पोखरा, भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को प्रचारप्रसारले तिब्रता पाएको छ । चलचित्रको ‘जुनी जाला’ बोलको गीतलाई युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको भन्दै निर्माण टिमले चलचित्रबारे थप जानकारी गराउन थालेको हो।पोखराबाट आइतबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा ‘पेन्सन पट्टा’को निर्माण टिम तथा कलाकारहरूले चलचित्रको प्रदर्शन मिति, कथावस्तु, कलाकार तथा गीतसंगीतका विषयमा जानकारी गराएको छन । चलचित्रको टिमले ‘जुनी जाला’ गीतले छोटो समयमै पाएको लोकप्रियताले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्यो ।
कार्यक्रममा चलचित्रका निर्देशक माओत्से गुरुङ, निर्माता सपना गुरुङ, कलाकार डिबी गुरुङ, गायक सरुन गुरुङ, राजबहादुर गुरुङ, गायिका उषा गुरुङ, कोरियोग्राफर कमल गुरुङलगायतले चलचित्रको गीतले युट्युबमा १२ लाखभन्दा बढी भ्युज पाएको भन्दै खुशीयाली साटेका थिए ।
निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ कुनै एक व्यक्तिको मात्र कथा नभई नेपाली समाज र परिवारसँग जोडिएको कथा हो। उनले चलचित्रमा प्रस्तुत विषयवस्तु धेरै नेपाली परिवारको जीवनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिन सक्ने भएकाले दर्शकले आफूलाई कथासँग नजिक पाउने विश्वास व्यक्त गरे। “यो समाजको कथा हो। हरेक नेपालीको घरसँग कुनै न कुनै रूपमा जोडिन सक्ने विषय भएकाले दर्शकले चलचित्रलाई रुचाउनुहुन्छ भन्ने विश्वास छ,” निर्देशक गुरुङले भने।
निर्माता सपना गुरुङले पनि चलचित्रको कथावस्तुले आफूलाई प्रभावित पारेपछि निर्माणमा जोडिएको बताइन्। आफ्नै परिवारसँग समेत सम्बन्धित विषय भएकाले चलचित्रमा लगानी गर्ने निर्णय गरेको उनको भनाइ छ। दर्शकले पर्दामा आफ्नो वरिपरिको जीवन, सम्बन्ध र समाजका विषय देख्न पाउने भएकाले चलचित्रले भावनात्मक रूपमा पनि प्रभाव पार्ने निर्माण पक्षको अपेक्षा छ।

यसैबीच चलचित्रको टिजरले समेत दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ। चलचित्रमा दयाहाङ राई, विल्सन विक्रम राई, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, माया गुरुङ, विश्वास गुरुङ, स्वर्गीय सुनिल थापालगायतका कलाकारको अभिनय रहेको छ। अनुभवी तथा लोकप्रिय कलाकारहरूको सहभागिताले चलचित्रप्रति दर्शकको चासो थप बढाएको देखिन्छ।
गीत सार्वजनिक भएपछि छोटो समयमै सामाजिक सञ्जालमा चर्चा पाउनुले चलचित्रको प्रचारमा समेत सकारात्मक प्रभाव पारेको छ। गीतका टुक्रा तथा त्यसमा आधारित भिडियोहरू सामाजिक सञ्जालमा फैलिँदा ‘पेन्सन पट्टा’बारे नयाँ दर्शकसम्म जानकारी पुगिरहेको छ।
यसरी गीतको सफलतासँगै टिजरप्रतिको सकारात्मक प्रतिक्रिया र बलियो कलाकार संयोजनले ‘पेन्सन पट्टा’प्रति दर्शकको अपेक्षा बढाउँदै लगेको छ। अब भदौ २६ गतेदेखि देशभरका हलमा चलचित्रले कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ। सामाजिक यथार्थ र नेपाली परिवारको कथालाई पर्दामा उतारिएको दाबी गरिएको चलचित्रले दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने निर्माण टिमको विश्वास छ।















