च गरिने उनले बताए। बाँकी ११ करोड रुपैया क्रिकेट रंगशालाको भवन स्तरोन्नती, बहुउद्धेश्यीय कभर्ड हलको स्तरोन्नती लगायतका काममा खर्च हुने उनले बताए ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गुरुङले फ्लडलाईटका लागि कम्तिमा पनि १८ देखि २० मिटर उचाई आवश्यक हुने बताए । ‘एयरपोर्टले १५ मिटरसम्म दिने बताइसकेको छ, उनले फ्लडलाईट थोरै उचाईमा राखेर पनि खेल खेलाउन सकिने प्रविधि आइसकेकाले उचाईको कारण वा बजेटको अभाव देखाएर फ्लडलाईट राख्न रोकिने छैन ।’ अध्यक्ष गुरुङले गुरुकुल खबरसंग भने ।

संघीय शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर प्रवेशराज लामिछानेले फ्लडलाईट जडानका लागि आफूहरुले अध्ययन गरिरहेको बताए । विस्तृत अध्ययन गरेर कम लगानीमा उत्कृष्ट काम गर्ने प्रयासमा छौं,उनले भने,‘त्यसका लागि एयरपोर्टको मापदण्डले कस्तो असर गर्छ ? भन्ने मात्रै हो । हामी एयरपोर्टको निर्णयको पर्खाईमा छौं ।’ उनले फ्लडलाईटका लागि सरदर ३५ मिटरको उचाई आवश्यक पर्ने समेत बताए तर त्यसको विभिन्न विकल्प रहेपनि खर्चिलो हुनसक्ने उनले बताए । उनले बहुवर्षिय योजना भएकाले फ्लडलाईटका लागि आगामी वर्ष पनि बजेट थपिने बताए ।
कास्की जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख डिबी नेपालीले प्राविधिक विषय टुंगिने वित्तिकै फ्लडलाईट जडानको प्रक्रिया शुरु हुने बताए । धेरै ताकेता गरेपछि क्यानको ईञ्जिनियर आएर स्थलगत अवलोकन गर्नु भएको छ।,उनले भने,‘अब प्राविधिक विश्लेषणपश्चात प्राविधिक पक्षको गाँठो फुकाईदिए लगत्तै डिपीआर निर्माण गरेर टेण्डर प्रक्रियामा गइहाल्छौं ।’















