पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा आएको टोलीले भेटवार्ता गरेको छ । भेटका क्रममा पोखराको पर्यटन प्रवर्द्धन, दुई पक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा नगरप्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवर्द्धनका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा समेत पोखराको प्राकृतिक सुन्दरता, जीवन्त संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचारप्रसार गरिदिन आग्रह गरे। पोखरा फ्लाई दुबईमार्फत विश्वका चर्चित गन्तव्यहरूसँग जोडिने क्रममा रहेको उल्लेख गर्दै आचार्यले बङ्गलादेशबाट पोखरासम्म सम्भावित हवाई उडानका लागि बङ्गलादेश सरकारसमक्ष आवश्यक पहल तथा समन्वय गर्न आग्रह गरे ।

भेटका क्रममा बङ्गलादेशी टोलीका सदस्यहरुले पोखराको प्राकृतिक सौन्दर्य र वातावरण आफूहरूलाई निकै आकर्षक लागेको बताए ।उनीहरूले पोखराको सुन्दरता तथा यहाँ प्राप्त न्यानो आतिथ्यताको सन्देश बङ्गलादेशमा पुर्याउने प्रतिबद्धता समेत ब्यक्त गरे।
टोलीमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिनसहित महासचिव बाबुल तालुकदार, पूर्व अध्यक्ष ए.बी.एम. रफिकुर रहमान, वरिष्ठ सदस्य काजी रौनक हुसेन, पूर्व महासचिव नुरुद्दिन अहमद, पूर्व अध्यक्ष शफी उद्दिन अहमद बिटु, कार्यकारी सदस्य महबुब हुसेन खान नोबिन, कोषाध्यक्ष नासिम शिख्देर, वरिष्ठ सदस्य सैयद जाकिर हुसेन र बुलबुल अहमद, चट गाउँ जिल्ला शाखाका सदस्य मोहम्मद मिन्हाज उद्दिन तथा कक्स बजार जिल्ला शाखाका अध्यक्ष नुरुल इस्लाम हेलाली सहभागी थिए ।
भेटवार्तामा राष्ट्रिय फोटो पत्रकार सङ्घका अध्यक्ष प्रदीपराज वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापा, सुनिल पाण्डे र दुर्गाप्रसाद हुमागाईँ लगायतको सहभागिता रहेको थियो।
यसैबीच, नेपाल र बङ्गलादेशबीचको मित्रता, भाइचारा तथा फोटो पत्रकारबीचको दीगो सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पोखरा रङ्गशाला परिसरमा संयुक्त वृक्षारोपण गरिएको छ। बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनको १२ सदस्यीय टोली र नेपाली फोटो पत्रकारहरूको सहभागितामा दुई देशको मित्रताको प्रतीकस्वरूप आँप तथा विभिन्न फूलका बिरुवा रोपिएको हो।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोग तथा समन्वयमा आयोजित वृक्षारोपण कार्यक्रममा एनएफपीजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्त, बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिन, एनएफपीजे नेपाल पोखरा शाखाका अध्यक्ष योगेन श्रेष्ठ, उपाध्यक्ष बसन्त शेर्पा, सचिव प्रेम थापालगायत नेपाल र बङ्गलादेशका फोटो पत्रकार तथा अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालतर्फबाट एनएफपीजे नेपालका अध्यक्ष वन्त, बङ्गलादेशतर्फबाट अध्यक्ष मोहसिन तथा पोखरा शाखाको टोलीले संयुक्त रूपमा बिरुवा रोपेका थिए। पोखरा रङ्गशालालाई थप हरियाली बनाउने अभियानमा सहयोग पुर्याउनुका साथै नेपाल–बङ्गलादेशबीचको मित्रता र सहकार्यको दीगो चिनोका रूपमा वृक्षारोपण गरिएको एनएफपीजे नेपालले जनाएको छ।
एनएफपीजे नेपालका अध्यक्ष वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीच विगत २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई प्रकृति तथा वातावरण संरक्षणसँग जोडेर स्मरणीय बनाउन वृक्षारोपण गरिएको बताए।















